सुर्खेत रंगशाला स्तरोन्नति गरिदैं

२५ लाख बजेट विनियोजन, प्याराफिट निर्माण गर्ने तयारी

सुर्खेत, १० असार ।
आर्थिक वर्षको अन्तिममा सुर्खेत रंगशाला मर्मतका लागि बजेट विनियोजन भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले रंगशाला मर्मतका लागि २५ लाख रूपैयाँ विनियोजन गरेको हो । उक्त बजेटबाट अहिले रंगशाला मर्मतको काम भइरहेको छ ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतले टेण्डरमार्फत् रंगशाला मर्मतको जिम्मा लेकवेशी निर्माण सेवालाई दिएको छ । उक्त निर्माण सेवाले मर्मतको काम गरिरहेको छ । बजेट आर्थिक वर्षको अन्तिममा आएको र साउन १५ भित्र सम्पन्न गरिसक्नुपर्ने भएकाले तीव्र गतिका साथ काम भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए । उनले उक्त बजेटबाट रंगशालाको मर्मत र स्तरोन्नति
गरिने बताए ।
मर्मत कार्य अन्तर्गत रंगशालाभित्रको उच्च भागलाई खनेर सम्म बनाइनेछ । दक्षिणतर्फको खाल्डोलाई पुरिनेछ र समथर बनाइनेछ । अध्यक्ष गिरीले भने, ‘उच्च भागको माटो काट्ने, फिलिंग गर्ने र रोलिंग गर्ने काम भइरहेको छ, यसपछि रंगशाला समथर मैदान बन्नेछ ।’
त्यसैगरी रंगशालाको मर्मतका साथै यसको थप स्तरोन्नति गरिने पनि जनाइएको छ । जस अन्तर्गत प्याराफिट निर्माण गरिनेछ । हाललाई दुई लाइनको दर्शक बस्ने प्याराफिट बनाइने योजना रहेको अध्यक्ष गिरीले जानकारी दिए । चौरमा उभिएर वा धुलाम्य जमिनमा बसेर खेल हेर्नुपर्ने दर्शकहरूको समस्या अब हट्ने उनको भनाइ छ ।
उक्त फुटबल मैदानलाई एथ्लेटिक्सका लागि पनि उपयोग गर्न सकिने गरी स्तरोन्नति गर्न लागिएको छ । यसका लागि ६ लेनको ट्रयाक निर्माण गरिनेछ । ६ लाइनको एथ्लेटिक्सको ट्रयाकिङ लाइन निर्माण गरिने गिरीले जनाए । उनले एथ्लेटिक्सका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मैदान बनाइने बताए । फुटबलका साथै एथ्लेटिक्स अन्तर्गतका खेलहरू पनि सञ्चालन गर्न सकिने गरी रंगशालाको स्तरोन्नति गर्न लागिएको उनले जनाए ।
अध्यक्ष गिरीका अनुसार रंगशालाभित्रै मञ्चको व्यवस्थापन समेत गरिने भएको छ । कुनै प्रतियोगिता आयोजना गर्दा वा अन्य कुनै कार्यक्रम गर्दा आवश्यक पर्ने मञ्च पनि निर्माण गरिने उनले जनाए । त्यस्तै ढल निकासका लागि नाला निर्माण र पर्खालमा रंगरोगनको काम पनि यस योजना अन्तर्गत गरिनेछ ।
आवश्यक बजेटको अभावमा अहिलेसम्म रंगशालाको मर्मत र सुधार हुनसकेको थिएन । विभिन्न समयमा खेलकुद प्रतियोगिताहरू आयोजना हुने गरे पनि व्यवस्थित रंगशाला नहुँदा खेलाडीहरूका साथै दर्शकहरूले पनि समस्या झेल्दै आएका छन् । यद्यपि अब मर्मत सुधार भएपछि उक्त समस्या समाधान हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । रंगशालालाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन आगामी दिनमा पनि काम गरिने अध्यक्ष गिरीले बताए ।
सुर्खेतको खेलकुद विकासका लागि केही दशकअघि नै खेलकुद गुरुयोजना बने पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । उक्त गुरुयोजनामा फुटबल, भलिबल, क्रिकेट, ब्याटमिन्टन, एथ्लेटिक्स तथा मार्सल आट्र्सका छुट्टाछुट्टै खेल मैदानका साथै इन्डोर खेलहरूका लागि सुविधा सम्पन्न कभर्डहल निर्माणको योजना समावेश गरिएको छ । उक्त गुरुयोजना कार्यान्वयनका लागि जग्गा समेत छुट्याइएको छ । तर बजेट अभावका कारण गुरुयोजना अनुसारका संरचना निर्माण हुनसकेका छैनन् ।
रंगशाला लगायत आवश्यक भौतिक संरचनाको अभावका कारण खेलाडी उत्पादनमा पनि समस्या भइरहेको बताइन्छ । खेलकुदमा युवाहरूको आकर्षण बढ्दै गए पनि प्रशिक्षण र प्रतियोगिता सञ्चालनका लागि चाहिने पूर्वाधारकै अभाव छ, सुर्खेतमा । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरी आफूहरूले भौतिक पूर्वाधार निर्माणका साथै खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर लागिरहेको बताउँछन् ।

प्रकाशित मितिः   ११ असार २०७४, आईतवार १३:०१