श्रीमानबाटै महिला असुरक्षित
सुर्खेत: श्रीमानले फरुवाले टाउकोमा प्रहार गरेपछि चौकुने गाउँपालिका ५ रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटाले ज्यान गुमाइन् । मंगलवार बिहान अन्दाजी १०ः२० बजे ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमतीलाई फरुवा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । गोपीरामलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घरभित्रै र आफन्तबाटै महिलामाथि हुने हिंसाको यो एउटा उदाहरण मात्रै हो ।
सुर्खेतसहित कर्णाली प्रदेशमा महिलामाथि हुने हिंसाका घटना दिनप्रति दिन बढ्दै गएका छन् । न्यूनीकरण हुनुपर्नेमा बढ्दै जानु चिन्ताको विषय हो । विभेदकारी सामाजिक संरचना र चिन्तनले आज पनि महिलालाई दोस्रो दर्जाको नागरिकसरह बनाएको छ । त्यसमाथि घरेलु हिंसाको सिकार भइरहनु परेको छ । कतिसम्म भने घरपरिवारभित्रै हिंसा भइरहेको छ । श्रीमानबाटै महिलाहरूको हत्या भइरहेका घटना धमाधम सार्वजनिक भइरहेका छन् । यसले हिंस्रक समाज र व्यवहारको तस्विर उदांगो बनाइरहेको छ । एकपछि अर्को गर्दै महिलमाथि भइरहेका हिंसा र जघन्य अपराधका घटनाले महिलाहरू आफन्त र घरभित्रै पनि सुरक्षित छैनन् भन्ने देखाइरहेको छ ।
पछिल्लो सात महिना नबित्दै कर्णालीका चार जना महिलाले आफ्नै श्रीमानबाट ज्यान गुमाए । पारिवारिक विवाद वा झैझगडा घरेलु हिंसा हुँदै हत्याजस्ता जघन्य अपराधसम्म पुग्ने गरेका छन् ।
महिलाहरू घरभित्रका अर्थात् पुरुषले गरेका साधारण कुटपिट, अत्याचार र गालीगलौजलाई दैनिक रूपमा लिने गरेको र प्रतिकार गर्दा मृत्युको सिकार भइरहेका छन् । केही महिना अघि वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले श्रीमतीको हत्या गरे । ४२ वर्षीय ठाडाले चिर्पटले हानेर ४१ वर्षीय रविना थापाको हत्या गरेका हुन् । हत्या लगत्तै आफैले प्रहरीलाई खबर गरेका उनलाई पक्राउ गरिएको छ ।
यस्तै गत असार १७ गते रूकुमपश्चिमको चौरजहारी नगरपालिका ३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले पनि आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका थिए । घरेलु विवादकै कारण देविका बुढाथोकीको श्रीमानबाट हत्या भएको हो । खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका चन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसअघि गत वैशाखमा सुर्खेतकै छिञ्चुमा श्रीमानबाटै प्रेमा ओलीको हत्या भयो । भेरीगंगा नगरपालिका १२ को डम्पिङ साइट नजिक खोल्सामा डुबेको अवस्थामा ओलीको शव भेटिएको थियो । प्रेमाको हत्या उनका श्रीमान जक्सन खत्रीले गरेका हुन् । श्रीमानले पठाएको सामान लिन भन्दै गुर्भाकोटबाट छिञ्चु पुगेकी प्रेमाको शव फेला परेको थियो ।
पछिल्लो सात महिना नबित्दै कर्णालीका चार जना महिलाले आफ्नै श्रीमानबाट ज्यान गुमाए । पारिवारिक विवाद वा झैझगडा घरेलु हिंसा हुँदै हत्याजस्ता जघन्य अपराधसम्म पुग्ने गरेका प्रतिनिधि घटना हुन्, यी । विगतदेखि नै कर्णाली प्रदेशमा महिलामाथि हुने हिंसाका घटना उल्लेख्य छन् । हिंसाका घटना बढ्दै जाँदा हत्यासमेत हुने गरेका छन्, जसको सिकार महिलाहरू भइरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा २५ जना महिलाले आफ्नै श्रीमानको हातबाट ज्यान गुमाएका छन् । विगत चार वर्षको तथ्यांक विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको छ ।
महिलाहरू घरेलु हिंसाको सिकार हुने गरेका घटना बग्रेल्ती भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाहरूको हत्यासम्म हुने गरेका जघन्य घटना हुन थालेका छन् । यसले महिलाका लागि घर नै सबैभन्दा असुरक्षित क्षेत्र बनाएको छ । एउटा अध्ययनले प्रत्येक दशमध्ये ६ महिला घरमा असुरक्षित छन् र तिनीहरू घरेलु हिंसा र मानसिक प्रताडना आफ्नै घरमा सहन बाध्य छन् भन्ने देखाएको छ । महिला त्यसैसँग असुरक्षित छन्, जसलाई सबभन्दा बढी माया र विश्वास गर्छिन् । सबभन्दा बढी माया र विश्वास गर्ने व्यक्ति उनको पति छ वा परिवारका अन्य सदस्य । महिलाहरू आफ्नै श्रीमानबाट समेत हत्यासम्मको सिकार भइरहेका छन् । पुरुषले गरेका साधारण कुटपिट, अत्याचार र गालीगलौजलाई दैनिक रूपमा लिने गरेको र प्रतिकार गर्दा मृत्युको सिकार भइरहेको पाइएको छ ।
प्रकाशित मितिः १० आश्विन २०८३, शनिबार १५:५७

रजनी याेगी ।