कर्णाली उत्सव कुडा कर्नालीका

घुमिफिरी कर्णाली

कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘घुमिफिरी कर्णाली’ सत्रमा कर्णाली प्रदेशमा पर्यटन विकासका सम्भावना, उपलब्ध प्राकृतिक तथा सांस्कृतिक सम्पदा, पर्यटन व्यवसायका अवसर र यस क्षेत्रको विकासमा देखिएका चुनौतीका विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण पत्रकार ललित बुढाले गरेका थिए भने छलफलमा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सी, उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव अजितकुमार कर्ण, साहसिक जलयात्रा पर्यटन व्यवसायी देवराज जैशी तथा आरोग्य अभियन्ता पौडेल सहभागी भएका थिए । छलफलका क्रममा रारा तथा शे–फोक्सुण्डो ताल, पचाल झरना, कर्णाली नदी, डोल्पा, सिंजा सभ्यता, पञ्चकोशी, काक्रेबिहार र चन्दननाथ मन्दिरलगायत कर्णालीका प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटन विकाससँग जोड्ने सम्भावनाबारे चर्चा गरिएको थियो । साथै, अथाह पर्यटन सम्भावना हुँदाहुँदै पनि कर्णालीले अपेक्षाकृत लाभ लिन नसक्नुका कारण, पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार तथा नीतिगत पहल, साहसिक पर्यटनको विकास र स्थानीयस्तरमा पर्यटन व्यवसायका अवसर सिर्जना गर्ने विषयमा समेत विमर्श गरिएको थियो ।


देवराज जैशी (साहसिक जलयात्रा पर्यटन व्यवसायी)

पर्यटन क्षेत्रमा मेरो प्रवेश पनि एउटा संयोगबाट भएको हो । म यसभन्दा पहिले पत्रकारिता क्षेत्रमा काम गर्थें । फ्रेन्च भाषा अध्ययन गर्ने क्रममा एउटा विदेशी समूहलाई त्रिशूली नदीमा र्‍याफ्टिङ गराउने अवसर पाएँ । त्यो समूहलाई लिएर ¥याफ्टिङ गराउँदै गर्दा मेरो घर पनि भेरी र कर्णाली नदीको किनारमै रहेको कुरा सम्झिएँ र यस्तै व्यवसाय आफ्नै ठाउँमा पनि गर्न सकिन्छ भन्ने सोच आयो । यसअघि पनि पश्चिमको बावियाचौरमा आएका दुई जना विदेशीलाई दोभाषेका रूपमा सहयोग गर्ने अवसर पाएको थिएँ । त्यतिबेला पर्यटनसँग जोडिएको कामबाट आम्दानी गर्न सकिने रहेछ भन्ने अनुभव भयो । यही अनुभव र आफ्नै ठाउँमा रहेको नदी तथा प्राकृतिक सम्भावनालाई जोडेर मैले पर्यटन व्यवसायमा प्रवेश गर्ने निर्णय गरेको हुँ । करिब २०६५÷०६६ सालतिरबाट मैले यो क्षेत्रमा काम सुरु गरेको हुँ । अहिले मेरो मुख्य पहिचान ट्रेकिङ तथा ट्राभल व्यवसायसँगै विशेषगरी रिभर बेस्ड टुरिजम अर्थात् साहसिक जलयात्रा पर्यटनसँग जोडिएको छ ।

संघीयता आएपछि कर्णालीमा पर्यटन विकासका लागि हामीले ठूलो अपेक्षा गरेका थियौँ । अब केन्द्र सरकारको मात्र मुख ताकिरहनु पर्दैन, आफ्नै प्रदेशले आवश्यकता र सम्भावनाअनुसार नीति निर्माण गर्न सक्छ र कर्णालीमा विदेशी पर्यटक ल्याउन सकिन्छ भन्ने आशा थियो । तर व्यवहारमा त्यो अपेक्षा धेरै हदसम्म पूरा हुन सकेन । यसको एउटा प्रमुख कारण पर्यटनलाई पर्याप्त गहिराइमा बुझ्न नसक्नु हो । पर्यटन क्षेत्रमा अभियन्ता, एजेन्ट र उद्यमी गरी फरक–फरक भूमिका हुन्छन् । उदाहरणका लागि, कुनै व्यक्तिले होमस्टेमा जानुपर्छ, त्यहाँ राम्रो छ भनेर प्रचार गर्छ भने त्यो अभियन्ताको भूमिका हो । पर्यटकका लागि रुम बुकिङ गर्ने व्यक्ति एजेन्ट हो भने होमस्टे सञ्चालन गरेर लगानी गर्ने व्यक्ति वास्तविक उद्यमी हो । अहिले सरकारको ध्यान धेरैजसो अभियन्ताको वरिपरि केन्द्रित हुँदा वास्तविक लगानीकर्ता तथा उद्यमीले आफ्ना समस्या र आवश्यकताबारे पर्याप्त रूपमा बोल्ने तथा सुनुवाइ हुने अवसर नपाएको अवस्था छ । यसले सरकार र पर्यटन व्यवसायीबीचको दूरी बढाएको छ ।

कर्णालीमा पर्यटनका धेरै फरक–फरक आयाम छन् । यहाँ माउन्टेन टुरिजम, एडभेन्चर टुरिजम, रिभर बेस्ड टुरिजम, एयर बेस्ड टुरिजमलगायत विभिन्न गतिविधिको ठूलो सम्भावना छ । पछिल्लो समय डोल्पादेखि मुस्ताङसम्म गरिने सफारी वा क्याराभान सफारीजस्ता नयाँ पर्यटन गतिविधि पनि सम्भावनाका रूपमा देखिएका छन् । पुराना खच्चर तथा घोडाको बाटो हुँदै हिमाल र पहाडी भूगोलको अनुभव गर्ने वा अहिले मोटरबाट त्यही क्षेत्रको यात्रा गर्ने पर्यटकका लागि यस्तो यात्रा निकै आकर्षक हुन सक्छ । तर हामीले यस्ता नयाँ र विशिष्ट पर्यटन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पर्याप्त रूपमा प्रस्तुत गर्न सकेका छैनौँ । कर्णालीमा के छ भन्ने कुरा हामी आफैँलाई थाहा भएर मात्र पुग्दैन, जहाँबाट पर्यटक आउने हुन् त्यहाँसम्म पुगेर उनीहरूलाई कर्णालीको अनुभवबारे जानकारी दिन र आकर्षित गर्न सक्नुपर्छ ।

विशेषगरी अन्तर्राष्ट्रिय मार्केटिङमा हाम्रो कमजोरी छ । नेपाल पर्यटन बोर्डले विभिन्न अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुन अवसर दिने गरेको भए पनि त्यहाँ सीमित कोटा हुन्छ र देशभरका हजारौँ कम्पनीबीच प्रतिस्पर्धा गर्नुपर्छ । त्यस्तो अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन व्यवसायीले आफैँले ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ, जुन कर्णालीका धेरै व्यवसायीका लागि सहज छैन । युरोप वा अन्य अन्तर्राष्ट्रिय बजारसम्म पुगेर आफ्नै खर्चमा प्रचार गर्नुपर्ने अवस्था हुँदा यहाँका व्यवसायीले त्यसका लागि आवश्यक आर्थिक क्षमता र पहुँच बनाउन सकेका छैनन् । त्यसैले प्रदेश सरकारले अन्तर्राष्ट्रिय बजारमा कर्णालीको पर्यटनलाई प्रवद्र्धन गर्न व्यवसायीलाई सहयोग गर्ने, नेपाल पर्यटन बोर्डजस्ता अनुभवी संस्थासँग साझेदारी गर्ने र कर्णालीका वैधानिक पर्यटन व्यवसायलाई विभिन्न क्षेत्रमा विभाजन गरी अन्तर्राष्ट्रिय बजारमा जोड्ने व्यवस्था गर्न आवश्यक छ ।

