सोवा रिग्पा
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘सोवा रिग्पा’ सत्रमा कर्णालीका हिमाली जिल्लामा प्रचलित सोवा रिग्पा चिकित्सा प्रणाली, यसको ऐतिहासिक तथा सांस्कृतिक आधार, उपचार पद्धति, जडिबुटीको प्रयोग र वर्तमान अवस्थाका विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण राजेन्द्र विष्टले गरेका थिए भने सोवा रिग्पा चिकित्सक पेमा यांकर वक्ताका रूपमा सहभागी भएका थिए । छलफलमा सोवा रिग्पा र आम्चीबीचको सम्बन्ध, नाडी, जिब्रो तथा पिसाब परीक्षणजस्ता परम्परागत निदान विधि, कपिङ, ब्लडलेटिङ तथा अन्य उपचार पद्धति, हिमाली, पहाडी र तराई क्षेत्रका जडिबुटीको प्रयोग तथा यस चिकित्सा प्रणालीको ज्ञान र अभ्यासलाई संरक्षण गर्ने विषयमा चर्चा गरिएको थियो । साथै, नेपालमा सोवा रिग्पाको संस्थागत पहिचान, शिक्षा, नियमन, अनुसन्धान तथा सरकारी स्वास्थ्य प्रणालीसँगको सम्बन्धका विषयमा पनि विचार आदानप्रदान गरिएको थियो । वक्ता पेमा यांकरले हुम्लाको नाम्खा क्षेत्रमा सोवा रिग्पाको अभ्यास, आफ्नो अध्ययन तथा अनुभव साझा गर्दै यसको संरक्षण र प्रवद्र्धनका लागि सरकारी मान्यता, रोजगारीका अवसर र अध्ययन–अनुसन्धानको विस्तार आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

सोवा रिग्पा हाम्रो हिमाली समाजमा पुस्तौँदेखि अभ्यास हुँदै आएको परम्परागत चिकित्सा प्रणाली हो । विशेषगरी कर्णालीका हुम्ला, डोल्पा, मुगुजस्ता उच्च हिमाली क्षेत्रमा यसको अभ्यास लामो समयदेखि हुँदै आएको पाइन्छ । हाम्रा पुर्खाहरूले पुस्तौँदेखि आफ्नो अनुभव, ज्ञान र सीपका आधारमा विभिन्न रोगको उपचार गर्दै आएका छन् । आज पनि ती समुदायमा परम्परागत अम्चीहरूले स्थानीय मानिसको विश्वास र भरोसाका साथ उपचार गरिरहेका छन् । कतिपय पुराना अम्चीहरू आधुनिक शिक्षा वा नेपाली भाषासँग धेरै परिचित नभए पनि उनीहरूसँग पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको महŒवपूर्ण चिकित्सकीय ज्ञान र अनुभव छ । पछिल्लो समय भने नयाँ पुस्ताका व्यक्तिहरूले पनि औपचारिक रूपमा सोवा रिग्पाको अध्ययन गरेर यस क्षेत्रमा प्रवेश गरिरहेका छन् । त्यसैले यसलाई केवल पुरानो उपचार पद्धतिका रूपमा नभइ ज्ञान, सीप र अनुभवको निरन्तरताका रूपमा पनि हेर्न आवश्यक छ ।
