‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रमः एक हजारभन्दा बढी लाभान्वित

सुर्खेत: कर्णाली प्रदेश सरकारको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुरुको आर्थिक वर्षबाट सरकारले प्राथमिकतामा राखेको उक्त कार्यक्रमले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको हो । यो वर्ष पनि उक्त कार्यक्रम कार्यान्वयनमा गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिफल राम्रो आएपछि कार्यक्रमले निरन्तरता पाएको मन्त्रालयका शैक्षिक विकास तथा सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको उनले जनाए । आर्थिक वर्ष २०७५/०७६ देखि सुरु भएको थियो । कार्यक्रमबाट प्रदेशका १० जिल्लाका एक हजार ३१ छोरी–बुहारी लाभान्वित भएको शिक्षा निर्देशनालय सुर्खेतले जनाएको छ । कार्यक्रम कार्यान्वयन निर्देशनालयले गरिरहेको छ ।

प्रत्येक वर्ष दिइने छात्रवृत्तिबाट प्रदेशका दशवटै जिल्लाका छात्रा लाभान्वित भएको निर्देशनालयका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख धनबहादुर विष्टले बताए । प्राविधिक शिक्षामा छोरी–बुहारीको सहभागिता बढाउन, छोरी–बुहारीलाई आत्मनिर्भर बनाउन र प्रदेशमा सीपयुक्त जनशक्तिको अभावलाई कम गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा कार्यविधिअनुसार सञ्चालन हुँदै आएको उनले जानकारी दिए । उनका अनुसार छनोट भएकालाई अध्ययन अवधिभर सरकारले एक पटकमा ५० हजार दिने गरेको छ । ‘हामीले यो कार्यक्रमको प्रभावकारितामाथि अध्ययन गरेर प्रतिवेदनसमेत तयार गरेका छौँ’, उनले भने, ‘छात्रवृत्ति पाएका छोरी–बुहारी रोजगारीमा संलग्न छन्, प्राविधिक शिक्षा भएकाले कोही पनि बेरोजगार बस्नुपर्ने अवस्था छैन, कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाएको छ ।’

हाल कर्णालीका नौ जिल्लाबाट १०–१० जना र सुर्खेतबाट २० जना छोरी– बुहारीले प्रत्येक वर्ष छात्रवृत्ति पाइरहेका छन् । कार्यविधिअनुसार छात्रवृत्ति रकम २४ हजारदेखि एक लाखसम्म दिने गरिएको छ । छात्रवृत्ति जिल्लाको जनसंख्या र भूगोलको आधारमा कोटा निर्धारण गरिएको जनाइएको छ । प्रदेश सरकारले सुरुको आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । जसमा एक करोड ३२ लाख ८८ हजार खर्च भएको थियो । उक्त आर्थिक वर्षमा एक सय ५० छोरी र बुहारी छात्रवृत्तिमा समेटिएका थिए । पछिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशभर एक सय १० छोरी र बुहारीले छात्रवृत्ति पाएका थिए । सो आर्थिक वर्षमा सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ७६ लाख १६ हजार आठ सय कार्यान्वयन भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ४१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । उक्त वर्ष एक करोड ३० लाख ७१ हजार बजेट छात्रवृत्तिमा खर्च गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा दुई सय ४१ जनाले छात्रवृत्ति पाएका थिए । उक्त वर्ष एक करोड २५ लाख रकम छुट्याइएको थियो । आर्थिक वर्ष २०७९/०८० मा एक सय ८६ जना र आव २०८०/८१ मा एक सय ८६ जनाले छात्रवृत्ति पाए । गत आर्थिक वर्ष २०८१/०८२ मा तीन करोड सात लाख सात हजार ६ सय छात्रवृत्तिमा खर्च भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा पनि कार्यक्रम कार्यान्वयन भयो । उक्त वर्ष पनि एक सय १७ जनाले छात्रवृत्ति पाएका थिए । हरेक वर्ष सञ्चालन भइरहेको कार्यक्रमले यस पटक पनि निरन्तरता पाएको छ । कार्यक्रम लागू भएदेखि हालसम्म छात्रवृत्ति पाउनेमा उच्च शिक्षा प्राविधिक तर्फ २०८, सीमान्तकृततर्फ ६ जना, उच्च शिक्षा अपाङ्गतातर्फ एक सय ४५ र उच्च शिक्षा दलिततर्फ दुई सय ४६, आन्दोलन र जनयुद्धका सहिदका लागि उच्च शिक्षा छात्रवृत्ति पाँच तथा जेहेन्दार छात्रवृत्ति २० जनाले प्राप्त गरेका छन् । सरकारले प्राविधिक उच्च शिक्षाअन्तर्गत छोरी बुहारी छात्रवृत्ति, उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा शहीद भएका सन्ततिका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ । प्रदेश सरकारको प्रभावकारी मानिएको सबैभन्दा बढी यो कार्यक्रम हो । यसको प्रतिफल पनि राम्रो देखिएको छ ।

प्रकाशित मितिः   ८ आश्विन २०८३, बिहीबार १६:३४