रिभर बेस्ड टुरिजमको अर्को ठूलो समस्या दक्ष जनशक्तिको अभाव हो । हामीसँग पर्याप्त रिभर गाइड छैनन् । अहिले पनि बाहिरबाट व्यावसायिक रिभर गाइड ल्याएर काम गराउनुपर्ने अवस्था छ । उनीहरूलाई दैनिक कम्तीमा पाँच हजार रूपैयाँ वा त्यसभन्दा बढी पारिश्रमिक दिनुपर्ने भएकाले २०÷२२ दिनको ¥याफ्टिङ यात्रामा व्यवसायीका लागि ठूलो खर्च हुन्छ । अर्कोतर्फ कर्णालीका धेरै युवा रोजगारीको खोजीमा छन्, तर उनीहरूलाई रिभर गाइडका रूपमा तालिम दिने व्यवस्थित कार्यक्रम र आवश्यक फन्डिङ छैन । एउटा निजी कम्पनीले आफ्नै खर्चमा सीमित व्यक्तिलाई तालिम दिन सक्छ तर ठूलो संख्यामा दक्ष जनशक्ति उत्पादन गर्न सरकारको सहयोग आवश्यक हुन्छ । रिभर गाइड केवल डुङ्गा चलाउने व्यक्ति होइन; ऊ पहिलो वर्षको डाक्टरजस्तै प्राथमिक उपचारको ज्ञान भएको, कुकको भूमिका निर्वाह गर्न सक्ने, दोभाषे बन्न सक्ने र आवश्यक पर्दा चालकको भूमिकासमेत निर्वाह गर्न सक्ने बहुआयामिक जनशक्ति हो । त्यसैले रिभर गाइड उत्पादनमा विशेष ध्यान दिन आवश्यक छ ।

पर्यटनसँग सम्बन्धित सीप विकासका कार्यक्रम पनि काठमाडौं केन्द्रित छन् । रिभर गाइड, ट्रेकिङ गाइड, टुर गाइड तथा विभिन्न विदेशी भाषामा काम गर्न सक्ने गाइडहरू कर्णालीमै उत्पादन गर्नुपर्ने आवश्यकता छ । हामीले रिभर गाइड तालिम सञ्चालनका लागि प्रस्ताव गर्दा प्रदेश सरकारको पत्रलाई सम्बन्धित निकायले पर्याप्त मान्यता नदिएको र व्यवसायिक संस्थाको पत्रलाई मात्र मान्यता दिएको अनुभवसमेत गरेका छौँ । यसले संघीयता लागू भए पनि केही क्षेत्रमा अझै केन्द्रिकृत अभ्यास कायम रहेको देखाउँछ । पर्यटन क्षेत्रमा आवश्यक पर्ने सीप र जनशक्ति उत्पादनका कार्यक्रम कर्णालीमै सञ्चालन गर्न सकिने गरी नीति तथा नियम बनाउनु र तालिम प्रणालीलाई विकेन्द्रीकरण गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो । पर्यटन व्यवसायमा लगानी र वित्तीय पहुँच पनि अर्को चुनौती हो । ¥याफ्टिङका लागि आवश्यक बोट तथा उपकरण किन्न ठूलो रकम चाहिन्छ । एउटा ¥याफ्टिङ बोट किन्न करिब १८–२० लाख रूपैयाँसम्म खर्च हुन सक्छ तर गाडी किन्दा जस्तो सहज फाइनान्सिङ सुविधा र धरौटीको व्यवस्था ¥याफ्टिङ उपकरणमा छैन । व्यवसायीले ठूलो रकम नगदमै लगानी गर्नुपर्ने अवस्था छ । जोखिम पनि उत्तिकै हुन्छ । महँगो उपकरण केही दिनमै क्षतिग्रस्त भयो वा आगलागीजस्ता घटना भयो भने व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्छ । यस्तो जोखिमका बीच सस्तो ब्याजदरको ऋण, वित्तीय सुविधा तथा उपकरण खरिदका लागि सहज फाइनान्सिङ व्यवस्था नहुँदा साहसिक पर्यटन व्यवसाय विस्तार गर्न कठिन भइरहेको छ ।

पर्यटन प्रवद्र्धनका लागि अहिले परम्परागत शैलीको प्रचार मात्र पर्याप्त हुँदैन । ठूला–ठूला पुस्तक तथा ब्रोसर छापेर वितरण गर्नेभन्दा डिजिटल माध्यम र सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक छ । कर्णाली प्रदेश सरकारले ‘ब्युटिफुल कर्णाली’, ‘वन्डरफुल कर्णाली’, ‘डिस्कभर कर्णाली’ जस्ता छुट्टाछुट्टै डिजिटल प्लेटफर्म वा अभियान निर्माण गरेर फरक–फरक पर्यटन उत्पादनलाई लक्षित गरी प्रचार गर्न सक्छ । ‘डिस्कभर कर्णाली’मार्फत पदयात्रा तथा प्राकृतिक गन्तव्यलाई, ‘एडभेन्चर कर्णाली’ मार्फत ¥याफ्टिङ, कायाकिङ, क्यानोनिङलगायत साहसिक गतिविधिलाई र अन्य अभियानमार्फत विभिन्न पर्यटन विधालाई प्रचार गर्न सकिन्छ । यस्ता सामग्रीलाई टिकटक, वीच्याट तथा अन्य सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने गरी प्रवद्र्धन गर्नुपर्छ । पर्यटक आउने बजारमै पुगेर कर्णालीको पर्यटन उत्पादन देखाउन सक्नुपर्छ; यहाँ बसेर मात्र सामाजिक सञ्जालमा प्रचार गर्दैमा अन्तर्राष्ट्रिय पर्यटक पर्याप्त रूपमा आउँदैनन् । अर्को महŒवपूर्ण कुरा पर्यटनको विकासलाई केवल मठमन्दिर, गेट र सडक निर्माणसँग मात्र जोड्नु हुँदैन । पूर्वाधार आवश्यक छ, तर त्यससँगै पर्यटन व्यवसायीलाई चाहिने सेवा, दक्ष जनशक्ति र आतिथ्य सत्कारको गुणस्तर पनि महŒवपूर्ण हुन्छ । कर्णालीमा होटलहरू धेरै छन्, तर पर्यटकले अपेक्षा गर्ने स्तरको दक्ष कुक तथा अन्य सेवा जनशक्तिको अभाव देखिन्छ । पर्यटकलाई आवश्यक सेवा सुविधा दिन नसक्दा उनीहरूको अनुभव राम्रो नहुन सक्छ र त्यसअनुसारको मूल्य लिन पनि व्यवसायीलाई कठिन हुन्छ । त्यसैले पर्यटन विकास भनेको भौतिक संरचना निर्माण मात्र होइन, पर्यटकले पाउने सम्पूर्ण अनुभवलाई राम्रो बनाउने कुरा पनि हो ।

पर्यटन विकासमा सबैभन्दा ठूलो समस्या सरकार, व्यवसायी र पर्यटकको चाहनाबीच रहेको अन्तर पनि हो । हामीले आफ्नो दृष्टिकोणबाट पर्यटकले के चाहन्छ भन्ने अनुमान गर्छौं, तर पर्यटकको वास्तविक रुचि के हो भनेर पर्याप्त रूपमा बुझ्दैनौँ । उदाहरणका लागि, हामीलाई महŒवपूर्ण लाग्ने कुनै मन्दिर वा धार्मिक स्थल पर्यटकको प्राथमिकतामा नपर्न सक्छ । त्यसैले पर्यटनसम्बन्धी योजना बनाउँदा ‘हामीलाई के राम्रो लाग्छ’ भन्ने आधारमा मात्र होइन, पर्यटकले वास्तवमा के खोजिरहेको छ भन्ने आधारमा योजना बनाउनुपर्छ । व्यवसायीलाई थाहा भएको कुरा सरकारले बुझ्नुपर्छ र सरकारले सोचिरहेको कुरा पर्यटकको रुचिसँग पनि मिल्नुपर्छ । अहिले यी तीन पक्षबीच यही ठाउँमा ठूलो ग्याप देखिन्छ । त्यसैले बजारको माग, पर्यटकको रुचि र व्यवसायीको अनुभवलाई नीति निर्माणसँग जोड्न आवश्यक छ ।