सोवा रिग्पा र अम्चीबीचको फरक बुझ्नु पनि महत्वपूर्ण छ । धेरै ठाउँमा सोवा रिग्पालाई नै अम्ची भन्ने वा अम्चीलाई नै सोवा रिग्पा भन्ने गरेको सुनिन्छ । वास्तवमा अम्ची भनेको सोवा रिग्पा चिकित्सा प्रणालीअनुसार उपचार गर्ने चिकित्सक वा स्वास्थ्यकर्मी हुन् भने सोवा रिग्पा भनेको समग्र चिकित्सा प्रणाली हो । यस प्रणालीमा रोग पहिचान गर्ने आफ्नै परम्परागत विधि छन् । नाडी परीक्षण, जिब्रो हेर्ने, पिसाबको रङ, गन्ध, फिँज तथा अन्य विशेषताहरूको अवलोकन गरेर बिरामीको अवस्था पहिचान गर्ने अभ्यास यसमा पाइन्छ । बालबालिकाको हकमा उनीहरूले देखाउने विभिन्न शारीरिक संकेत तथा व्यवहारलाई समेत रोग पहिचानका आधारका रूपमा लिइन्छ । उपचारका क्रममा कपिङ, रक्तमोक्षण, मोक्सिबसन अर्थात् मोक्सा तथा मालिसजस्ता विधिहरूको प्रयोग गरिन्छ । यी विधिहरू केवल उपचारका प्रविधि मात्र होइनन्, लामो समयको अभ्यास र अनुभवबाट विकसित भएका परम्परागत ज्ञानका हिस्सा पनि हुन् । सोवा रिग्पाको अर्को महत्वपूर्ण पक्ष जडिबुटी हो । हिमाली क्षेत्रमा पाइने विभिन्न औषधीय वनस्पतिहरू यसको उपचारमा प्रयोग हुँदै आएका छन् । केही जडिबुटी पहाडी क्षेत्रबाट पनि प्राप्त हुन्छन् र आवश्यकता तथा उपचारअनुसार विभिन्न वनस्पतिहरूको प्रयोग गरिन्छ । विगतमा केही पशुजन्य तथा वन्यजन्तुबाट प्राप्त सामग्रीसमेत परम्परागत उपचारमा प्रयोग हुने गरेको इतिहास भए पनि अहिले वन्यजन्तु संरक्षण तथा कानुनी व्यवस्थाका कारण त्यस्ता सामग्रीको प्रयोग गर्न मिल्दैन । त्यसको विकल्पमा विभिन्न औषधीय जडिबुटी तथा वनस्पतिबाट आवश्यक औषधि तयार गर्न सकिने सम्भावना छ । यसले सोवा रिग्पालाई संरक्षण गर्ने क्रममा जैविक विविधता र वन्यजन्तु संरक्षणलाई पनि सँगसँगै ध्यान दिनुपर्ने आवश्यकता देखाउँछ ।
मेरो विचारमा सोवा रिग्पालाई केवल बिरामीको उपचार गर्ने एउटा परम्परागत पद्धतिका रूपमा सीमित गर्नु हुँदैन । यो हिमाली समुदायको जीवनशैली, संस्कृति, स्थानीय ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक परम्परासँग जोडिएको विषय हो । तर यति महŒवपूर्ण ज्ञान हुँदाहुँदै पनि यसको व्यवस्थित दस्तावेजीकरण, अनुसन्धान र संरक्षणमा अझै पर्याप्त काम हुन सकेको छैन । पुराना अम्चीहरूसँग रहेको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन सकेन भने समयसँगै त्यसको महŒवपूर्ण हिस्सा हराउन सक्छ । त्यसैले अनुभवी अम्चीहरूको ज्ञानलाई अभिलेखीकरण गर्ने, वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्ने र नयाँ पुस्तालाई आवश्यक शिक्षा तथा प्रशिक्षण दिने कामलाई प्राथमिकता दिनुपर्छ । त्यसैगरी, राज्यले पनि सोवा रिग्पालाई स्पष्ट रूपमा पहिचान र संस्थागत गर्न आवश्यक छ । यस क्षेत्रमा अध्ययन गरेका