कर्णाली उत्सव कुडा कर्नालीका

नखिचिएका सिनेमाहरू

कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘नखिचिएका सिनेमाहरू’ सत्रमा नेपाली चलचित्रको विकास, कलाकारको अनुभव तथा चलचित्रमा नेपाली समाज र संस्कृतिका कथा प्रस्तुत गर्ने विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण पत्रकार तथा नन–फिक्सन फिल्म निर्देशक देवकी विष्टले गरेकी थिइन् भने नेपाली चलचित्रका महानायक राजेश हमाल वक्ताका रूपमा सहभागी भएका थिए । छलफलमा हमालको लामो चलचित्र यात्रा, नेपाली समाजका कथा र पात्रलाई पर्दामा प्रस्तुत गर्ने अनुभव तथा चलचित्रमार्फत मौलिक संस्कृति र स्थानीय कथाहरूलाई उजागर गर्न सकिने सम्भावनाबारे चर्चा गरिएको थियो ।


३६ वर्षभन्दा लामो चलचित्र यात्रामा कलाकारका रूपमा मैले धेरै चलचित्रमा काम गर्ने अवसर पाएँ । अहिले तीन सय वटा चलचित्रको नाम सबै कण्ठ रूपमा भन्न सक्दिनँ होला । तर हरेक चलचित्र मैले देखेँ भने त्यससँग जोडिएको केही न केही कुरा मलाई सम्झना हुन्छ । किनकि कलाकारले हरेक चलचित्रमा, हरेक पात्रमा आफ्नो कुनै न कुनै अंश छोडेको हुन्छ । कलाकारले चलचित्रमा अभिनय गर्ने भएकाले भूमिका स्वतः निर्वाह गरिहाल्छ भन्ने हुँदैन । बाहिरबाट हेर्दा धेरै चलचित्र गरिसकेको कलाकारलाई अभिनय गर्न बानी परिसकेको छ, त्यसैले सहजै गरिहाल्छ भन्ने लाग्न सक्छ । तर जतिसुकै चलचित्र गरे पनि, जतिसुकै व्यस्त भए पनि, हरेक भूमिका र हरेक चलचित्रमा कलाकारको कुनै न कुनै किसिमको आत्मीयता जोडिएको हुन्छ । हरेक पात्रले फरक भावना, फरक पृष्ठभूमि र फरक जीवन बोकेको हुन्छ । त्यसलाई कलाकारले कुनै न कुनै रूपमा मनन गर्नुपर्ने हुन्छ ।

मैले वास्तविक जीवनमा विभिन्न किसिमका पात्र र भूमिका निर्वाह गरेको छु । छोरा, साथी, नागरिक वा समाजका विभिन्न तहका मानिसको भूमिका गर्दा त्यो पात्रसँग सम्बन्धित भावनालाई कुनै न कुनै रूपमा बुझ्ने प्रयास हुन्छ । मलाई लाग्छ, चलचित्रमा कलाकारले आदर्शवादी भूमिका गर्छ भने त्यो आदर्शको केही अंश वास्तविक जीवनमा पनि उसको व्यक्तित्वमा स्वाभाविक रूपमा हुनुपर्छ । चलचित्रमा आदर्शवादी छोरा, सामाजिक पात्र वा नेपाली समाजको कुनै प्रतिनिधिको भूमिका गरिरहेको छ भने वास्तविक जीवनमा पनि त्यस चरित्रसँग मेल खाने केही गुण व्यक्तित्वमा हुनुपर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो । यसको अर्थ चलचित्रमा आदर्शवादी भूमिका गरिरहेको छु भन्दैमा वास्तविक जीवनमा पनि जबरजस्ती आदर्शवादी बन्नुपर्छ भन्ने होइन । तर कुनै न कुनै रूपमा त्यो स्वभाव आफ्नो व्यक्तित्वमा स्वाभाविक रूपमा हुनुपर्छ । कलाकारले आफूले निर्वाह गर्ने चरित्रलाई केवल अभिनयका रूपमा मात्र होइन, आफ्नो एउटा भावनात्मक अनुभवका रूपमा पनि लिनुपर्छ जस्तो लाग्छ ।