अन्ततः रिभर बेस्ड टुरिजमलगायत पर्यटनका विभिन्न क्षेत्रमा सरकारले व्यवसायीलाई साझेदारका रूपमा हेर्न आवश्यक छ । पछिल्ला वर्षमा रिभर बेस्ड टुरिजमका लागि सरकारी लगानी अत्यन्त न्यून रहेको र आफूहरूजस्ता व्यवसायीले नै उपलब्ध तथ्यांक तथा अनुभव उपलब्ध गराउँदै आएको अवस्था छ । देशभरका करिब १८० ¥याफ्टिङ कम्पनीमध्ये धेरै व्यवसायीको मुख्य गतिविधि कर्णाली र भेरी नदीसँग जोडिएको भए पनि प्रदेश सरकार र व्यवसायीबीच पर्याप्त समन्वय र लगानी हुन नसकेको अनुभव छ । त्यसैले अब पर्यटन विकासमा दक्ष जनशक्ति उत्पादन, अन्तर्राष्ट्रिय मार्केटिङ, व्यवसायीलाई वित्तीय तथा नीतिगत सहयोग, हवाई तथा भौतिक पहुँच विस्तार र सरकार–व्यवसायीबीच नियमित समन्वयलाई प्राथमिकतामा राख्नुपर्छ । कर्णालीका नदी, हिमाल, ताल र प्राकृतिक सम्पदालाई वास्तविक पर्यटन उत्पादनमा रूपान्तरण गर्न सके यस क्षेत्रका स्थानीय युवाका लागि रोजगारी र व्यवसायका अवसर सिर्जना गर्न सकिने र कर्णालीको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिने मेरो विश्वास छ ।


राधा पौडेल (आरोग्य अभियन्ता)

आरोग्य पर्यटन भन्नाले केवल कुनै ठाउँमा गएर शरीरलाई आराम दिने वा स्वास्थ्यसम्बन्धी उपचार गर्ने पर्यटनलाई मात्र बुझ्नु हुँदैन । आरोग्यको अवधारणाले व्यक्तिको समग्र स्वास्थ्यलाई समेट्छ । यसमा शारीरिक स्वास्थ्यसँगै मानसिक, भावनात्मक, आध्यात्मिक र सामाजिक स्वास्थ्य तथा पर्यावरणसँगको सम्बन्धसमेत जोडिन्छ । मानिस आफ्नो जीवनशैलीमा सुधार ल्याउन, मानसिक तनाव कम गर्न, प्रकृतिसँग नजिक हुन, आध्यात्मिक शान्ति प्राप्त गर्न वा आफूलाई शारीरिक र मानसिक रूपमा पुनः ऊर्जावान बनाउन कुनै निश्चित स्थानमा भ्रमण गर्छ भने त्यसलाई आरोग्य पर्यटनका रूपमा बुझ्न सकिन्छ । त्यसैले आरोग्य पर्यटनलाई पर्यटनको एउटा फरक र सम्भावनायुक्त आयामका रूपमा बुझ्न आवश्यक छ । अहिले विश्वमै वेलनेस तथा आरोग्य पर्यटनप्रति चासो बढिरहेको अवस्थामा कर्णालीले पनि आफ्नो प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा जडिबुटीसम्बन्धी सम्पदालाई यस क्षेत्रसँग जोडेर अघि बढाउन सक्छ ।

कर्णालीलाई हेर्ने हो भने आरोग्य पर्यटनका लागि आवश्यक धेरै आधार यहाँ पहिलेदेखि नै छन् । यहाँको प्रकृति, स्वच्छ र शान्त वातावरण, जडिबुटी, प्राकृतिक स्रोत, ऐतिहासिक धरोहर, धार्मिक तथा सांस्कृतिक स्थल र मौलिक जीवनशैली आफैँमा महत्वपूर्ण सम्पत्ति हुन् । यी सम्पदालाई केवल हेर्ने वा घुम्ने विषयका रूपमा मात्र नलिई मानिसको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यसँग जोड्न सकियो भने कर्णालीको पर्यटनले नयाँ स्वरूप लिन सक्छ । कर्णालीमा आउने पर्यटकलाई एउटा गन्तव्य घुमाएर फर्काउनेभन्दा पनि केही दिन यहाँ बस्ने, प्रकृतिसँग जोडिने, ध्यान गर्ने, स्थानीय जीवनशैली बुझ्ने, स्वस्थ खाना खाने, तनाव व्यवस्थापन गर्ने र सकारात्मक अनुभव लिएर फर्किने वातावरण बनाउन सकियो भने पर्यटनको आर्थिक लाभ पनि थप बढ्न सक्छ । यसका लागि कर्णालीका विभिन्न स्थानलाई आरोग्य तथा वेलनेस पर्यटनका छुट्टाछुट्टै गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

यसको एउटा राम्रो उदाहरण जुम्लाको तातोपानी हो  । जुम्लाको तातोपानीमा आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गरेका छन् र स्थानीय जनमानसमा त्यहाँको पानीमा नुहाएपछि विभिन्न रोग तथा स्वास्थ्य समस्या कम हुने विश्वाससमेत रहेको छ । मानिसहरू त्यही विश्वासका आधारमा त्यहाँ पुग्ने र नुहाउने गरेको अनुभव सुनिन्छ । यस्तो प्राकृतिक स्रोतलाई केवल सामान्य तातोपानीका रूपमा छोड्नुको सट्टा वैज्ञानिक अध्ययन र आवश्यक पूर्वाधारसहित हाइड्रोथेरापी तथा वेलनेस पर्यटनको अवधारणासँग जोडेर विकास गर्न सकिन्छ । विश्वका विभिन्न देशमा प्राकृतिक पानी, समुद्र, तातोपानी तथा अन्य प्राकृतिक स्रोतलाई स्वास्थ्य र वेलनेससँग जोडेर पर्यटन विकास गरिएको पाइन्छ । त्यसैगरी कर्णालीको तातोपानीलाई पनि व्यवस्थित रूपमा विकास गर्न सकिएमा त्यसले पर्यटकको आकर्षण बढाउनुका साथै पर्यटकको बसाइ लम्ब्याउन र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग गर्न सक्छ ।

कर्णालीमा आरोग्य पर्यटनको अर्को महŒवपूर्ण सम्भावना ध्यान तथा मेडिटेसनसँग जोडिएको पर्यटन हो । अहिले मानिसहरू व्यस्त जीवनशैली, मानसिक तनाव र निरन्तरको प्रतिस्पर्धाबाट केही समय टाढा भएर शान्त वातावरणमा बस्न चाहन्छन् । कर्णालीको भौगोलिक तथा प्राकृतिक वातावरण यस्तो अनुभवका लागि उपयुक्त हुन सक्छ । उदाहरणका रूपमा दैलेखको महाभुजस्ता शान्त र प्राकृतिक वातावरण भएका स्थानमा मेडिटेसन सेन्टर वा वेलनेस हब स्थापना गर्न सकिन्छ । बाह्य वा आन्तरिक पर्यटक केही दिनका लागि कर्णालीमा आएपछि त्यहाँ ध्यान, योग, प्रकृतिसँगको अभ्यास, तनाव व्यवस्थापन तथा मानसिक शान्तिसम्बन्धी गतिविधिमा सहभागी हुन सक्ने व्यवस्था गर्न सकिन्छ । यसले पर्यटकलाई केवल घुमाउनेभन्दा फरक किसिमको अनुभव दिन सक्छ । शारीरिक रूपमा मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि आफूलाई सन्तुलित बनाउन चाहने पर्यटकका लागि कर्णाली एउटा उपयुक्त गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।