युवाहरूका लागि रोजगारी तथा व्यावसायिक अवसर सिर्जना गर्न नसकिएमा उनीहरूको ज्ञान र सीप व्यवहारमा उपयोग हुन कठिन हुन्छ । शिक्षा र तालिमका अवसर विस्तार गर्ने, सम्बन्धित स्वास्थ्य संरचनासँग यसको समन्वय गर्ने, आवश्यक नियमन र व्यावसायिक मापदण्ड बनाउने तथा योग्य जनशक्तिलाई स्वास्थ्य सेवामा जोड्ने विषयमा सरकारले गम्भीर रूपमा सोच्नुपर्छ । परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्दा यसको मौलिकता नष्ट गर्ने होइन, यसको उपयोगी ज्ञानलाई व्यवस्थित र प्रमाणमा आधारित बनाउँदै अगाडि बढाउने दृष्टिकोण आवश्यक छ ।
अन्ततः, सोवा रिग्पाको संरक्षण केवल अम्चीहरूको जिम्मेवारी होइन भन्ने मेरो विश्वास छ । सरकार, स्थानीय समुदाय, स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, जडिबुटीसम्बन्धी जानकार व्यक्ति र नयाँ पुस्ताबीच सहकार्य आवश्यक छ । हिमाली क्षेत्रमा पुस्तौँदेखि प्रयोग हुँदै आएको ज्ञानलाई आधुनिक अनुसन्धानसँग जोड्न सकियो भने यसबाट स्वास्थ्य क्षेत्रमा मात्र होइन, स्थानीय जडिबुटीको संरक्षण, रोजगारी सिर्जना र हिमाली ज्ञान–परम्पराको संरक्षणमा समेत योगदान पुग्न सक्छ । त्यसैले सोवा रिग्पालाई विगतको सम्झनाका रूपमा मात्र होइन, आवश्यक अध्ययन, अनुसन्धान, संस्थागत समर्थन र पुस्तान्तरणमार्फत भविष्यसँग जोड्न सकिने महŒवपूर्ण हिमाली चिकित्सा ज्ञानका रूपमा हेर्नुपर्छ भन्ने मेरो बुझाइ छ ।

सोवा रिग्पाजस्तो हाम्रो हिमाली क्षेत्रमा पुस्तौँदेखि अभ्यास हुँदै आएको तर नेपालका अन्य भू–भागमा तुलनात्मक रूपमा कम परिचित चिकित्सा प्रणालीका बारेमा आफ्ना अनुभव र विचार राख्ने अवसर पाउनु मेरा लागि पनि महŒवपूर्ण भएको छ । मेरो अध्ययन र अनुभवका आधारमा भन्नुपर्दा सोवा रिग्पा केवल एउटा उपचार पद्धति मात्र होइन, यो हिमाली समुदायको जीवन, संस्कृति, परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानसँग जोडिएको चिकित्सा विज्ञान हो । मैले प्लस टु तहको अध्ययन भारतबाट पूरा गरेपछि सन् २०१६ मा काठमाडौँको बौद्ध क्षेत्रमा स्थापना भएको सोवा रिग्पा इन्टरनेसनल कलेजमा अध्ययनका लागि प्रवेश गरेँ । त्यहाँ मैले पाँच वर्षको सोवा रिग्पा चिकित्सा शिक्षा पूरा गरेँ । हाम्रो हिमाली क्षेत्रमा सोवा रिग्पाका चिकित्सकलाई ‘आम्ची’ भन्ने गरिन्छ । आम्ची भन्नाले सोवा रिग्पा चिकित्सा प्रणालीको अध्ययन तथा अभ्यास गर्ने चिकित्सक वा वैद्यलाई बुझिन्छ भने सोवा रिग्पा आफैँ एउटा चिकित्सा प्रणाली हो । कतिपयले यसलाई हिमालयन मेडिसिन वा तिब्बती मेडिसिनका रूपमा पनि चिन्ने गरेका छन् । तर यसको मूल पहिचान र ज्ञान परम्परालाई बुझ्न सोवा रिग्पा र आम्चीबीचको यो फरक स्पष्ट हुनु आवश्यक छ ।
