दुर्गम गाउँमा स्वास्थ्य शिविर, एक हजार बढी बिरामीको उपचार

जाजरकोट, १२ असार । जाजरकोटको विकट गाउँ नलगाड त्रिवेणी नगरपालिकाको तल्लु वगरमा पहिलो पटक निशुल्क स्वास्थ्य शिविर भएको छ । नलगाड सेवा समाजको समन्वयमा पुनम फाउण्डेसन सुर्खेतले आयोजना गरेको शिविरमा करिव एक हजार एक सय जनाको उपचार भएको छ ।

महिलाको पाठेघर खस्ने समस्या तथा वालवालिकालाई लक्षित गरी गरिएको शिविरमा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डा. जानुका गैरे, सरस्वती वोहरा, निशाकिरण न्यौपाने, डिकेन्द्रदेव गिरी, हेमन्त रावल, हरिशंकर देवकोटा लगायतका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच तथा उपचार गरेका थिए । दुर्गम गाउँ भगवतिको तल्लु बगरमा निशुल्क स्वास्थ्य शिविर गर्न आग्रह गरिएपछि घर दैलोमै जनतालाई स्वास्थ्य सेवा दिने उदेश्यले दुर्गम गाउँमा पहिलो पटक शिविर आयोजना गर्न फाउण्डेसनले सहयोग गरेको अध्यक्ष पुनम विसीले जानकारी दिए ।

शिविरको लागि नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेत, नेपाल बाल पोलीक्लिनिक, नविन ड्रग हाउस, गुरुङ नरसिह होम लगायतले औषधी सहयोग गरेको वताइएको छ । शिविरमा जाजरकोट डोल्पा र रुकुमका महिला तथा बालबालिकाहरुले स्वास्थ्य उपचार पाएका छन । शिविरमा महिलाको पाठेघर, बालबालिकाको स्वास्थ्य जाँच लगायत अन्य रोगको परिक्षण गरिएको आयोजकले वताएका छन् ।

शिविरमा पाठेघर समस्या भएका १० जना र अन्य जटिल समस्या भएका ७ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । उनीहरुको उपचारमा सरकारले सहयोग गर्ने बताइएको छ । निशुल्क स्वास्थ्य शिविर भएपछि यस क्षेत्रका सर्वसाधारण निकै खुशी भएको स्थानीय रामबहादुर मल्लले बताए । जाजरकोट सदमुकाम खलंगावाट करिव ३ दिनको पैदल दुरीमा रहेको तल्लु वगरमा पहिलो पटक स्वास्थ्य शिविर भएपछि आफुहरु निकै राम्रो सेवा लाभ लिएको स्थानियको भनाई छ ।

प्रकाशित मितिः   १२ असार २०७४, सोमबार १९:३३