सुन्तला खेतीले फेरिदियो जीवनशैली

सुर्खेत: सुन्तला लटरम्म फलेर बोटले धान्न नसकेपछि काठको टेका लगाएर हाँगो जोगाएको छ । सुन्तलाबारीको बीचमा बस्ती बसेको छ । हरेक घरको छेवैमा सुन्तलाबारी छन् । दैलेखको दुल्लू नगरपालिका ४ चाल्नेमुल पुग्नेहरू लोभलाग्दा सुन्तलामा नजर डुलाउँछन् । रसिला सुन्तलाले मुखै मिठ्याउने मात्रै होइन, गाँउको दुःख बिर्साइदिएको छ, यो खेतीले । यही सुन्तलाले गाँउको जीवनशैली फेरिदिएको छ ।

७८ वर्षीय बिशाखर जैसीले पुरानो दुःखबाट नयाँ जीवनमा फर्किंदाको अनुभव सुनाए । अहिलेको सुन्तला बारीमा उनीहरू पहिला मकै, गहुँ–जाैँ र कोदो लगाउँथे । त्यसले ६ महिना पनि खान पुग्दैनथ्यो । त्यसपछि मजदुरी गर्न हिँड्थे । अहिले सुन्तला बिक्री गर्न थालेपछि ती दिनहरू फेरिएका छन् । ‘सुन्तलाखेती थालेपछि त्यसले हाम्रो गरिबी हटेको छ,’ बिशाखरले भने, ‘गहुँ, कोदो, मकैले ६ महिना पुग्थ्यो, त्यसपछि मजदुरी गर्न हिँड्नु पथ्र्यो । अहिले घरैमा बसेर आम्दानी पाउँदा धेरै सहज भएको छ ।’ अहिले करिब दुई लाख रूपैयाँ वार्षिक आम्दानी हुने गरेको जैसीले बताए ।

सुन्तला घरैबाट बिक्री हुन्छ भन्ने पनि थाहा थिएन चाल्नेमुलगाँउका बासिन्दालाई । ‘फलेका सुन्तला बोटबाटै झर्थे, खाएर बचेको बोटबाटै झरेर कुहिन्थे’ सोही गाउँका कृष्णकुमार कार्कीले भने, ‘पाहुना आउँदा कोसेली पठाउँथे मात्रै, सुन्तला बिक्री नहुँदा स्थानीयले ज्याला मजदुरी, कुल्ली काम गर्नुपथ्र्यो, अहिले त्यो समस्या छैन ।’ आफूहरूको जीवन फेरिएको छ । व्यावसायिक सुन्तला खेती गर्न थालेपछि आफ्नो दुःख हटेको छ । ‘सुन्तला खेतीपछि चामलको भात खान दसैँ–तिहार पर्खिन नपर्ने भएको छ,’ कार्कीले भने, ‘सुन्तला खेती गरेपछि विगतको दुःख बिर्साइदिएको छ । पहिलाकोे र अहिलेको अवस्थामा आकाश पातालको फरक भएको छ ।’

कार्कीले २०७५ सालबाट व्यावसायिक सुन्तला खेती सुरु गरेका हुन् । अहिले करिब चार सय सुन्तलाका बिरुवा रोपेका उनको वार्षिक आम्दानी दुइ लाखसम्म हुन्छ । चार सय मध्ये एक सय बिरुवामा मात्र सुन्तला फल्ने गरेको छ । अन्य बिरुवा सानै छन् । अन्य बिरुवा एक दुई वर्षमा फल्दै जाने कार्कीले सुनाए । फलफूल मण्डीसँग सम्झौता गरेर सुन्तला बिक्री गर्ने गरिएकाले बजारको समस्या नभएको उनले बताए । पहिला बजार नपाउने समस्याले दुल्लूको चाल्नेमुलगाउँमा सुन्तलाको व्यावसायिक खेती गरिएको थिएन । मोटर बाटो नहुँदा झनै समस्या थियो । अहिले चाल्नेमुलगाउँमा सबैभन्दा कम भनेकै परिवारले वार्षिक तीन लाख रूपैयाँको सुन्तला बिक्री गर्छन् । खालीबारीमा सुन्तलाका बिरुवा रोप्ने क्रम बढेको छ । झरेर कुहिने सुन्तलाले बजार पाएको छ । सोही गाउँका किरण सार्कीले पनि बारीमा सुन्तला रोपेका छन् । उनले एक सय ५० बिरुवा रोपेका छन् । वार्षिक पाँच लाखका सुन्तला बेच्छन् । उनले भने, ‘सुन्तला मंसिरको अन्तिम साताबाट बिक्री सुरु हुन्छ, घरको आँगनबाटै सुन्तला बिक्री हुन्छ, किसानले सुन्तला प्रतिकिलो एक सय रूपैयाँसम्म बिक्री गर्छन् ।’ पाँच रोपनी जग्गामा उनको सुन्तलाखेती छ ।

 