नेपालमा सोवा रिग्पाको अभ्यास विशेषगरी हिमाली क्षेत्रमा बढी पाइन्छ । हुम्ला, डोल्पा, मुगु, मुस्ताङलगायतका क्षेत्रमा यसको अभ्यास लामो समयदेखि हुँदै आएको छ । हिमाली समुदायमा बसोबास गर्ने मानिसहरूले पुस्तौँदेखि प्राकृतिक स्रोत, जडिबुटी र आफ्नो अनुभवका आधारमा विभिन्न रोगको उपचार गर्दै आएका छन् । विगतमा आधुनिक औषधि तथा स्वास्थ्य संस्थाको पहुँच निकै सीमित भएका कारण पनि स्थानीय समुदायका लागि यस्ता परम्परागत उपचार प्रणाली महत्त्वपूर्ण स्वास्थ्य सहारा बनेका थिए । तर यसको महŒव केवल आधुनिक चिकित्सा गाउँसम्म नपुगेको अवस्थासँग मात्र जोडेर हेर्नु हुँदैन । सोवा रिग्पासँग आफ्नै सिद्धान्त, निदान विधि, उपचार पद्धति र औषधि निर्माणसम्बन्धी व्यवस्थित ज्ञान रहेको छ ।
मेरो बुझाइमा सोवा रिग्पाको विकास मानिस र प्रकृतिबीचको लामो सम्बन्धबाट भएको हो । मानव सभ्यताको प्रारम्भिक चरणमा मानिसहरू जंगल तथा प्राकृतिक वातावरणमै बढी निर्भर भएर जीवन बिताउँथे । कुन खानेकुराले शरीरलाई फाइदा गर्छ, कुन खानेकुराले समस्या निम्त्याउँछ, खाना पकाएर खाँदा पाचनमा कस्तो प्रभाव पर्छ, शरीरमा चोट लाग्दा रगत कसरी रोक्ने, चिसो वा तातो पानीको प्रयोगले शरीरमा कस्तो असर गर्छ, शरीर दुख्दा तातो वा प्राकृतिक तातोपानीको प्रयोग गर्दा कस्तो राहत मिल्छ भन्ने कुरा मानिसहरूले लामो अनुभवबाट सिक्दै गए । यस्ता अनुभवहरू क्रमशः ज्ञानमा परिणत भए र पुस्तौँदेखि हस्तान्तरण हुँदै गए । यही प्रक्रियाबाट हिमाली क्षेत्रमा विभिन्न परम्परागत उपचार ज्ञान र अभ्यासहरू विकसित हुँदै गएको देखिन्छ । सोवा रिग्पाको ज्ञान बौद्ध परम्परा र हिमाली समाजको ज्ञानसँग पनि नजिकबाट जोडिएको छ । परम्परागत रूपमा हिमाली क्षेत्रमा ध्यान, अध्ययन तथा साधनामा रहेका मानिसहरूलाई पनि विभिन्न रोग तथा स्वास्थ्य समस्याको सामना गर्नुपथ्र्यो । त्यस्तो अवस्थामा प्रकृतिमा पाइने जडिबुटी र अन्य औषधीय स्रोतको पहिचान तथा प्रयोग हुँदै गयो । समयसँगै ती अनुभवहरू व्यवस्थित ज्ञानमा विकसित भए । त्यसैले सोवा रिग्पालाई केवल औषधि खाने वा रोग निको पार्ने एउटा माध्यमका रूपमा मात्र बुझ्नु यसको व्यापक ज्ञान परम्परालाई सीमित गर्नु हो ।