कर्णालीका सबै जिल्लालाई हेर्दा पनि कुनै न कुनै प्रकारको विशिष्ट सम्पदा भेटिन्छ । हरेक जिल्लामा कर्णालीलाई चिनाउने प्राकृतिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक वा स्थानीय ज्ञानसँग जोडिएका बहुमूल्य आधारहरू छन् । ती सम्पदाको पहिचान गरी संरक्षण र पर्यटनसँग जोड्ने काम आवश्यक छ । विशेषगरी जडिबुटीको क्षेत्रमा कर्णालीसँग ठूलो सम्भावना छ । अहिले जडिबुटी संकलन र बाहिर पठाउने काममा मात्र सीमित हुनुको सट्टा स्थानीयस्तरमै प्रशोधन केन्द्र स्थापना गर्न सकिएमा त्यसबाट थप मूल्य सिर्जना गर्न सकिन्छ । जडिबुटीलाई प्रशोधन, प्याकेजिङ र आवश्यक गुणस्तर कायम गरेर बजारमा पु¥याउन सकिएमा पर्यटनसँगै स्थानीय उत्पादन र रोजगारीको क्षेत्र पनि विस्तार हुन सक्छ । आरोग्य पर्यटनसँग जोडिने भएकाले स्थानीय जडिबुटी, स्वस्थ जीवनशैली र प्राकृतिक उपचारसम्बन्धी ज्ञानलाई पनि व्यवस्थित रूपमा प्रस्तुत गर्न सकिन्छ ।

त्यस्तै कर्णालीलाई मानसरोवर जाने पर्यटकसँग जोड्ने सम्भावनालाई पनि गम्भीर रूपमा हेर्न आवश्यक छ । भारतबाट ठूलो संख्यामा मानिसहरू मानसरोवर यात्राका लागि जाने गरेका छन् र उनीहरूमध्ये धेरैजसो लामो दूरीको यात्राका लागि भारततर्फकै मार्ग प्रयोग गर्छन् । यदि कर्णालीबाट मानसरोवरतर्फ जाने तथा आउने पदमार्ग र आवश्यक पहुँचको व्यवस्था व्यवस्थित रूपमा विकास गर्न सकियो भने त्यसबाट कर्णालीमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना छ । यसका लागि केवल पदमार्गको निर्माण मात्र पर्याप्त हुँदैन । बाटोमा आवश्यक आवास, खानेपानी, स्वास्थ्य, सुरक्षा, सूचना, स्थानीय गाइड तथा अन्य आधारभूत सेवाको व्यवस्था पनि गर्नुपर्छ । धार्मिक तथा आध्यात्मिक यात्रालाई कर्णालीको प्राकृतिक र सांस्कृतिक अनुभवसँग जोड्न सकिएमा पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिने सम्भावना रहन्छ ।

आरोग्य पर्यटनको अवधारणालाई अघि बढाउँदा पर्यटकको संख्या बढाउनु मात्र उद्देश्य हुनु हुँदैन । पर्यटक कर्णालीमा आएर यहाँको प्रकृति र सम्पदाको सम्मान गर्दै सकारात्मक अनुभव लिएर फर्कनुपर्छ । कर्णालीमा आएर फोहोर फालेर जाने होइन, यहाँको वातावरण संरक्षणमा योगदान गर्ने र मानसिक शान्ति तथा सकारात्मक सोच लिएर जाने संस्कृति विकास गर्न आवश्यक छ । त्यसैले आरोग्य पर्यटन वातावरणीय पक्षसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । प्राकृतिक सम्पदा, जंगल, नदी, जडिबुटी, ऐतिहासिक स्थल र सांस्कृतिक सम्पदाको संरक्षण नगरी आरोग्य पर्यटनको दीर्घकालीन विकास सम्भव हुँदैन । पर्यटकलाई पनि वातावरणीय जिम्मेवारीबारे सचेत गराउने र स्थानीय समुदायलाई संरक्षण तथा पर्यटनबाट प्रत्यक्ष लाभ हुने व्यवस्था मिलाउनुपर्छ ।

आरोग्य पर्यटनलाई अघि बढाउँदा पर्यटकको शारीरिक स्वास्थ्यसँगै मानसिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ । कर्णालीको शान्त वातावरणमा ध्यान, मेडिटेसन, योग, प्रकृति भ्रमण तथा तनाव व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसरी आउने पर्यटकलाई आवश्यक प्रशिक्षण र सहजीकरण गर्न स्थानीयस्तरमै प्रशिक्षित जनशक्ति तयार गर्न सकिन्छ । आरोग्य पर्यटनका लागि बाहिरबाट मात्र जनशक्ति ल्याउनेभन्दा स्थानीय युवालाई तालिम दिएर रोजगारीसँग जोड्न सके यसबाट पर्यटनको लाभ स्थानीय समुदायमा पुग्नेछ । महिलाहरू, युवा तथा स्थानीय समुदायलाई जडिबुटी, स्वस्थ खाना, होमस्टे, योग तथा ध्यान, आतिथ्य सत्कार र अन्य सेवासँग जोड्न सकिने सम्भावना पनि छ ।

मेरो बुझाइमा कर्णालीलाई आरोग्य पर्यटनको गन्तव्यका रूपमा विकास गर्नका लागि यहाँको प्राकृतिक सौन्दर्यलाई मात्र प्रचार गरेर पुग्दैन । यहाँको प्रकृति, सम्पदा, जडिबुटी, ऐतिहासिक तथा सांस्कृतिक धरोहर र स्थानीय जीवनशैलीले मानिसको जीवनमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुरा विश्वसामु प्रस्तुत गर्नुपर्छ । कर्णालीलाई केवल दुर्गम वा प्राकृतिक रूपमा सुन्दर ठाउँका रूपमा चिनाउनेभन्दा पनि शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक तथा सामाजिक रूपमा आफूलाई पुनः सन्तुलित बनाउन सकिने गन्तव्यका रूपमा चिनाउन सकियो भने पर्यटनको नयाँ बजार निर्माण गर्न सकिन्छ । यसले कर्णालीको पर्यटनलाई विविधीकरण गर्नुका साथै स्थानीय अर्थतन्त्र, रोजगारी र समग्र आर्थिक समृद्धिमा समेत योगदान पु¥याउन सक्छ ।

जीवन विज्ञानको प्रशिक्षकका रूपमा मेरो आफ्नै तर्फबाट पनि कर्णाली आउने पर्यटकलाई सहयोग गर्ने प्रतिबद्धता छ । अवसर प्राप्त भएमा यहाँ आउने पर्यटकको मानसिक, शारीरिक, भावनात्मक तथा आध्यात्मिक शान्तिका लागि आवश्यक अभ्यास र प्रशिक्षण गराउन म तयार छु । कर्णालीमा आउने मानिसले यहाँबाट केवल एउटा यात्रा वा भ्रमणको सम्झना मात्र लिएर नफर्की आफ्नो जीवनशैलीमा केही सकारात्मक परिवर्तन ल्याउने अनुभव लिएर फर्कन सकून् भन्ने मेरो चाहना हो । कर्णालीसँग प्रकृति र सम्पदाको मात्र होइन, मानिसलाई शान्त, स्वस्थ र सकारात्मक बनाउने सम्भावनाको पनि ठूलो सम्पत्ति छ । यही सम्भावनालाई व्यवस्थित रूपमा पहिचान, संरक्षण, विकास र प्रचार गर्न सकियो भने कर्णालीलाई नेपालमा मात्र नभइ विश्वमै आरोग्य तथा वेलनेस पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।


टोप बहादुर बिसी (अध्यक्ष– गुराँस गाउँपालिका, दैलेख)

पर्यटन विकासका विषयमा छलफल गर्दा हामीले सबैभन्दा पहिले एउटा आधारभूत कुरा बुझ्न आवश्यक छ, पर्यटनका लागि नयाँ कुरा के बनाउने भन्ने प्रश्नभन्दा पहिले हामीसँग भएका चिजहरू के हुन्, तिनको पहिचान के हो र तिनलाई कसरी संसारसामु चिनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हाम्रो देशमा कर्णाली प्रदेश छ, कर्णाली प्रदेशभित्र दैलेख जिल्ला छ र दैलेखभित्र गुराँस गाउँपालिका पनि एउटा महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो भन्ने कुरा कर्णाली प्रदेशभित्र, देशभर र देशबाहिर समेत चिनाउन हामीले प्रयास गरिरहेका छौँ । त्यसका लागि स्थानीय सरकारले गरेका काम, पर्यटक तथा पाहुनालाई दिने सेवा–सत्कार, सम्मान, स्थानीय ठाउँहरूको पहिचान तथा विभिन्न सञ्चार र प्रचार–प्रसारका माध्यमबाट ती स्थानलाई चिनाउने कामलाई हामीले प्राथमिकतामा राखेका छौँ । मेरो विचारमा पर्यटन विकासको पहिलो आधार नै आफूले के पाएका छौँ र त्यसलाई कसरी सही रूपमा प्रस्तुत गर्न सक्छौँ भन्ने हो ।

