स्वस्थ मुटुका लागि साइकल यात्रा

सुर्खेत: स्वस्थ मुटुका लागि साइकल यात्रा गरिएको छ । विश्व मुटु दिवसको अवसर पारेर हेप्पी सोउल्सको आयोजना तथा ‘द कर्णाली राइडर्स’ को समन्वयमा मंगलवार साइकल यात्रा गरिएको हो ।
वीरेन्द्रनगरको घण्टाघरबाट सुरु भएको साइकल यात्रा पर्यटकीय तथा ऐतिहासिक स्थल काँक्रेविहार पुगेर समापन भएको थियो । यात्रा समापनसँगै सहभागीहरूले काँक्रेविहार परिसरमा सरसफाइ कार्यक्रमसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै हेप्पी सोउल्सका प्रतिनिधि तथा वरिष्ठ फिजिसियन डा. सरोज गिरीले व्यस्त जीवनशैली, मानसिक तनाव र अस्वस्थकर खानपानका कारण मुटुरोगको जोखिम दिनप्रतिदिन बढ्दै गएको बताए । दैनिक रूपमा साइकल चलाउने जस्ता शारीरिक अभ्यासले मुटुलाई स्वस्थ र दीर्घजीवी बनाउन ठूलो सहयोग पु¥याउने उल्लेख समेत गरे ।
त्यस्तै, द कर्णाली राइडर्सका अध्यक्ष विशाल के.सी.ले साइकल यात्रा स्वास्थ्यका लागि मात्र नभइ वातावरण संरक्षण र स्वच्छ वातावरण निर्माणका लागि समेत उत्तिकै प्रभावकारी रहेको बताए । उनले स्वस्थ जीवनशैली र वातावरणीय स्वच्छताका लागि युवाहरूले साइकल संस्कृतिलाई अङ्गाल्नुपर्नेमा जोड दिए । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा साइकल यात्रा र स्वस्थ मुटुको अन्तरसम्बन्धबारे आफ्नो भनाइ राखेका थिए ।
मुटु स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
प्रकाशित मितिः १४ आश्विन २०८३, बुधबार १९:१४

साझा बिसौनी ।