मेरो चलचित्र यात्राको सुरुवात पनि त्यति सहज थिएन । आजभन्दा ३६/३७ वर्षअघि मैले चलचित्र क्षेत्रमा प्रवेश गर्दा मेरो परिवार विशेषगरी मेरो बुवाको त्यति सहमति थिएन । उहाँ चाहनुहुन्थ्यो कि म अलि सुरक्षित पेसामा जाऊँ । हाम्रो समाजमा सुरक्षित मानिने प्रशासन, प्रहरी, सेना, इन्जिनियरिङ वा व्यवसायजस्ता क्षेत्रतर्फ लागोस् भन्ने उहाँको चाहना थियो । त्यसको कारण कला वा चलचित्रप्रति उहाँलाई घृणा भएर होइन । त्यतिबेला नेपालमा नेपाली चलचित्रहरू खासै बन्दैनथे । मैले चलचित्रमा काम गर्छु भन्दा उहाँलाई एउटा नवयुवकले आफ्नो भविष्य कसरी सुरक्षित गर्छ भन्ने चिन्ता थियो । उहाँले मलाई शिक्षा–दीक्षा दिनुभयो, देश–विदेश घुमाउनुभयो र एउटा राम्रो भविष्य बनोस् भन्ने चाहनुभयो । तर त्यतिबेला चलचित्र क्षेत्रमा भविष्य कस्तो हुन्छ भन्ने नै निश्चित थिएन । म चलचित्रमा प्रवेश गर्दा नेपालमा दुई वर्षमा एउटा वा तीन वर्षमा दुई वटा चलचित्र बन्ने अवस्था थियो ।

त्यस्तो पेसामा लागेर मैले निरन्तरता कसरी दिन सक्छु भन्ने उहाँहरूको स्वाभाविक चिन्ता थियो । त्यसैले उहाँहरूले मलाई केही हतोत्साहित पनि गर्नुभयो । तर मेरो आफ्नै इच्छा र जिद्धीका कारण म चलचित्र क्षेत्रमा लागेँ । त्यस क्रममा परिवारसँग केही मनमुटाव पनि भयो । तर बुवाप्रतिको आत्मीयता र सम्मान भने सधैँ थियो । खाली पेसाको रोजाइका कारण केही दूरीजस्तो भएको थियो । मलाई त्यतिबेला एउटा विश्वास थियो, यदि मैले यो क्षेत्रमा राम्रो गर्दै गएँ र भविष्यमा केही राम्रो भयो भने यी सबै कुरा विस्तारै मिल्दै जान्छन् । तर दुर्भाग्यवश मैले तेस्रो चलचित्र गरिरहँदा नै मेरो बुवाको आकस्मिक निधन भयो । उहाँ त्यतिबेला पाकिस्तानमा हुनुहुन्थ्यो । त्यस कारण त्यो कुरा अहिले पनि कहिलेकाहीँ मनमा खड्किन्छ । अहिले फर्केर हेर्दा मलाई लाग्छ, उहाँले चाहनुभएको कुरा धेरै ठूलो थिएन । उहाँले आफ्नो छोराको भविष्य राम्रो होस्, उसले जे काम गरे पनि त्यसमा निरन्तरता दिन सकोस् भन्ने चाहनुभएको थियो । मैले उहाँले असुरक्षित ठानेको चलचित्र क्षेत्रमा प्रवेश गरेँ र यही क्षेत्रमा निरन्तरता दिन पाएँ । त्यसमा आफूलाई असाध्यै भाग्यमानी ठान्छु ।