पर्यटनका लागि भौतिक संरचना निर्माण गर्ने विषय पनि महŒवपूर्ण हुन्छ, तर हरेक ठाउँमा एउटै प्रकारको संरचना बनाउनु पर्यटन विकासको सही उपाय हुन सक्दैन । संघीय शासन प्रणाली आएपछि स्थानीय तह र प्रदेशलाई आफ्ना ठाउँको आवश्यकता र सम्भावना आफैँ पहिचान गरेर विकास गर्ने अधिकार दिइएको हो । कुनै ठाउँमा अग्लो टावरको महत्व हुन सक्छ, कुनै ठाउँमा गुफा वा गहिरो प्राकृतिक संरचनाको महŒव हुन सक्छ, कतै समथर पाटनको महत्व हुन सक्छ भने कतै जंगल, नदी, हिमाल वा धार्मिक स्थल नै प्रमुख आकर्षण हुन सक्छ । त्यसैले केन्द्रबाट एउटै प्रकारको संरचना सबै ठाउँमा बनाउनेभन्दा स्थानीय जनताले आफ्नो ठाउँको विशेषता र आवश्यकता पहिचान गरी के बनाउने वा के नगर्ने भन्ने निर्णय गर्न पाउने व्यवस्था संघीयताको मूल भावना हो । उदाहरणका लागि कुनै ठाउँमा टावर आवश्यक छैन भने केवल बजेट खर्च गर्नकै लागि टावर बनाउनुको अर्थ हुँदैन । स्थानीय तह, प्रदेश सरकार र सम्बन्धित समुदायले त्यहाँको वास्तविक सम्भावना बुझेर लगानीको प्राथमिकता निर्धारण गर्नुपर्छ ।

हामीसँग रारा तालजस्तो महŒवपूर्ण गन्तव्य छ, जहाँ हजारौँ पर्यटक आकर्षित हुने सम्भावना छ । तर पर्यटकलाई कर्णालीतर्फ ल्याउने प्रारम्भिक चरणमै हामी कमजोर देखिन्छौँ । पूर्व–पश्चिम राजमार्गबाट यात्रा गर्ने मानिसहरू कोहलपुरबाट बर्दियाको ठाकुरद्वारा जान चाहन्छन्, त्यहाँ बाघ देख्न नपाए पनि जंगल हेर्न चाहन्छन् । कर्णाली नदीमा एउटा पुल भए पनि त्यसलाई हेर्न पर्यटक आकर्षित हुन्छन् । तर कोहलपुरबाट कर्णालीतर्फ पर्यटकलाई ल्याउन हामीले त्यति प्रभावकारी वातावरण बनाउन सकेका छैनौँ । कोहलपुरबाट कर्णालीतर्फ आएका पर्यटकहरू रारा पुगेर फर्किएपछि उनीहरूको अनुभव कस्तो रह्यो भन्ने कुरा पनि हामीले गम्भीर रूपमा सोच्नुपर्छ । पर्यटकले बाटोमा दुःख पाउने, राम्रो खाना नपाउने, आवश्यक सेवा नपाउने, बस्ने ठाउँ राम्रो नहुने वा सेवा पाएको ठाउँमा पनि अस्वाभाविक रूपमा बढी पैसा तिर्नुपर्ने अवस्था आयो भने उनीहरू फेरि आउन चाहँदैनन् । मैले अनुभव र कुराकानीका आधारमा देखेको कुरा के हो भने ठूलो संख्यामा पर्यटक यस्तो अनुभवपछि कर्णालीमा पुनः आउन वा अरूलाई आउन सुझाव दिन इच्छुक हुँदैनन् । यसले देखाउँछ कि हामीले पर्यटनको सम्भावना मात्र बुझेर हुँदैन, पर्यटकको अनुभवलाई पनि बुझ्नुपर्छ ।

पर्यटन भनेको केवल प्राकृतिक दृश्य देखाउनु होइन, पर्यटकले गन्तव्यमा पुग्दा पाउने समग्र अनुभव हो । बाटोमा पर्यटकलाई समस्या पर्यो भने सहयोग गर्ने हाम्रो व्यवहार कस्तो छ ? एउटा कप चियाको मूल्य अस्वाभाविक रूपमा बढाएर लिने हो कि अप्ठ्यारो परेको पाहुनालाई सहयोग गर्ने हो ? सवारीसाधन बिग्रिँदा स्थानीयले सहयोग गर्ने हो कि थप समस्या सिर्जना गर्ने हो ? पर्यटकलाई बस्ने राम्रो ठाउँ छ कि छैन ? स्थानीय खाना उपलब्ध छ कि छैन ? पाहुनालाई हाम्रो मौलिक कला, संस्कृति, आतिथ्य र जीवनशैली अनुभव गर्ने अवसर छ कि छैन ? यी सबै कुराले पर्यटनको विकास निर्धारण गर्छन् । यदि राराजस्तो महत्वपूर्ण गन्तव्यमा पुगेपछि पनि नेपालगन्ज वा अन्य सहरमा पाइने चाउमिन, चाउचाउ र मम मात्र खानुपर्ने अवस्था छ भने पर्यटकले त्यहाँसम्म पुग्नुपर्ने मौलिक कारण कमजोर हुन्छ । कर्णालीमा आफ्नै स्थानीय खाना, कला, संस्कृति र आतिथ्यको शैली छ । तर पर्यटकले ती कुरा अनुभव गर्न पाएनन् भने हामीले आफ्नो मौलिकतालाई पर्यटन उत्पादनका रूपमा प्रयोग गर्न सकेनौँ भन्ने हुन्छ ।

गुराँस गाउँपालिकाको अवस्था पनि यसैसँग जोडिन्छ । यहाँबाट गुराँसेको लेख स्पष्ट रूपमा देखिन्छ र शनिबारजस्ता दिनमा मात्रै पनि हजारौँ मानिस त्यसतर्फ जाने गरेका छन् । करिब चार–पाँच हजार मानिससम्म त्यहाँ जाने अवस्था भए पनि उनीहरू त्यहाँ पुगेर एक–दुई घण्टा बस्ने, स्थानीय खाना खाने, स्थानीय उत्पादन प्रयोग गर्ने र स्थानीय व्यवसायमा खर्च गर्ने वातावरण अझै पर्याप्त बनेको छैन । धेरै मानिसहरू यहीँबाट चाउचाउ, बिस्कुट, चिउरा, कोल्ड ड्रिंक्स लगायतका सामग्री बोकेर जाने र त्यहाँ खाएर फोहोर छोडेर फर्किने अवस्था देखिन्छ । यसबाट स्थानीय अर्थतन्त्रले अपेक्षित लाभ पाउँदैन र पर्यटकीय क्षेत्र पनि फोहोर हुने समस्या हुन्छ । त्यसैले पर्यटकको संख्या मात्र गन्नुभन्दा उनीहरूलाई त्यहाँ कसरी बसाउने, स्थानीय उत्पादन कसरी खुवाउने, स्थानीय व्यवसायसँग कसरी जोड्ने र उनीहरूको खर्च स्थानीय अर्थतन्त्रमा कसरी राख्ने भन्ने कुरा महŒवपूर्ण छ । यदि हामीले यति ठूलो सम्भावना भएको ठाउँमा पर्यटकलाई सेवा दिन सकेनौँ भने पर्यटनको मर्मअनुसार काम गर्न हामी असफल भएका छौँ भन्ने स्वीकार गर्नुपर्छ ।

