८७ हजार घुससहित इन्जिनियर पक्राउ
सुर्खेत, १० असार ।
सेवाग्राहीसँग घुस लिँदै गर्दा सुर्खेतमा इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो । क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेललाई घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
जिल्लाको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा रहेको होटल स्टार एण्ड लजबाट खरेललाई पक्राउ गरिएको हो । होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा खरेललाई ८७ हजार नगदसहित रंगेहात समातिएको हो । होटलमा बास बसेका इन्जिनियर खरेललाई अख्तियारले शुक्रवार राती साढे ८ बजे पक्राउ गरिएको जानकारी दिएको छ । अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले खरेलमाथि थप अनुसन्धान भइरहेको बताए ।
खानेपानी आयोजनाको पेश्की, कार्य सम्पन्न प्रतिवेदन, भुक्तानी सहजीकरण मिलाइ दिने भन्दै इन्जिनियर खरेलले सेवाग्राहीबाट ८७ हजार रूपैयाँ मागेका थिए । सोही क्रममा रंगेहात पक्राउ गरिएको सूचना अधिकारी सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार खरलेले घुस रकम कार्यालयका खानेपानी सहायक टेक्निसियन दलबहादुर घर्तीलाई बुझ्न लगाएका थिए । कर्मचारीले सेवाग्राहीबाट बुझेको रकम इन्जिनियर खरेलले समात्नै लाग्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । रंगेहात पक्राउ परेका खरेल र घर्तीमाथि अनुसन्धान भइरहेको र आफूहरूले थप प्रमाण संकलन गरिरहेको जानकारी सूचना अधिकारी सापकोटाले दिए । प्रमाण संकलन र कागजपत्र पूरा भएपछि मुद्दा दायर गरिने अख्तियारले जनाएको छ । केहीदिन पहिला मात्र अख्तियारले मालपोत कार्यालयका निमित्त प्रमुख गणेश आचार्यलाई पनि तीस हजार घुससहित रंगेहात पक्राउ गरेको थियो ।
साझा बिसौनी संवाददाता ।