मैले पहिलो चलचित्र गर्दा मेरो दोस्रो चलचित्र कहाँबाट आउँछ भन्ने नै ठूलो प्रश्न थियो । लामो यात्रा तय गर्न सकिन्छ कि सकिँदैन भन्ने अन्योल थियो । तर गर्दै जाँदा आजको बिन्दुसम्म आइपुगेँ । कहिलेकाहीँ लाग्छ, बुवाले यो यात्रा देख्न पाउनुभएको भए राम्रो हुन्थ्यो होला । मेरो सुरुवाती चलचित्रमध्ये ‘देउकी’ पनि एउटा विशेष चलचित्र थियो । त्यो मेरो पहिलो वा दोस्रो चलचित्र भने होइन, मेरो सम्झनाअनुसार चौथो चलचित्रतिर पर्छ । त्यतिबेला नेपाली चलचित्रहरू प्रायः हिरो–केन्द्रित हुन्थे । व्यावसायिक चलचित्र, माया–प्रेम, एक्सन आदि विषयमा चलचित्रहरू बढी बन्ने गर्थे । त्यसको तुलनामा ‘देउकी’ फरक विषयवस्तुमा आधारित थियो । ‘देउकी’ देउकी प्रथामा आधारित चलचित्र थियो । त्यसलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको भए पनि त्यसको मूल विषय त्यही सामाजिक प्रथा थियो । अझ त्यसबेला मैले गरेका तीन–चार वटा चलचित्रको तुलनामा यो महिला–केन्द्रित चलचित्र पनि थियो । त्यसैले त्यो चलचित्र मेरो लागि विशेष थियो । नेपालको मौलिक परम्परा र मौलिक कथामा आधारित चलचित्रमा काम गर्न पाउनु आफैंमा एउटा राम्रो अनुभव थियो ।

सुरुवाती समयमा दर्शकसँगको प्रत्यक्ष भेटघाट पनि धेरै हुँदैनथ्यो । म चलचित्रमा असाध्यै व्यस्त हुन्थेँ । तर पछिल्लो पाँच–सात वर्षमा विभिन्न सांस्कृतिक, सामाजिक तथा भेटघाटका कार्यक्रमको सिलसिलामा देशभर र देशबाहिर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेट्ने अवसर धेरै पाएको छु । त्यस क्रममा उहाँहरूले आफ्ना विगतका अनुभवहरू सुनाउनुहुन्छ, मेरो चलचित्र हेर्दा कस्तो अनुभव भयो, चलचित्र हेर्न कति टाढाबाट आउनुभयो, कति संघर्ष गर्नुभयो भन्ने कुरा सुनाउनुहुन्छ । मैले देउकीपछि धेरैजसो त्यस्ता चलचित्रमा काम गरेँ, जसमा आम नेपाली जनजीवनलाई प्रतिनिधित्व गर्ने पात्रहरू थिए । त्यसैले होला, धेरै नेपाली दर्शकले मेरो पात्रमा कतै न कतै आफ्नो प्रतिबिम्ब, आफ्ना भावना र आफ्नो आवाज देख्नुभयो । त्यसबाट दर्शक र कलाकारबीच एउटा आत्मीय सम्बन्ध विकास भएको हो जस्तो लाग्छ । मैले ‘भरिया’ भन्ने चलचित्रमा भरियाको भूमिका पनि निर्वाह गरेको थिएँ । त्यसको प्रिमियर नारायणगढको एउटा हलमा भएको थियो । प्रिमियर सकिएपछि बाहिर निस्कँदा गाडी वरिपरि ठूलो भीड थियो । म गाडीभित्र पसिसकेको थिएँ । त्यही भीडलाई छिचोल्दै एक जना व्यक्ति मेरो गाडीतिर आउनुभयो । उहाँ भरियाकै आवरणमा हुनुहुन्थ्यो । दाम्लो–साम्लो बोकेर आउनुभएको थियो ।

