वीरेन्द्रनगरमा अत्याधुनिक शीत भण्डार गृहको शिलान्यास

सुर्खेत, १२ असार ।
प्रदेश नम्बर ६ को पहिलो शीत भण्डार गृह (कोल्ड स्टोर) सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गर्न थालिएको छ । निजी क्षेत्रको पहलमा वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रमा निर्माण हुन लागेको शीत भण्डार गृहको सोमवार शिलान्यास गरिएको हो । १७ करोड रूपैयाँको लागतमा निर्माण हुने शीत भण्डार गृह अबको एक वर्षभित्र सञ्चालनमा आउनेछ ।


प्रदेश ६ मा हालसम्म एउटा पनि शीत भण्डार गृह छैन । वीरेन्द्रनगरमा निर्माण सुरु भएको यो शीत भण्डार अत्याधुनिक हुने र यसले यो प्रदेशमा उत्पादन भएका तरकारी, फलफूल र जडिबुटी भण्डार गर्न सहज हुने अपेक्षा गरिएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना र कर्णाली कोल्ड चेन लजेष्टिक प्रालिले यो शीत भण्डार निर्माण गर्न लागेका हुन् । यसका लागि भौतिक संरचना निर्माण र मेशिनमा करिब १२ करोड रकम खर्च हुनेछ । यस्तै सञ्चालन र व्यवस्थापनमा पाँच करोड रकम खर्च हुने लगानीकर्ताले बताएका छन् ।
सुर्खेतमा शीत भण्डार गृह निर्माणका लागि सुर्खेत उद्योग वाणिज्य संघले लामो समयदेखि पहल गरिरहेको थियो । सुर्खेत लगानी वर्षको अवसर छोपेर भण्डार गृह निर्माणको काम सुरु भएको हो । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको आठ रोपनी जग्गामा गृह निर्माण हुनेछ । भण्डार गृह निर्माणका लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले पाँच करोड अनुदान दिएको हो । बाँकी रकम निजी क्षेत्र र किसानहरूले लगानी गर्नेछन् । कर्णाली कोल्ड चेन लजेष्टिक प्रालिका अध्यक्ष प्रकाश अधिकारीले अबको एक वर्षभित्रमा शीत भण्डार सञ्चालनमा आउने जानकारी दिए । उनले भने, ‘लामो प्रयासपछि यो सम्भव भएको हो, प्रदेश ६ को आर्थिक समृद्धिमा एउटा अर्को ईट्टा थपिदैं छ । अब यस क्षेत्रमा किसानको उत्पादन कुहिएर खेर जानेछैन, किसानले पनि उचित मूल्य पाउनेछन् ।’
तीन हजार मेट्रिकटन क्षमता भएको गृहमा एक हजार पाँच सय मेट्रिकटन आलु, पाँच सय मेट्रिकटन स्याऊ, पाँच सय मेट्रिकटन अदुवा, दुई सय ५० मेट्रिकटन जडिबुटी र दुई सय ५० मेट्रिकटन केरा भण्डार गर्न सकिनेछ । ‘सिजनमा तरकारी मूल्य नपाएर खेर जान्छ, उत्पादन भएको कुहिने समस्या छ’ अध्यक्ष अधिकारीले भने, ‘अब कर्णालीको जडिबुटी र फलफूल कुहिने छैन, किसानको स्याऊले उचित मूल्य पाउनेछ । हामी किसानलाई अग्रीम भुक्तानी गरेर खरिद गर्नेछौं, ढुवानीको चिन्ता पनि अब किसानलाई हुँदैन ।’ साथै उनले आफूहरूले १० प्रतिशत शेयर किसानलाई वितरण गर्ने जानकारी दिए । यसले पनि यस क्षेत्रका किसानहरूको उत्पादन क्षमता बढ्ने र आर्थिक रूपमा सवल हुने उनको दाबी छ ।
शीत भण्डार गृहको वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले शिलान्यास गरेका हुन् । गृहको शिलान्यास गर्दै उनले भने, ‘वीरेन्द्रनगर यो प्रदेशको सम्भावित राजधानी हो, अब यहाँ सबै पूर्वाधारहरूको निर्माणले गति लिनुपर्दछ । आर्थिक नेतृत्व पनि अब सुर्खेतले नै गर्नुपर्दछ, त्यसको सुरुवात शीत भण्डार पनि हो ।’ शीत भण्डार सञ्चालनमा आएपछि यहाँका किसान लाभान्वित हुने र यसले उनीहरूको आर्थिक क्षमतामा वृद्धि हुने उनको भनाइ छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ६ का अध्यक्ष पदमबहादुर शाहीले निर्धारित समयभित्र निर्माण कार्य सक्न सुझाव दिए । विगतमा किसानले उत्पादन गरेका वस्तुहरू खेर जाने समस्या रहेको भन्दै उनले अब त्यो समस्या टर्ने विश्वास व्यक्त गरे । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका प्रमुख राजेन्द्र भारीले किसानको उत्पादनले अब मूल्य पाउने अपेक्षा गरे । ‘सिजनमा मूल्य नपाउने, लामो समयसम्म सुरक्षित राख्न नसकिने समस्या’ उनले भने, ‘अब किसानले उत्पादन गरे मात्र पुग्छ, बजारीकरण र संरक्षणको चिन्ता हुनेछैन ।’ यस्तै जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसीले शीत भण्डार गृह सञ्चालनमा आए किसानको उत्पादनले मूल्य पाउने बताए । समग्र प्रदेशकै आर्थिक विकासमा यसले टेवा पु¥याउने अपेक्षा सरोकारवालाहरूले गरेका छन् । यस्तै अब किसानको उत्पादन भएको वस्तु बारीमै गएर कम्पनीले नै ढुवानी गर्ने र अग्रीम भुक्तानी दिने बताइएको छ । शीत भण्डार गृहको निर्माण कार्य सुरु भएपछि किसानहरू उत्साहित बनेका छन् ।

प्रकाशित मितिः   १३ असार २०७४, मंगलवार १६:४८