कर्णालीको पर्यटनलाई प्रकृति र स्वास्थ्यसँग जोड्ने सम्भावना पनि ठूलो छ । नेपाल नै प्रकृतिसँग जोडिएको महत्त्वपूर्ण देशका रूपमा चिनिन्छ र त्यसमा कर्णालीको सम्भावना अझ विशेष छ । विशेषगरी कर्णालीका पुराना तथा प्राकृतिक रूपमा समृद्ध क्षेत्रमा जडिबुटी, प्राकृतिक स्रोत, हिमाल, जंगल, नदी, ताल र शान्त वातावरण प्रशस्त छन् । गुराँस गाउँपालिकामै करिब १८७ प्रकारका जडिबुटी पाइने अध्ययनबाट देखिएको छ । त्यसलाई केवल जंगलमा पाइने जडिबुटीका रूपमा हेर्नुभन्दा आयुर्वेद उपचार, औषधि प्रशोधन र आरोग्य पर्यटनसँग जोड्न सकिन्छ । गुराँस गाउँपालिकामा पाँच सय शैड्ढयाको अस्पताल निर्माण तथा सञ्चालनको अवधारणा रहेको अवस्थामा त्यसलाई आयुर्वेदिक उपचार र स्थानीय जडिबुटीसँग जोड्न सकियो भने सुर्खेत, बाँके, बर्दियालगायतका जिल्लाबाट समेत स्वास्थ्य सेवाका लागि मानिसलाई गुराँसमा ल्याउन सकिने सम्भावना देखिन्छ । यसले स्वास्थ्य र पर्यटनलाई एकैसाथ जोड्ने नयाँ अवसर सिर्जना गर्न सक्छ ।

दैलेखको गुराँस गाउँपालिका भौगोलिक रूपमा दैलेखमा पर्छ, तर पर्यटनको दृष्टिले हेर्दा यो वीरेन्द्रनगर र कर्णाली प्रदेशको एउटा महŒवपूर्ण प्रवेशद्वारका रूपमा रहेको छ । त्यसैले यसलाई केवल ‘दैलेखको क्षेत्र’ भनेर सीमित दृष्टिले हेर्नुभन्दा वीरेन्द्रनगर हुँदै कर्णालीमा प्रवेश गर्ने पर्यटकले पहिलोपटक अनुभव गर्ने गन्तव्यका रूपमा विकास गर्नुपर्छ । पर्यटन विकासमा भौगोलिक वा प्रशासनिक सीमाको आधारमा प्रतिस्पर्धा गर्ने वा कुनै प्रकारको अहंकार राख्ने हो भने समग्र प्रदेशको विकास प्रभावित हुन्छ । प्रदेश सरकार र संघीय सरकारले दृष्टिकोण फराकिलो बनाएर स्थानीय तहका पर्यटकीय सम्भावनालाई जोडेर हेर्न आवश्यक छ । दैलेखमा जन्मिनुभएका र पर्यटन क्षेत्रको अनुभव भएका सम्बन्धित विज्ञ तथा पर्यटन क्षेत्रका नेतृत्वकर्तासँग पनि यस्ता विषयमा प्रत्यक्ष संवाद गर्न सके अझ राम्रो योजना बनाउन सकिन्छ । मेरो आग्रह भनेको सबैले आफ्नो ठाउँको मात्र होइन, समग्र कर्णालीको पर्यटन सम्भावनालाई प्राथमिकताका साथ हेर्नुपर्छ भन्ने हो ।

गुराँस गाउँपालिकामा रहेको टावर र हिल स्टेसन व्यवस्थापनको विषय पनि यसैसँग जोडिएको छ । त्यहाँ प्रवेशका लागि करिब ५० रूपैयाँ शुल्क लिने व्यवस्था भए पनि त्यसको व्यवस्थापन स्थानीय तहको प्रत्यक्ष मातहतमा छैन । स्थानीय तहले लामो समयदेखि त्यस क्षेत्रको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी आफूलाई दिन माग गर्दै आएको छ । विगतमा त्यहाँ संकलित रकमको सदुपयोगका विषयमा प्रश्न उठेको र केही रकमसम्बन्धी अनियमितताको छानबिन गर्नुपर्ने अवस्था रहेको कुरा पनि हामीले उठाएका छौँ । स्थानीय तहलाई जिम्मेवारी दिइयो भने हामी त्यसको राम्रो व्यवस्थापन गर्न, पर्यटकको सुविधा बढाउन र प्राप्त रकमलाई त्यही क्षेत्रको विकासमा प्रयोग गर्न चाहन्छौँ । यदि पार्किङ वा प्रवेश शुल्कजस्ता साना शुल्क लिनुपर्ने आवश्यकता छ भने सबै सरोकारवालासँग सहमति गरेर, पारदर्शी रूपमा र त्यसको रकम पर्यटकीय क्षेत्रको विकासमै प्रयोग हुने सुनिश्चिततासहित लिन सकिन्छ । तर शुल्क उठाएर त्यसको सदुपयोग नहुने हो भने त्यसको विरोध र निगरानी पनि आवश्यक हुन्छ ।

‘वास्तविक नेपाल हेर्न कर्णाली जाऔँ’ भन्ने अवधारणालाई अझ व्यापक अभियानका रूपमा अघि बढाउन आवश्यक छ । कर्णालीका स्थानीय तहहरूले आफूभित्र भएका पर्यटकीय संरचना, प्राकृतिक गन्तव्य र रैथाने उत्पादनलाई प्राथमिकता दिएर प्रचार–प्रसार गर्नुपर्छ । त्यसपछि जिल्ला समन्वय समितिले जिल्लाभरिका सम्भावनालाई एकीकृत गर्नुपर्छ र प्रदेश सरकारले सातवटै जिल्लाका स्थानीय तहमा रहेका पर्यटन सम्भावनालाई एउटै प्याकेज र ब्रान्डका रूपमा जोड्नुपर्छ । स्थानीय तहको बजेट मात्रले ठूला पर्यटकीय पूर्वाधार निर्माण गर्न सम्भव हुँदैन । त्यसैले प्रदेश र संघीय सरकारले पनि स्थानीय तहसँग समन्वय गरी सम्भावनायुक्त पर्यटन क्षेत्रमा आवश्यक लगानी गर्नुपर्छ । स्थानीय तहले पहिचान गर्ने, जिल्ला तहले समन्वय गर्ने र प्रदेश तथा संघले आवश्यक स्रोत तथा नीतिगत सहयोग गर्ने हो भने कर्णालीको पर्यटनलाई समग्र रूपमा अघि बढाउन सकिन्छ ।

अन्ततः पर्यटनलाई संस्थागत र दीर्घकालीन रूपमा विकास गर्न दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । पर्यटन व्यवस्थापनसम्बन्धी पूर्ण पाठ्यक्रम सञ्चालन गर्न सकिने अवस्था भए शैक्षिक संस्थाले त्यसलाई प्राथमिकता दिनुपर्छ । पूर्ण पाठ्यक्रम सम्भव नभए पनि पर्यटन तथा टुर म्यानेजमेन्टलाई अतिरिक्त विषय वा छोटो अवधिको पाठ्यक्रमका रूपमा अध्ययन गराउन सकिन्छ । कर्णालीका युवालाई टुर गाइड, टुर म्यानेजमेन्ट, आतिथ्य सत्कार, होटल व्यवस्थापन, स्थानीय खाना, डिजिटल पर्यटन प्रचार र पर्यटक सेवासम्बन्धी सीप दिन सके उनीहरूलाई आफ्नै ठाउँमा रोजगारी तथा व्यवसायसँग जोड्न सकिन्छ । यसरी पर्यटनलाई केवल प्राकृतिक स्रोतमा आधारित क्षेत्र नभइ ज्ञान, सीप र व्यवसायसँग जोडिएको उद्योगका रूपमा विकास गर्नुपर्छ ।


अजित कुमार कर्ण (सचिव–उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश)