सोवा रिग्पाको उपचार प्रणालीमा रोग पहिचान गर्ने आफ्नै विशेष विधिहरू छन् । आधुनिक पश्चिमी चिकित्सा प्रणालीमा जस्तै हरेक कुरा प्रयोगशालामा परीक्षण गरेर मात्र रोग पहिचान गर्नेभन्दा सोवा रिग्पामा चिकित्सकले बिरामीको शरीरमा देखिने विभिन्न संकेत र लक्षणको सूक्ष्म अवलोकन गर्छन् । नाडी परीक्षण यसको महŒवपूर्ण विधि हो । बिरामीको नाडीको अवस्था हेरेर शरीरको अवस्था र सम्भावित रोगबारे जानकारी लिने गरिन्छ । त्यसैगरी पिसाब परीक्षण पनि यसको अर्को महŒवपूर्ण निदान विधि हो । यसमा प्रयोगशालामा परीक्षण गर्नुको सट्टा चिकित्सकले पिसाबको रङ, फिँज वा बुलबुला, गन्ध, बनावट तथा अन्य विशेषताहरूको अवलोकन गरेर बिरामीको अवस्थाबारे जानकारी लिन्छन् । जिब्रोको रङ, बनावट र स्वरूप हेरेर रोग पहिचान गर्ने जिब्रो परीक्षण पनि गरिन्छ । बालबालिकाको हकमा उनीहरूको शरीरमा देखिने विभिन्न संकेत, नसाको अवस्था तथा अन्य लक्षणलाई आधार बनाएर रोग पहिचान गर्ने अभ्यास हुन्छ ।
उपचारका क्षेत्रमा पनि सोवा रिग्पामा विभिन्न प्रकारका बाह्य तथा आन्तरिक उपचार विधिहरू प्रयोग हुन्छन् । कपिङ, रक्तमोक्षण वा भेनसेक्सन, मोक्सिबसन अर्थात् मोक्सा, मालिस तथा नाक सफा गर्ने वा उपचार गर्ने विभिन्न विधिहरू यसको उपचार पद्धतिका हिस्सा हुन् । कपिङमा पनि आवश्यकता र अवस्थाअनुसार विभिन्न सामग्री तथा उपकरणको प्रयोग गरिन्छ । कतिपय अवस्थामा सिसाको कप, रबर वा बाँसबाट बनेका कप प्रयोग गरिन्छन् । परम्परागत रूपमा विशेष प्रकारका धातुका उपकरणबाट पनि कपिङ गर्ने अभ्यास रहेको छ । मोक्सिबसनमा विशेष गरी तितेपातीबाट तयार पारिएको मोक्सा प्रयोग गरिन्छ । शरीरका विभिन्न भागमा दुखाइ, जोर्नी तथा अन्य समस्यामा यसको प्रयोग हुँदै आएको छ । रक्तमोक्षणमा आवश्यक अवस्थामा शरीरबाट केही रगत निकालेर उपचार गर्ने परम्परागत विधि प्रयोग गरिन्छ । सोवा रिग्पाको औषधि निर्माणमा जडिबुटीको भूमिका अत्यन्त महŒवपूर्ण छ । हिमाली क्षेत्रमा पाइने विभिन्न औषधीय वनस्पतिहरू यसको औषधि निर्माणमा प्रयोग हुन्छन् । तर औषधि निर्माणमा हिमाली जडिबुटी मात्र प्रयोग हुन्छ भन्ने होइन । पहाड र तराई क्षेत्रमा पाइने विभिन्न जडिबुटीहरू पनि आवश्यकता र औषधिको प्रकृतिअनुसार प्रयोग गरिन्छन् । फरक भौगोलिक क्षेत्रमा पाइने जडिबुटीको गुण र प्रभाव फरक हुन सक्ने भएकाले विभिन्न क्षेत्रका वनस्पतिहरूको संयोजन आवश्यक पर्न सक्छ । त्यसैले नेपालका हिमाल, पहाड र तराई तीनवटै भूगोलमा पाइने औषधीय वनस्पतिहरूको संरक्षण र अध्ययन सोवा रिग्पाका लागि महत्त्वपूर्ण छ ।