सुन्तला जोन कार्यक्रम प्रभावकारी

दैलेखको दुल्लू क्षेत्र सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ । यहाँका थुप्रै किसानले सुन्तलाको व्यावसायिक खेती गरेका छन् । दुल्लू नगरपालिका ४, का कृष्णकुमार कार्कीले २०७६ मा सुन्तला जोन कार्यक्रमबाट तीन सय बिरुवा रोपेका थिए । अहिले रोपिएका बिरुवाले फल दिन थालेका छन् । २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका कार्कीले विगतका केही वर्षको तुलनामा यसपालि सुन्तला धेरै फलेको बताए । उनले भने, ‘बोटभरि लटरम्म दाना छन्, गत वर्षभन्दा दोब्बर उत्पादन हुने अनुमान छ ।’

दूल्लूको सुन्तला गत वर्ष बोटबाटै प्रतिकेजी ५५ रूपैयाँका दरले व्यापारीले खरिद गरेका थिए । यहाँको सुन्तला सुर्खेत–नेपालगञ्जका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । तीन सय बोट सुन्तला भएका सोही गाउँका हृदयेश थापाले यो वर्ष सुन्तला बाक्लै फलेको बताए । गतवर्षहरूमा सुन्तला खेतीबाट वर्षमा चार लाख रूपैयाँको हाराहारीमा कमाइ हुने बताउँदै उनले यो पटक झनै बढ्ने बताए । उनले पनि सुन्तला जोन कार्यक्रमबाट अनुदानमा सुन्तलाका बिरुवा रोपेका थिए । अहिले दुल्लू क्षेत्रका धेरै कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइबाट आर्थिक सहयोग प्राप्त गरेका छन् । यो वर्ष पनि कार्यक्रम कार्यान्वयन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना एकाइ दुल्लू सुन्तला जोन परियोजनाका कौशिला थापाले बताइन् ।

यो वर्ष सुन्तला जोनको क्षेत्र विस्तार गरिने योजना राखिएको उनको भनाइ छ । उनका अनुसार दुल्लू नगरपालिकाका १३ वटै वडा र भैरवी गाउँपालिकाका वडा नं. ३ देखि ७ सम्मलाई सुन्तला जोनका रूपमा विकास गर्न लागिएको हो । दुल्लूमा हाल ६ सय ८९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यहाँ प्रतिहेक्टर १२ टन सुन्तला उत्पादन हुने गरेको छ । गत वर्ष सुन्तला जोन कार्यक्रम लागू भएको क्षेत्रमा वार्षिक सात हजार पाँच सय ८० टन उत्पादन हुन्छ । यसै वर्षदेखि ३३ हेक्टर क्षेत्रफल बढाउने योजना रहेको थापाले बताइन् । सो कार्यक्रमले साना सिँचाइ, बगैँचा सुधार, कृषि यान्त्रिकीकरण, गे्रडिङ मेसिन खरिद, रोग र किरा निदान र प्राङ्गारिक मल उत्पादनमा किसानलाई सघाइरहेको छ ।

 

उत्पादनदेखि बजारीकरणसम्म

यस्तै, किसानहरूको क्षेत्रमा काम गर्दै आएको सेवक संस्थाले कृषकको उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्दै आएको छ । महिलाको आर्थिक सशक्तीकरण तथा कृषि आय अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले काम गर्दै आएको हो । किसान दिदीबहिनीहरूले बालीको कटनीपछिको उचित व्यवस्थापन, छनोट तथा ग्रेडिङ, वैज्ञानिक भण्डारण, गुणस्तर संरक्षण, रोग तथा किराको संक्रमणबाट बच्ने उपाय, प्याकेजिङ र बजारको मागअनुसार उत्पादन व्यवस्थापन गर्नेगरी कार्यक्रम कार्यान्वयन भइरहेको सेवक नेपाल संस्थाका कार्यकारी निर्देशक महारूप खत्रीले बताए ।

दैलेख र सुर्खेतका कृषि समूहले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि वीरेन्द्रनगरका तरकारी मण्डीहरूसँग सम्झौता गरेको भन्दै उनले कृषकलाई खेती गर्न सिकाउनेदेखि बजारीकरणसम्मको सहयोग गर्ने गरिएको जानकारी दिए । कृषि उत्पादनलाई व्यवस्थित गर्ने र बजारको मागअनुसार उत्पादन गर्ने विषयमा तालिमपछि किसानमा सचेतना बढेको पाइएको छ । नेपाल सरकार, युरोपेली संघ र संयुक्त राष्ट्र संघका एजेन्सीहरूको संयुक्त पहलमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को पहल तथा सेवक नेपालले दैलेख र सुर्खेतका केही पाँच पालिकाकामा का मगर्दै आएको छ । सरकारले गरिरहेको कार्यक्रमलाई पनि टेवा पु¥याउने गरी सेवकले काम गरिरहेको खत्रीले बताए ।

प्रकाशित मितिः   ३१ भाद्र २०८३, बुधबार ०५:०५