उहाँ निकै संघर्ष गर्दै मेरो गाडीको झ्यालसम्म आइपुग्नुभयो र भन्नुभयो, ‘ओहो, तपाईं पनि त हामीजस्तै भरिया रहेछ नि ।’ त्यो क्षण मेरो लागि निकै आत्मीय थियो । मैले निर्वाह गरेको भूमिकाबाट उहाँ प्रभावित हुनुभएको थियो र त्यसपछि उहाँले मलाई आफ्नै नजिकको व्यक्तिजस्तो महसुस गर्नुभएको रहेछ । कलाकारका लागि त्यस्तो प्रतिक्रिया पाउनु ठूलो सौभाग्य हो । ‘भरिया’मा मैले आफ्नो तर्फबाट त्यो पात्रलाई सकेसम्म जीवन्त बनाउने प्रयास गरेको थिएँ । भारी बोक्ने, ठेलागाडा धकेल्ने लगायतका कामदेखि लिएर भरियाको जीवनशैली, उसको संघर्ष, भावना, पारिवारिक वातावरण र प्रेमका पक्षहरूलाई चलचित्रमा देखाइएको थियो । मैले कर्णालीकै जीवनलाई लक्षित गरेर विशेष चलचित्र गरेको त छैनँ, तर कर्णालीजस्तै जीवन र संघर्ष भोगिरहेका आम नेपाली पात्रहरूको भूमिका भने धेरै गरेको छु । मेरा धेरै चलचित्रका नाम पनि त्यस्तै छन् । ‘भरिया’, ‘बहादुर’, ‘एक नम्बरको पाखे’, ‘पाले दाइ’ आदि । यी चलचित्रका पात्रहरू पूर्वदेखि पश्चिमसम्मका आम नेपाली जनजीवनसँग जोडिएका थिए । त्यसैले मैले कर्णालीलाई मात्र भनेर भूमिका निर्वाह नगरे पनि आम नेपाली जनसमुदायको जीवन, संघर्ष र भावनालाई प्रतिनिधित्व गर्ने पात्रहरू धेरै गरेको छु ।

पात्र निर्वाह गर्ने मेरो आफ्नै एउटा तरिका छ । कतिपय कलाकारले कुनै पात्र निभाउँदा त्यस पात्रको अध्ययन गर्ने, त्यही जीवन बिताइरहेको व्यक्तिसँग समय बिताउने, उसको हाउभाउ बुझ्ने जस्ता विधि अपनाउनुहुन्छ । मेरो भने त्यस्तो निश्चित मेथड थिएन । मैले आफूले प्रयोग गरेको एउटा तरिका के हो भने, मैले निर्वाह गर्ने पात्रको दृष्टिकोणबाट आफूले हेर्न सक्नुपर्छ । यदि म त्यो पात्रको खुट्टामा उभिएर उसको भावना, उसको संघर्ष र उसको सोचलाई महसुस गर्न सक्छु भने मैले त्यो पात्रलाई न्याय गर्न सक्छु भन्ने लाग्छ । कलाकारको एउटा सशक्त औजार भनेकै अरूको दृष्टिकोणबाट हेर्न र बुझ्न सक्ने क्षमता हो । उदाहरणका लागि, मैले १० दिनदेखि भोकै रहेको व्यक्तिको भूमिका गर्नुप¥यो भन्दैमा म स्वयम् १० दिन भोकै बस्नुपर्दैन । तर १० दिनदेखि भोकै बसेको व्यक्तिको मनमा कस्तो भावना आउँछ, उसले कस्तो सोच राख्छ, कस्तो संघर्षबाट गुज्रिरहेको हुन्छ भन्ने कुरा उसको ठाउँमा उभिएर बुझ्न सक्नुपर्छ । त्यसो गर्न सक्ने क्षमता कलाकारमा भयो भने आफूले प्रत्यक्ष अनुभव नगरेको पात्र पनि प्रभावकारी रूपमा निर्वाह गर्न सकिन्छ ।