जडिबुटीबाहेक शिलाजित तथा केही खनिजजन्य पदार्थहरू पनि सोवा रिग्पाको औषधि निर्माणमा प्रयोग हुने गर्छन् । विगतमा केही पशुजन्य सामग्रीको प्रयोगसम्बन्धी परम्परा पनि रहेको थियो । तर अहिले वन्यजन्तु संरक्षण र प्रचलित कानुनी व्यवस्थाका कारण वन्यजन्तुबाट प्राप्त सामग्रीको प्रयोग गर्न मिल्दैन । त्यस्ता सामग्रीको सट्टामा आवश्यकताअनुसार वनस्पतिजन्य विकल्प वा अन्य उपयुक्त पदार्थ प्रयोग गर्न सकिन्छ । त्यसैले परम्परागत ज्ञानको संरक्षण गर्दा वर्तमान कानुन, वातावरणीय संरक्षण र जैविक विविधताको संरक्षणलाई पनि समान रूपमा ध्यान दिनुपर्छ । सोवा रिग्पाको भविष्यको कुरा गर्दा यसको संस्थागत विकास सबैभन्दा महŒवपूर्ण विषय हो भन्ने मलाई लाग्छ । नेपालमा विशेषगरी हिमाली क्षेत्रमा धेरै अम्चीहरूले लामो समयदेखि आफ्नै समुदायमा उपचार सेवा दिँदै आएका छन् । तर उनीहरूको ज्ञान र अभ्यासलाई राज्यको स्वास्थ्य प्रणालीसँग व्यवस्थित रूपमा जोड्ने काम अझै पर्याप्त हुन सकेको छैन । नेपालमा सोवा रिग्पा अध्ययन गरेका नयाँ पुस्ताका चिकित्सकहरू पनि उत्पादन भइरहेका छन्, तर उनीहरूका लागि सरकारी सेवामा पर्याप्त अवसर र दरबन्दी सिर्जना हुन सकेको छैन । यसले गर्दा अध्ययन पूरा गरेका जनशक्तिले आफ्नो ज्ञान र सीपअनुसार काम गर्ने अवसर सीमित रूपमा मात्र पाउने अवस्था छ ।
मेरो विचारमा सरकारले सोवा रिग्पालाई राष्ट्रियस्तरमा स्पष्ट पहिचान दिनुपर्छ । अन्य देशहरूमा परम्परागत चिकित्सा प्रणालीलाई राज्यको स्वास्थ्य संरचनाभित्र समेट्ने र त्यसका लागि अध्ययन, अनुसन्धान तथा रोजगारीका अवसर सिर्जना गर्ने अभ्यासहरू देखिन्छन् । नेपालले पनि आफ्नै हिमाली चिकित्सा ज्ञानलाई व्यवस्थित रूपमा अघि बढाउन सक्छ । यसका लागि सोवा रिग्पाका चिकित्सकलाई आवश्यक व्यावसायिक मान्यता दिने, स्वास्थ्य क्षेत्रमा उपयुक्त दरबन्दी सिर्जना गर्ने, अनुसन्धान केन्द्र स्थापना गर्ने, शैक्षिक कार्यक्रम विस्तार गर्ने र स्थानीय तहसम्म यसको पहुँच विस्तार गर्ने विषयमा सरकारले ध्यान दिनुपर्छ ।
सरकारबाट मान्यता र रोजगारीका अवसर सिर्जना भएमा नयाँ पुस्ताको आकर्षण पनि बढ्न सक्छ । अहिले धेरै मानिसलाई सोवा रिग्पाबारे पर्याप्त जानकारी नै छैन । त्यसैले यसको प्रचार–प्रसार पनि आवश्यक छ । विद्यालय तथा समुदायस्तरमा यसको परिचय गराउने, हिमाली क्षेत्रमा रहेको परम्परागत ज्ञानको अभिलेखीकरण गर्ने र योग्य व्यक्तिलाई व्यवस्थित शिक्षा तथा तालिम दिने हो भने यो क्षेत्र अझ विकसित हुन सक्छ । यसका लागि केवल निजी क्लिनिक खोल्ने अवसर पर्याप्त