कर्णाली प्रदेशको पर्यटन विकासलाई व्यवस्थित र दीर्घकालीन रूपमा अघि बढाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णाली प्रदेशको १० वर्षे पर्यटन गुरुयोजना तयार गरी त्यसैका आधारमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । गुरुयोजनामा कर्णालीका विभिन्न पर्यटकीय गन्तव्य, पर्यटक आकर्षणका केन्द्र तथा सम्भावित नयाँ गन्तव्यहरूको पहिचान गरी तिनलाई कसरी प्रवद्र्धन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राखिएको छ । त्यसैअनुसार पाँच वर्षे कार्ययोजना तथा विभिन्न विस्तृत कार्यक्रमहरू तयार गरेर स्थानीय तह, स्थानीय सरोकारवाला समूह, सामुदायिक वन, पर्यटन व्यवसायी तथा सम्भावित पर्यटन क्षेत्रसँग समन्वय गर्दै काम अघि बढाइएको छ । प्रदेश सरकारको भूमिका केवल पूर्वाधार निर्माणमा मात्र सीमित नभइ आवश्यक नीति निर्माण, सहजीकरण, प्रवद्र्धन, नियमन तथा निजी र स्थानीय क्षेत्रलाई पर्यटनमा जोड्ने रहेको छ । संघ, प्रदेश र स्थानीय तीनै तहबीच समन्वय गरेर पर्यटन क्षेत्रका समस्या पहिचान गर्ने र आगामी दिनमा समाधान गर्दै जाने गरी नीतिगत तथा कार्ययोजनागत तहमा काम भइरहेको छ ।

कर्णालीको पर्यटन प्रवद्र्धनमा डिजिटल माध्यमको प्रयोगसम्बन्धी काम पनि यसअघि नै सुरु भइसकेको छ । प्रदेश सरकारले विभिन्न पर्यटकीय गन्तव्यसम्बन्धी डकुमेन्ट्रीहरू निर्माण गरेको छ भने ‘गन्तव्य कर्णाली’ नामको मोबाइल एपसमेत निर्माण गरिएको थियो । उक्त एपलाई अहिले थप अद्यावधिक गर्ने काम भइरहेको छ । अपडेटेड संस्करणमा कर्णालीका पर्यटकीय गन्तव्य कहाँ छन्, त्यहाँ कसरी पुग्न सकिन्छ, कति दूरीमा छन्, कस्ता होटल तथा हस्पिटालिटी सुविधा उपलब्ध छन्, होटलको शुल्क कति छ र पर्यटकले आवश्यक सेवा कहाँ पाउन सक्छन् भन्ने जानकारी समेटिनेछ । वेबसाइट तथा अन्य डिजिटल माध्यमबाट पनि रारा ताल, शे–फोक्सुण्डो, ग्रेट हिमालयन ट्रेल, हिल स्टेसन तथा अन्य पर्यटकीय गन्तव्यको जानकारी प्रवाह गर्ने काम भइरहेको छ । यसले पर्यटकलाई यात्रा अघि नै आवश्यक सूचना प्राप्त गर्न सहज बनाउने अपेक्षा छ ।

पर्यटकीय क्षेत्रमा प्रवेश वा पार्किङ शुल्क उठाउने विषयमा पनि स्पष्ट र पारदर्शी व्यवस्था आवश्यक छ । उदाहरणका रूपमा सल्यानको कुपिन्डे तालमा म आफैँ अनुगमनका क्रममा जाँदा शुल्क तिर्नुपर्ने अवस्था आएको थियो । त्यस विषयमा अध्ययन गर्दा स्थानीय तहले निर्णय गरेर सम्झौतामार्फत शुल्क उठाउने व्यवस्था गरेको देखियो । तर उक्त सम्झौतामा मिति तथा अवधि स्पष्ट नभएको विषय पनि देखियो । स्थानीय सरकारको अधिकार क्षेत्रसँग सम्बन्धित विषय भएपनि पर्यटनसँग जोडिएको भएकाले यस्ता विषयमा प्रदेश सरकारले आवश्यक सहजीकरण गर्न सक्छ । पर्यटकीय गन्तव्यबाट शुल्क उठाउने हो भने त्यसको कानुनी आधार, अवधि, पारदर्शिता र उठेको रकमको सदुपयोग स्पष्ट हुनुपर्छ । पर्यटकबाट शुल्क लिने तर त्यसअनुसार सेवा सुविधा र व्यवस्थापन प्रभावकारी नहुने अवस्था सिर्जना हुनु हुँदैन ।

प्रदेश सरकारले कर्णालीको पर्यटन विकासका लागि ‘शुद्ध कर्णाली’ वा प्रकृति तथा मौलिकतासँग जोडिएको कर्णालीको पहिचानलाई प्रवद्र्धन गर्ने अवधारणालाई पनि अघि सारेको छ । कर्णालीको प्राकृतिक वातावरण, स्थानीय उत्पादन, खाना, संस्कृति र जीवनशैलीलाई पर्यटनसँग जोडेर विशिष्ट पहिचान निर्माण गर्न खोजिएको छ । कर्णालीमा पर्यटकको संख्या बढाउनु मात्र उद्देश्य नभइ उनीहरूको बसाइ अवधि र खर्चसमेत बढाउने लक्ष्य राखिएको छ । सन् २०३० सम्म कर्णालीमा करिब १५ लाख पर्यटक पु¥याउने तथा विदेशी पर्यटकको संख्या कम्तीमा दुई लाखसम्म पु¥याउने लक्ष्य राखिएको छ । हालको पर्यटक बसाइ अवधिलाई समेत उल्लेख्य रूपमा बढाएर आन्तरिक पर्यटकलाई लामो समय कर्णालीमा बस्ने वातावरण बनाउने र विदेशी पर्यटकको बसाइलाई पनि थप विस्तार गर्ने लक्ष्यअनुसार विभिन्न पर्यटकीय आकर्षण र गतिविधि विकास गर्ने योजना छ । पर्यटकले गर्ने खर्चलाई समेत गुणस्तरीय पर्यटनसँग जोडेर बढाउने लक्ष्य छ ।

कर्णालीको पर्यटन विकासमा हवाई पहुँच विस्तार पनि महŒवपूर्ण विषय हो । सुर्खेतबाट माथिल्लो कर्णालीका पर्यटकीय क्षेत्रमा प्रत्यक्ष हवाई उडानको सम्भावना विस्तार गर्न सकिएमा पर्यटकको पहुँच सहज हुन्छ । रारा तथा अन्य उच्च हिमाली गन्तव्यमा सुर्खेतबाट प्रत्यक्ष उडान सञ्चालन गर्न सकिएमा पर्यटक सुर्खेतमा आउने, यहाँको होटल तथा हस्पिटालिटी क्षेत्रमा बस्ने र त्यसपछि माथिल्लो क्षेत्रमा जाने वातावरण बन्न सक्छ । नागरिक उड्डयनको क्षेत्र संघीय सरकारसँग बढी सम्बन्धित भएकाले प्रदेश सरकारले संघीय मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ । सुर्खेत विमानस्थलको विस्तार, निजी विमान कम्पनीको सहभागिता र निजी क्षेत्रको लगानी बढाउने विषयमा पनि आगामी दिनमा थप पहल गरिनेछ ।

पर्यटनको गुणस्तर सुधार गर्न दक्ष जनशक्ति उत्पादनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ । पर्यटन क्षेत्रमा काम गर्ने गाइड, कुक, होटल कर्मचारी, विभिन्न भाषा तथा संस्कृतिसम्बन्धी सेवा प्रदायक, प्याराग्लाइडिङ, ¥याफ्टिङ तथा सुरक्षा सेवामा काम गर्ने जनशक्तिलाई आवश्यक सीप प्रदान गर्न तालिम कार्यक्रम सञ्चालन गर्ने योजना छ । विशेषगरी माथिल्लो कर्णालीका होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुर्खेतमा ल्याएर प्रयोगात्मक तथा व्यवहारिक तालिम दिने र आवश्यक सीप हासिल गरेपछि पुनः आफ्नै क्षेत्रमा गएर काम गर्ने वातावरण बनाउन सकिन्छ । यसबाट पर्यटकले पाउने सेवा, आतिथ्य र समग्र अनुभवमा सुधार आउने अपेक्षा छ । पर्यटन विकासका लागि पूर्वाधारसँगै दक्ष जनशक्ति पनि उत्तिकै आवश्यक भएकाले यसलाई गुरुयोजनामै महत्वपूर्ण विषयका रूपमा राखिएको छ ।