यस्ता पात्रहरू निर्वाह गर्दा विभिन्न समुदाय र समाजका मानिससँग भेटघाट पनि हुन्थ्यो । मैले फलामको काम गर्ने मानिसदेखि हलो जोत्ने, गाडा चलाउने लगायत विभिन्न सामाजिक पृष्ठभूमिका पात्रहरू गरेको छु । गाउँमा चलचित्र छायांकन गर्न जाँदा त्यहाँका मानिसहरू भेट्न आउनुहुन्थ्यो । उहाँहरूले आफ्नो किसिमको आत्मीयता देखाउनुहुन्थ्यो । एकपटक एउटा गाउँमा छायांकनका लागि गएको थिएँ । धेरै मानिसहरू मलाई भेट्न आउनुभएको थियो । त्यहाँ एक जना व्यक्ति धेरै समयसम्म कोठाको कुनामा मात्रै बसिरहनुभएको थियो । अरू मानिसहरू भेटेर गएपछि पनि उहाँ त्यहीँ बसिरहनुभयो । मैले उहाँलाई नजिक आउनुस् भनेर बोलाएँ । उहाँ केही हिचकिचाउनुभयो । पछि उहाँले आफू कुन सामाजिक पृष्ठभूमिको व्यक्ति भएको र त्यस कारणले अरूसँग नजिक आउन अप्ठ्यारो लागेको कुरा बताउनुभयो । मैले उहाँलाई त्यस्तो केही छैन, आउनुस् भनेर बोलाएँ । त्यसपछि हामी केही बेर कुराकानी गर्‍यौँ । त्यो छोटो कुराकानीमै उहाँसँग आत्मीयता भयो । पछि म आफ्नो काम सकेर होटलतिर जान लाग्दा उहाँले घरमा पकाएको खाजा लिएर आउनुभयो र ‘दाइ, तपाईंलाई यो खाजा ल्याइदिएको’ भन्नुभयो । यस्ता घटनाहरू कलाकारका लागि निकै अर्थपूर्ण हुन्छन् ।

यसको कारण पनि त्यही हो जस्तो लाग्छ, तपाईंले विभिन्न समुदाय र मानिसहरूको प्रतिनिधित्व गर्ने पात्र निभाउनुहुन्छ भने त्यसमा कतै न कतै न्याय गर्नुपर्छ । ‘म कलाकार हुँ, त्यसैले अभिनय गर्न आइहाल्छ’ भनेर मात्र पुग्दैन । तपाईंले पात्रको भावना आफ्नै हृदयबाट महसुस गरेर प्रस्तुत गर्नुपर्छ । त्यसो भयो भने हेर्ने व्यक्तिलाई पनि त्यो भावना कतै न कतै गएर छुन्छ ।

हरेक कलाकारको प्रयास त्यही हुन्छ । कति सफल हुन्छ, कति हुँदैन भन्ने अर्को कुरा हो । तर कलाकारले चरित्र निभाउँदा त्यो चरित्रमा आफ्नो कुनै न कुनै अंश छोडेको हुन्छ । बाहिरबाट हेर्दा दर्शकलाई कलाकारले अभिनय गरिरहेको जस्तो लाग्छ, तर उसले व्यक्त गर्ने भावना आन्तरिक रूपमा महसुस नगरी त्यसलाई विश्वसनीय रूपमा प्रस्तुत गर्न सक्दैन । रिसको दृश्य होस्, प्रेमको दृश्य होस् वा दुःखको दृश्य, कलाकारले त्यस क्षणमा त्यो भावनाबाट आन्तरिक रूपमा गुज्रनुपर्छ । वास्तविक जीवनमा हामीलाई रिस उठ्दा जुन भावना आउँछ, माया गर्दा जुन भावना आउँछ वा दुःख पर्दा जुन भावना आउँछ, अभिनय गर्दा त्यसको कुनै न कुनै अनुभव कलाकारभित्र हुनुपर्छ । कलाकारको स्रोत भनेकै उसको आफ्नै जीवनका अनुभवहरू हुन् । म कहिलेकाहीँ कलाकारको संग्रहालय वा पुस्तकालय भनेकै उसको वास्तविक जीवनमा भोगेका अनुभवहरू हुन् भन्छु । आफूलाई कहिले दुःख पर्दा के महसुस भएको थियो, कहिले रिस उठ्दा कस्तो भएको थियो, कहिले प्रेममा पर्दा कस्तो अनुभव भएको थियो, यी सबै कुरा कलाकारले मनमा कतै न कतै संचित गरेर राख्नुपर्छ ।