हुँदैन; राज्यले पनि स्वास्थ्य प्रणालीभित्र यसको उचित स्थान निर्धारण गर्नुपर्छ । नेपालभित्र अहिले हुम्लाको नाम्खा, सिमकोटका केही क्षेत्र, डोल्पा, मुगु, मुस्ताङ तथा काठमाडौँको बौद्ध, ठमेललगायतका क्षेत्रमा सोवा रिग्पाका चिकित्सक तथा उपचार केन्द्रहरू भेटिन्छन् । काठमाडौंमा पनि विभिन्न सोवा रिग्पा अस्पताल तथा क्लिनिकहरू सञ्चालनमा छन् । यसले सोवा रिग्पा हिमाली क्षेत्रमा मात्र सीमित नरही अन्य क्षेत्रमा पनि विस्तार हुन सक्ने सम्भावना देखाउँछ । तर यसको विस्तारसँगै उपचारको गुणस्तर, चिकित्सकको योग्यता, औषधिको मापदण्ड र पेशागत नियमनलाई पनि व्यवस्थित गर्न आवश्यक छ ।
शैक्षिक दृष्टिले पनि सोवा रिग्पामा भविष्य बनाउन चाहने नयाँ पुस्ताका लागि विभिन्न तहका अध्ययनका अवसरहरू विकास भइरहेका छन् । पाँच वर्षको अध्ययन पूरा गरेपछि स्नातक तहको सोवा रिग्पा चिकित्सा शिक्षा हासिल गर्न सकिन्छ । यससँगै डिप्लोमा तथा प्राविधिक तहका कार्यक्रमहरू पनि विकास गर्न सकिने सम्भावना छ । सोवा रिग्पा अध्ययन गर्न सामान्यतया प्लस टु तह पूरा गरेको र विज्ञान विषय अध्ययन गरेको विद्यार्थीका लागि प्रवेशको बाटो खुल्ने व्यवस्था रहेको छ । यस क्षेत्रमा उच्च शिक्षा र अनुसन्धानका अवसर विस्तार गर्न सकियो भने नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।
अन्ततः, मलाई लाग्छ हामीले सोवा रिग्पालाई केवल हिमाली क्षेत्रमा सीमित एउटा पुरानो उपचार पद्धतिका रूपमा हेर्नु हुँदैन । यो हाम्रो हिमाली समुदायले पुस्तौँदेखि जोगाएर राखेको ज्ञान, सीप र चिकित्सा परम्परा हो । हामी नेपालमा बुद्ध जन्मिएको कुरा गर्वका साथ भन्छौँ, तर बुद्धसँग जोडिएका ज्ञान र परम्पराहरूको अध्ययन र संरक्षणमा अझै पर्याप्त ध्यान दिन सकेका छैनौँ भन्ने महसुस हुन्छ । सोवा रिग्पाको संरक्षण र विकास पनि त्यही व्यापक ज्ञान परम्पराको एउटा महŒवपूर्ण हिस्सा हो । त्यसैले सरकारले यसलाई उचित मान्यता, संस्थागत संरचना, अध्ययन–अनुसन्धान, रोजगारी र प्रचार–प्रसारको माध्यमबाट अगाडि बढाउनुपर्छ । पुरानो ज्ञानलाई जस्ताको तस्तै मात्र राख्ने होइन, त्यसको मौलिकता संरक्षण गर्दै आधुनिक आवश्यकता र अनुसन्धानसँग जोडेर नयाँ पुस्तासम्म पु¥याउन सकियो भने सोवा रिग्पाको भविष्य अझ बलियो बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।
(ऋति फाउन्डेसनले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन् ।)
प्रकाशित मितिः ३ आश्विन २०८३, शनिबार ०५:०४

कुडा कर्णालीका ।