कर्णालीमा पर्यटकलाई अन्य प्रदेशको तुलनामा फरक अनुभव दिन सक्नुपर्छ । नेपालमा ठूलो हिस्सा प्रकृतिमा आधारित पर्यटनसँग जोडिएको छ । यदि कर्णालीले पनि अरू गन्तव्यले दिने उस्तै अनुभव मात्र दिने हो भने पर्यटक यहाँ आउनुपर्ने नयाँ कारण कम हुन्छ । त्यसैले कर्णालीका धार्मिक तथा सांस्कृतिक स्थल, खस सभ्यता, स्थानीय जीवनशैली, रैथाने उत्पादन, जैविक तथा प्राकृतिक उत्पादन र मौलिक खानालाई पर्यटनसँग जोड्न आवश्यक छ । ‘मूल्यवान कर्णाली’ तथा ‘अर्गानिक कर्णाली’जस्ता पहिचानलाई पनि यही उद्देश्यसँग जोडेर प्रवद्र्धन गर्न सकिन्छ । कर्णालीको स्थानीय खाना, प्राकृतिक उत्पादन र मौलिक संस्कृतिलाई सही ढंगले प्रचार गर्न सके पर्यटकले अन्य ठाउँमा नपाउने फरक अनुभव यहाँ प्राप्त गर्न सक्छन् ।

त्यसैगरी कर्णालीको पर्यटनलाई देशभित्र र देशबाहिरका अन्य गन्तव्य तथा संस्थासँग जोड्ने सम्भावनालाई पनि हामीले अघि बढाएका छौँ । प्रदेश सरकारले अन्य प्रदेशसँग भगिनी सम्बन्ध तथा सहकार्यका लागि समझदारी गर्ने अभ्यास सुरु गरेको छ । आगामी दिनमा स्थानीय तहले समेत भारत, चीन वा अन्य देशका उपयुक्त स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गरी पर्यटन, संस्कृति, स्थानीय उत्पादन र अनुभव आदान–प्रदान गर्न सक्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ । विशेषगरी चीनतर्फका नाका, हिल्सा तथा कैलाश–मानसरोवरसँग जोडिने सम्भावनालाई ध्यानमा राखेर छोटो र सहज पर्यटन मार्ग विकास गर्न संघीय सरकार, परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोग तथा सम्बन्धित दूतावासमार्फत कर्णालीको प्रचार–प्रसार बढाउने नीति पनि लिइएको छ । यसका साथै निजी क्षेत्रलाई पर्यटन विकासमा अझ बढी सहभागी गराउने, अन्तर्राष्ट्रिय बजारसँग कर्णालीलाई जोड्ने र आवश्यक लगानी भित्र्याउने विषयमा पनि काम गर्नुपर्नेछ । पर्यटन सरकारको मात्र जिम्मेवारी होइन । सरकारको काम नीति बनाउने, सहजीकरण गर्ने, पूर्वाधार र सूचना प्रणाली विकास गर्ने तथा आवश्यक नियमन गर्ने हो भने निजी क्षेत्रले सेवा, लगानी, टुर प्याकेज, होटल, गाइड र अन्य पर्यटन व्यवसायलाई विस्तार गर्न सक्छ । स्थानीय समुदायले आफ्नो मौलिक उत्पादन, संस्कृति र सम्पदालाई पर्यटनसँग जोड्न सक्छ । यी सबै पक्षबीच प्रभावकारी समन्वय भयो भने मात्र कर्णालीको पर्यटनलाई दीर्घकालीन र गुणस्तरीय रूपमा विकास गर्न सकिन्छ ।

अन्ततः कर्णालीसँग भएका प्राकृतिक, धार्मिक, सांस्कृतिक र स्थानीय मौलिकतालाई एउटै दृष्टिकोणबाट प्रवद्र्धन गर्न आवश्यक छ । कर्णालीलाई केवल एकपटक घुमेर फर्किने गन्तव्य नभइ लामो समय बस्न, अनुभव गर्न र स्थानीय अर्थतन्त्रसँग जोडिन सकिने पर्यटन प्रदेशका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो । १० वर्षे गुरुयोजना, डिजिटल सूचना प्रणाली, हवाई तथा सडक पहुँच, दक्ष जनशक्ति विकास, स्थानीय उत्पादनको प्रवद्र्धन, अन्तरप्रदेश तथा अन्तर्राष्ट्रिय सहकार्य र निजी क्षेत्रको सहभागितालाई एकीकृत रूपमा अघि बढाउन सके कर्णालीले पर्यटनबाट उल्लेख्य आर्थिक तथा सामाजिक लाभ लिन सक्छ । यसका लागि संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्र र स्थानीय समुदाय सबैको साझा प्रयास आवश्यक छ ।


ललित बुढा (पत्रकार)

कर्णालीमा पर्यटनको सम्भावना अत्यन्तै ठूलो भएपनि त्यसअनुसारको लाभ लिन नसकिरहेको अवस्थालाई हामीले गम्भीर रूपमा हेर्न आवश्यक छ । रारा र से–फोक्सुण्डोजस्ता महत्वपूर्ण ताल, पचाल झरना, कर्णाली नदी, डोल्पा, सिंजा सभ्यता, पञ्चकोशी, काक्रेबिहार र चन्दननाथ मन्दिरलगायत प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले कर्णालीलाई पर्यटनका दृष्टिले विशिष्ट बनाएका छन् । तर यति धेरै सम्भावना हुँदाहुँदै पनि कर्णालीमा अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न नसक्नुका कारण के हुन् र पर्यटन क्षेत्रको विकासका लागि अब के गर्न आवश्यक छ भन्ने विषयमा गम्भीर विमर्श हुनुपर्छ । अघिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार आन्तरिक तथा बाह्य गरी करिब चार लाख ९६ हजार पर्यटक कर्णाली आएका थिए, जसमा विदेशी पर्यटकको संख्या ३,६३६ जना मात्र थियो । यसले सम्भावना र वास्तविक उपलब्धिबीच अझै ठूलो दूरी रहेको देखाउँछ । पर्यटनमा लगानी गर्दा अग्ला डाँडामा टावर निर्माण गर्ने वा मन्दिर र प्रवेशद्वार निर्माणमा मात्र बजेट केन्द्रित गर्ने प्रवृत्तिले अपेक्षित पर्यटन विकास सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठाउन आवश्यक छ । स्थानीय तहले पर्यटन गुरुयोजना निर्माण, दक्ष जनशक्ति उत्पादन, आतिथ्य सत्कारको क्षमता विकास तथा स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा पनि पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ ।

त्यसैगरी, रारालाई कर्णालीको प्रमुख पर्यटन ब्रान्डका रूपमा प्रस्तुत गरिए पनि त्यहाँसम्म पुग्ने पूर्वाधार र सडकको अवस्थाले पर्यटकलाई आकर्षित गर्नुको सट्टा निरुत्साहित गर्न सक्ने अवस्था देखिन्छ । डिजिटल युगमा पर्यटकीय गन्तव्यको जानकारी, दूरी, पहुँच, आकर्षण र आवश्यक सूचनाहरू मोबाइल तथा डिजिटल माध्यमबाट सहज रूपमा उपलब्ध गराउने अभ्यासलाई कर्णालीले पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता छ । पर्यटन व्यवसायीले भोगिरहेका नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्न सरकार र व्यवसायीबीच निरन्तर समन्वय आवश्यक छ भने संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्र कर्णालीको समग्र पर्यटन विकासलाई गति दिन सकिन्छ । अन्ततः कर्णालीसँग जोडिएको गरिबी, अभाव र विकटताको बिम्बलाई परिवर्तन गर्न पर्यटन क्षेत्र महŒवपूर्ण आधार बन्न सक्ने भएकाले यसको विकास र प्रवद्र्धनमा लगानी, साझा पहल र दीर्घकालीन प्रतिबद्धता आवश्यक छ । सत्रमा उठेका विचार, निष्कर्ष र सुझावले कर्णालीको पर्यटन विकासको आगामी खाका निर्माण गर्न मार्गदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।


(ऋति फाउन्डेसनले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन् ।) 

प्रकाशित मितिः   १० आश्विन २०८३, शनिबार ०५:०४