अभिनय गर्दा कलाकारले त्यही अनुभवबाट आवश्यक भावनालाई सापटी लिने हो । तर अभिनय र वास्तविक जीवनबीच एउटा ठूलो फरक पनि छ । चलचित्रमा ‘कट’ भनेपछि कलाकार त्यो भावनाबाट बाहिर आउन सक्छ । वास्तविक जीवनमा भने कसैले ‘कट’ भन्यो भन्दैमा भावना एकैचोटि रोकिँदैन । रुने दृश्यको उदाहरण लिने हो भने कलाकार कहिलेकाहीँ वास्तविक भावनाबाट रोएको पनि हुन्छ । तर पहिलोपटक रोएको दृश्य प्राविधिक कारणले मिलेन भने दोस्रोपटक त्यही भावना ल्याउन धेरै गाह्रो हुन्छ । क्यामेरा, प्रकाश वा सहकलाकारका कारण सट बिग्रियो र फेरि गर्नुप¥यो भने पहिलोपटक आएको वास्तविक आँसु दोस्रोपटक आउनैपर्छ भन्ने हुँदैन । त्यस्तो अवस्थामा कहिलेकाहीँ ग्लिसरिन प्रयोग गर्नुपर्ने अवस्था आउँछ । समयसँगै नेपाली दर्शकको चलचित्र हेर्ने संस्कृतिमा पनि ठूलो परिवर्तन आएको छ । म चलचित्र क्षेत्रमा प्रवेश गर्दा चलचित्र हेर्नका लागि चलचित्र भवनबाहेक अर्को विकल्प थिएन । टेलिभिजनसमेत आजको जस्तो सर्वसुलभ थिएन । मोबाइल त धेरै टाढाको कुरा थियो । त्यसैले चलचित्र हेर्न जानु आफैंमा एउटा उत्सवजस्तो हुन्थ्यो ।

त्यतिबेला चलचित्र कसरी बन्छ भन्ने पनि धेरै मानिसलाई थाहा हुँदैनथ्यो । चलचित्र निर्माणको प्रक्रिया एउटा रहस्यजस्तो थियो । गाउँबाट बजार आउँदा पनि ‘बजार पनि हेर्ने, फलानोको फिल्म पनि हेर्ने’ भन्ने हुन्थ्यो । चलचित्र हेर्नु एउटा विशेष अनुभव थियो । त्यो समयको दर्शकसँग चलचित्रको सम्बन्ध कति गहिरो थियो भन्ने देखाउने धेरै रमाइला अनुभव छन् । चलचित्रमा पानी परेको दृश्य आयो भने कतिपय दर्शकले साँच्चिकै बाहिर पानी परिरहेको होला भनेर सोच्नुहुन्थ्यो । कहिलेकाहीँ चलचित्रमा राजेश हमालको पात्र मर्दा ‘अब के हुन्छ, अर्को फिल्म कसरी आउँछ?’ भनेर दर्शकहरू सोच्नुहुन्थ्यो । चलचित्र र वास्तविक जीवनबीचको दूरी त्यतिबेला दर्शकका लागि आजको तुलनामा निकै कम थियो । अहिले अवस्था पूरै बदलिएको छ । आज मानिसको हातहातमा चलचित्र छ । चलचित्र हेर्न मात्र होइन, हरेक व्यक्तिले आफैं पनि भिडियो बनाइरहेको छ । म चलचित्र क्षेत्रमा आउँदा अभिनय गर्ने, गीतमा नाच्ने कुरा मुख्यतः कलाकारले मात्र गर्थे । अहिले हरेक मानिस टिकटक बनाउनुहुन्छ, नाच्नुहुन्छ, भिडियो बनाउनुहुन्छ र कुनै न कुनै रूपमा कलाकारिता गरिरहनुभएको छ ।

