रात्रीकालीन सवारी सञ्चालनमा रोक

सुर्खेत: कर्णाली प्रदेशका १० वटै जिल्लामा रातिको समयमा सवारी साधन गुड्न रोक लगाइएको छ । वर्षा र त्यसले निम्त्याउने जोखिमको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।

बिहीवार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले शुक्रवार बेलुका ६ देखि बिहान ६ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको मुख्यमन्त्री मंगलबहादुर शाही शाहीले जानकारी दिए । बैठकले सम्भावित विपद्का बेला तत्काल उद्धार तथा राहत परिचालन गर्न सुरक्षा निकाय, स्थानीय प्रशासन र स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो ।

कर्णाली प्रदेश सरकारले सम्भावित बाढी, पहिरो र डुबानको जोखिममा सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन र आवश्यक परे तत्काल उद्धार तथा राहत परिचालन गर्न निर्देशन दिएको हो ।

मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय बढाएर विपद् प्रतिकार्यको तयारी गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणलाई प्राथमिकतामा राख्दै स्थानीय तहदेखि प्रदेशस्तरसम्मको विपद् प्रतिकार्य संयन्त्रलाई समन्वयात्मक रूपमा परिचालन गर्ने जनाएको छ ।

प्रकाशित मितिः   ९ आश्विन २०८३, शुक्रबार १६:४४