सीप सिकेर मालिक बन्दै महिला

सुर्खेत, ११ असार ।
छाक टार्नै मुस्किल, आम्दानीको कुनै उपाय थिएन, घरखर्चको जोहो गर्नका लागि वर्षेनी उनका श्रीमान् भारत जान्थे । बस्नका लागि आफ्नै जग्गा थिएन । माइतीले दिएको जग्गामा सानो घर बनाएर ओत लागेका थिए । बिरामी हुँदा छिमेकीसँग ऋण माग्नुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर हुँदा आफन्तले नै हेंला गर्थे ।

केही वर्ष अघिसम्म लेकवेशी नगरपालिका–२ निवासी चित्रमाया पुनको पीडा हो, यो । छाक टार्नकै लागि उनले अनेक दुःख सहनुप¥यो । तर हिजोआज उनका दिन फेरिएका छन् । घरखर्चका लागि छिमेकीसँग ऋण माग्ने उनै चित्रमाया अहिले भने अरुलाई सहयोग गर्नसक्ने बनेकी छन् । कुखुरापालन तालिम सिकेपछि उनको जीवनले नै नयाँ मोड लियो । चित्रमायाले भनिन्, ‘सीप भएपछि बाँच्न सजिलो रहेछ, कुखुरापालन तालिम सिकेपछि हाम्रा सुखका दिन आए । अहिले घरमा पाँच सय कुखुरा छन्, मैले त श्रीमान्लाई पनि रोजगारी दिएकी छु ।’
उनले तालिमपछि २० हजारको लगानीमा एकसय कुखुराबाट व्यवसाय सुरु गरिन् । सुरुवातमै १० हजार रूपैयाँ नाफा भयो । त्यसपछि उनलाई थप हौसला मिल्यो । अहिले सबै खर्च कटाएर मासिक ८०
हजार आम्दानी हुने गरेको उनले
सुनाइन् । ‘बस्ने बास पनि थिएन, माइतीको शरणमा थियौं’ उनले भनिन्, ‘व्यवसाय गरेको डेढ वर्ष मात्र भयो, दुई कठ्ठा जग्गा किनेर आफ्नै घर बनाएका छौं ।’ घरखर्च जुटाउन भारत जाने उनका श्रीमान्ले अहिले घरमै रोजगारी पाएका छन् । उनले भनिन्, ‘पहिला त सुखका दिन आउँलान् जस्तो लाग्दैनथ्यो, मेहेनत गरेपछि त सुखका दिन आउने रहेछन् ।’
भेरीगंगा नगरपालिका निवासी कमला शाहीले बैंक देखेकी थिइनन् । घरको काममा व्यस्त हुने उनले आफ्नै नाममा बैंक खाता होला भन्ने कल्पना पनि गरेकी थिइनन् । दुई वर्ष भयो उनले घर नजिकै कस्मेटिक पसल सञ्चालन गरेको । तीस हजार ऋणबाट पसल सुरु गरेकी उनको अहिले आफ्नै नाममा बैंक खाता छ । त्यतिमात्र होइन, बैंकमा अहिले तीन लाख रकम जम्मा गर्न सफल भएकी छन् । ‘मलाई बैंक भनेको थाहा नै थिएन, चेकसम्म पनि देखेकी थिइन’ उनले आफ्नो विगत सम्झदैं भनिन्, ‘तर व्यवसाय सुरु गरेपछि मेरो भाग्य नै खुल्यो, अहिले त बैंकको सबै कारोबार आफै गर्नसक्ने भएकी छु ।’ सीप सिकेपछि गोठीकाँडा निवासी मनमाया बुढामगरका पनि सुखका दिन फर्किएका छन् । श्रीमान्ँंग छुट्टिएर बसेको १९ वर्ष भयो ।
अर्काको जग्गामा घर बनाएर बसेकी उनलाई छाक टार्नै मुश्किल थियो । अहिले उनले घरमै दालमोट, महेश, दाम्लो मिठाइ उत्पादन गरेर गाउँमै बिक्री गर्छिन् । त्यही व्यवसायबाट उनले घरखर्च मात्र होइन, दुई छोराछोरी र एक भदैको पढाइ खर्च व्यहोरेकी छन् । मासिक रूपमा १० हजार बचत हुने गरेको
छ । चित्रमाया, कमला र मनमाया त केवल प्रतिनिधि पात्रमात्र हुन् । सीप सिकेर उद्यमी बनेका महिलाहरूको संख्या जिल्लामा थुप्रै रहेको छ । सानो लगानीबाट अपेक्षा अनुसारको आम्दानी गर्न सफल भएकाहरूको संख्या उल्लेख्य छ । गरिबी निवारण कोषले आर्थिक रूपमा कमजोर र पिछडिएका महिलाहरूलाई सीपमूलक तालिम र ऋण उपलब्ध गराएपछि महिलाहरू उद्यमी बनेका हुन् । जिल्लामा एक वर्षको अवधिमा एक सय महिला उद्यमी बनेका छन् । आर्थिक वर्ष २०७३ मा कोषले ८५ जना उद्यमी बनाउने उद्देश्य राखे पनि त्यो संख्या बढेर एक सय पुगेको गरिबी निवारण कोष सुर्खेतका प्रमुख टीकाराम पोखरेलले बताए ।
पोखरेलले कोषले तीन वर्षको अवधिमा आय–आर्जनमा आठ करोड र भौतिक निर्माणतर्फ तीन करोड लगानी गरी महिलाहरूलाई उद्यमी बनाएको बताए । उनका अनुसार पाँच वर्षको अवधिमा जिल्लामा एक हजार महिलालाई उद्यमी बनाउने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७३ मा मात्र आय–आर्जनमा दुई सय ४७ वटा सामुदायिक संस्थामा चार करोड २२ वटा भौतिक पूर्वाधारमा ९० लाख लगानी भएको छ । यसैबीच गरिबी निवारण कोष र जिल्ला समन्यन समितिको आयोजनामा आइतवार वीरेन्द्रनगरमा गरिबी निवारण कोष सामुदायिक संस्था सिर्जनशीलता पुरस्कार प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लामा सफल तीन सामुदायिक संस्था र दुई जना सफल उद्यमीलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जिल्लाको गरिबी निवारणका लागि एकीकृत प्रयासहरू गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष अनन्त पौडेल, नेकपा एमालेका जिल्ला अध्यक्ष धुव्रकुमार शाही र उद्यमीहरू लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः   १२ असार २०७४, सोमबार १५:०७