आजकाल कतिपय मानिस मसँग आएर ‘दाइ, तपाईंको गीतमा टिकटक बनाउँछु’ भन्नुहुन्छ । कहिलेकाहीँ मलाई नै नाच्न लाज लागिरहेको हुन्छ, उहाँहरू भने मज्जाले नाचिदिनुहुन्छ । यसले जनमानसमा चलचित्र र कलाकारिताप्रतिको दृष्टिकोण कति परिवर्तन भएको छ भन्ने देखाउँछ । अब दर्शक चलचित्र भवनसम्म गएर चलचित्र हेर्नुहुन्छ भने त्यहाँ आफूले मोबाइलबाट प्राप्त गर्न नसक्ने केही विशेष अनुभव होस् भन्ने चाहनुहुन्छ । त्यसैले चलचित्रको संस्कृति परिवर्तन भएको छ । पहिलाको जस्तो चलचित्र एउटा मात्र माध्यमबाट प्राप्त हुने मनोरञ्जन होइन । आज दर्शकसँग विकल्प धेरै छन् । मेरो समयमा बनेका धेरै चलचित्रहरू मनोरञ्जनात्मक भए पनि त्यसमा सामाजिक सन्देश र आम नेपाली जनजीवनको प्रतिबिम्ब हुन्थ्यो । युवाहरूको आक्रोश, सामाजिक विभेद, अन्याय, परिवर्तनको चाहना र संघर्षजस्ता विषय चलचित्रमा कुनै न कुनै रूपमा आउँथे । दर्शकले आफ्नो वास्तविक जीवनसँग त्यसलाई जोड्न सक्नुहुन्थ्यो ।

त्यसैले त्यतिबेला दर्शक र चलचित्रबीच एउटा फरक किसिमको कनेक्टिभिटी थियो । नाचगान र फाइट भए पनि चलचित्रहरूमा लोकलयका गीत, नेपाली समाजका कथा र आम मानिसका जीवनका कुरा हुन्थे । दर्शकले चलचित्रमा आफूलाई देख्नुहुन्थ्यो ।

अहिलेका चलचित्रमा दर्शकले मुख्यतः मनोरञ्जन खोज्नुहुन्छ । चलचित्र हेरेर ‘साढे दुई घण्टा मजाले बित्यो’ भन्नुहुन्छ । त्यो पनि आवश्यक कुरा हो । तर पहिलेको चलचित्र हेरेपछि केही समयसम्म कथावस्तु दिमागमा घुमिरहने, साथीभाइसँग छलफल गर्ने र त्यसका पात्रबारे कुरा गर्ने संस्कृति केही कम भएको छ । तर यसलाई अस्वाभाविक पनि भन्न मिल्दैन । समाज परिवर्तनशील हुन्छ । मैले चलचित्र सुरु गर्दा नेपाली समाजको जीवनशैली, लगाइखुवाइ, बुझाइ, रहनसहन र सोचाइ आजको भन्दा धेरै फरक थियो । त्यसैले त्यतिबेलाका चलचित्रले त्यही समाजलाई सम्बोधन गर्थे । अहिलेका चलचित्रले पनि अहिले परिवर्तन भएको समाजलाई सम्बोधन गर्ने प्रयास गरिरहेका छन् । त्यतिबेला समाजमा रहेको उच–नीच, विभेद, आक्रोश, परिवर्तनको चाहना, सामाजिक न्याय र अन्यायका विषयहरू मानिसहरूले प्रत्यक्ष महसुस गरिरहेका थिए । ती भावनाहरू चलचित्रमा मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिन्थे । त्यसैले दर्शकले चलचित्रमा आफ्नो जीवनसँग मेल खाने कुरा भेट्नुहुन्थ्यो ।

