बढ्दो मानसिक रोग

सुर्खेत: कर्णाली प्रदेश सरकारले मानसिक रोग न्यूनिकरणलाई पनि प्राथमिकतामा राख्न थालेको छ । अघिल्ला वर्षहरूमा अन्य कार्यक्रहरूमा जोडेर मानसिक रोग शब्द मात्र राख्ने गरिएको थियो । यो वर्ष प्याकेजको रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

पछिल्लो समयमा कर्णाली प्रदेशमा मानसिक रोगीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । मानसिक रोगको बेलैमा उपचार सेवा प्रवाह नहुँदा यो आत्महत्यामा रूपान्तरण हुन थालेपछि प्रदेश सरकारले यसको रोगथामका लागि कार्यक्रम ल्याएको छ । मानसिक रोग रोगथामका लागि विभिन्न सचेतनाका कार्यक्रम राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मानसिक रोग, यसले पार्ने असर र समाधानका बारेमा प्याकेजका कार्यक्रम राखिएको मन्त्रालयका प्रवक्ता एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर योजना कार्यान्वयन गर्न लागेको छ । योग, ध्यान जीवनशैली परिवर्तन तथा मनोसामाजिक स्वास्थ्य प्रवद्र्धन प्याकेजका कार्यक्रम राखिएको शाहीले जानकारी दिए । योग ध्यानका माध्यमबाट पनि मानसिक समस्या न्यूनिकरण गर्न लागिएको जनाइएको छ ।

कर्णालीमा आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा छैन । गर्भवती महिलाले प्रसूति हुन नसकेरै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । सामान्य स्वास्थ्य समस्यामा पनि नागरिकमा जनचेतनाको कमी र समयमै उपचार सेवा नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता पनि उस्तै छ । तर, पछिल्लो समय कर्णालीमा मानसिक स्वास्थ्य समस्या पनि एक गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा परेकाले प्रदेश सरकारले यसको न्यूनिकरणमा जोड दिएको छ । विभिन्न संघ संस्थाहरूसँग मिलेर योजना सचेतनाका कार्यक्रम कार्यान्वयन गर्नेगरी योजना अघि बढाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मानसिक रोगले समाजलाई थप समस्याग्रस्त बनाइरहेको भन्दै सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले यसको न्यूनिकरणका लागि विद्यालयदेखि कार्यालयहरूसम्मका योजना कार्यान्वयन गरिने जनाए । मानसिक स्वास्थ्य समस्याको उपचार आमनागरिकको पहँुचमा पुग्नेगरी योजना कार्यान्वयन गरिने उनको भनाइ छ ।

मानसिक रोगको उपचार सबैको पहुँचमा पुग्न सकेको छैन । कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुई जना मनोरोग विशेषज्ञबाहेक अन्य कुनै पनि अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा पाइँदैन । भौगोलिक विकटता र आर्थिक समस्याका कारण सबै नागरिक प्रदेश अस्पताल नै पुगेर उपचार सेवा लिन सक्ने अवस्था नरहेको मनोपरामर्शदाता रविन थापाले बताए । दिनप्रतिदिन मानसिक रोगका बिरामी बढ्दो क्रममा रहेको पाइएको उनको भनाइ छ । कर्णाली प्रदेश अस्पतालमा हरेक दिन ४० देखि ५० जनासम्म मानसिक स्वास्थ्य समस्या भएका बिरामी आउने गरेका छन् । प्रदेश अस्पतालमा दिनप्रतिदन बिरामीको चाप बढ्दै गएको छ । मानसिक स्वास्थ्य चिकित्सक डा. सुशील समदर्शीले कर्णालीमा वयस्क र बालबालिकामा मानसिक स्वास्थ्यको समस्या बढ्दै जानु चिन्ताजनक भएको बताएका छन् । उनले कर्णालीको भौगोलिक कठिनाइ, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश, जातीय विभेद, छाउपडी, लैङ्गिक हिंसाजस्ता समस्याले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको जानकारी दिए । लागुऔषधको दुव्र्यसन, पारिवारिक कलह, हिंसा र दुव्र्यवहारजस्ता कारण हुने मानसिक समस्याका साथै छारे रोग, माइग्रेन, टाउको दुख्ने, शरीर दुख्ने, बेहोस हुनेजस्ता समस्या कर्णालीमा बढी देखिने गरेको छ ।

गर्भवती तथा सुत्केरी महिलाहरूमा पनि यस्तो समस्या देखिने गरेको छ । कर्णालीमा वयष्क जनसंख्याको ११.७ प्रतिशतमा विभिन्न खालका मानसिक स्वास्थ्य समस्या देखिएको डा. समदर्शीको भनाइ छ । प्रदेश अस्पतालमा अहिले भ्रमजन्य रोगहरूको उपचारका लागि पाँच बेडको मानसिक वाड व्यवस्थापन गरिएको भएपनि व्यवस्थित भने बन्न सकेको छैन । अहिलेसम्म कर्णालीका ७९ वटा पालिकामध्ये केहीले मात्र मानसिक स्वास्थ्यको उपचार सेवा सामान्य रूपमा दिइरहेका छन् । उनीहरूले दरबन्दी र बजेट नहुँदा सेवा सहज र प्रभावकारी रूपमा दिन नसकेको जनाएका छन् । प्रदेश सरकारले भयावह बन्न थालेपनि मानसिक रोगको न्यूनिकरणको योजना ल्याएको छ । सरकारले ल्याएको उक्त योजना प्रभावकारी र पर्याप्त भने छैन ।

प्रकाशित मितिः   ५ आश्विन २०८३, सोमबार ०५:०५