आज पनि धेरै वर्षअघि चलचित्र हेरेका दर्शकहरूलाई भेट्दा उहाँहरूले ती चलचित्रका पात्र र कथाहरू सम्झनुहुन्छ । उहाँहरू अहिले चलचित्रप्रति त्यति सक्रिय नहुन सक्नुहुन्छ तर त्यतिबेला चलचित्र हेर्दा आफूभित्र गुज्रिएको भावना भने लामो समयसम्म मनमा बसेको हुँदो रहेछ । चलचित्र र गीत–संगीतको एउटा विशेष शक्ति यही हो । मानिसले चलचित्रको कथावस्तु बिर्सन सक्छ, तर चलचित्र हेर्दा आफूले कस्तो महसुस गरेको थियो भन्ने कुरा बिर्संदैन । जीवनमा संघर्ष कहिल्यै समाप्त हुँदैन । जीवन भनेको एउटै पहाड चढेर सकिने कुरा होइन । जीवन जिउने क्रममा विभिन्न कालखण्डमा विभिन्न उचाइका पहाड चढिरहनुपर्छ । सुरुवातमा एउटा पहाड अगाडि हुन्छ । त्यसलाई चढेपछि सफल भएँ जस्तो लाग्छ । तर त्यो पहाडबाट ओर्लिएपछि फेरि अर्को पहाड अगाडि आउँछ । त्यसैले जीवनमा ‘अब मेरो संघर्ष सकियो’ भन्न मिल्दैन । जीवनको प्रक्रिया नै विभिन्न चुनौती र संघर्षसँग अगाडि बढ्ने हो । चुनौतीहरू आउँछन् भन्दैमा जीवन निरस भयो भनेर सोच्नु हुँदैन । बरु त्यसलाई बुझेर आफूलाई हरेक नयाँ चुनौती र पहाडको सामना गर्ने साहस बनाइराख्नुपर्छ ।

नेपालीमा एउटा उखान छ, ‘कि त अचानोमा टाउको राख्दै नराख्नु, अचानोमा टाउको राखिसकेपछि खुकुरीसँग किन डराउने ?’ कलाकारिता पनि त्यस्तै हो । तपाईं कलाकार बन्नुहुन्छ, सार्वजनिक व्यक्तित्व बन्नुहुन्छ र तपाईंलाई धेरै दर्शकले चिनून् भन्ने चाहनुहुन्छ भने त्यससँग आउने जिम्मेवारी र चुनौती पनि स्वीकार गर्नुपर्छ । कलाकार भएपछि दर्शकले भेट्न खोज्नु, फोटो खिच्न चाहनु वा केही समय कुराकानी गर्न चाहनु स्वाभाविक कुरा हो । सार्वजनिक स्थानमा गएर ‘दर्शकले किचकिच गरे’ भनेर गुनासो गर्नु हुँदैन जस्तो लाग्छ । एक पटक सार्वजनिक ठाउँमा आएपछि त्यो पनि तपाईंको पेशाको एउटा हिस्सा हो । तर यसको अर्थ कलाकारको निजी जीवन हुँदैन भन्ने होइन । म व्यक्तिगत रूपमा आफ्नो जीवनको एउटा छुट्टै पक्ष पनि राख्छु । यदि मलाई नितान्त व्यक्तिगत रूपमा समय बिताउन मन लाग्यो भने त्यस्तो ठाउँ रोज्छु जहाँ म आफ्नो निजी जीवनअनुसार रहन सकूँ । तर सार्वजनिक स्थानमा आएपछि दर्शकसँगको आत्मीयता, अन्तरक्रिया र उहाँहरूले केही समय बिताउन चाहेको कुरालाई म स्वाभाविक रूपमा लिन्छु ।

भविष्यमा मैले चलचित्र निर्देशन गर्ने इच्छा राखेको छु । यदि मैले निर्देशन गरेँ भने कथावस्तु कुनै न कुनै रूपमा मौलिक हुन्छ भन्ने मेरो सोच छ । नेपाली समाजकै बीचबाट उठेको कथा हुनुपर्छ भन्ने मेरो रुचि छ । पहिले दर्शकलाई धेरै बोरिङ नलागोस् भनेर चलचित्रको प्रस्तुति र कथालाई एउटा निश्चित ढाँचामा लैजानुपर्ने अवस्था थियो । अहिले दर्शकको रुचि र बुझाइ धेरै फराकिलो भएको छ । कथावस्तु राम्रो छ, चरित्रहरूले राम्रो अभिनय गरेका छन् भने दर्शकले त्यस्तो चलचित्रलाई पनि रुचाउनुहुन्छ । त्यसैले मैले निर्देशन गर्ने अवसर पाएँ भने कथावस्तु विशुद्ध मौलिक नेपाली हुनेछ तर प्रस्तुतिको शैली आधुनिक हुन सक्छ । विगतमा म कलाकारका रूपमा जसरी प्रस्तुत हुन्थेँ, निर्देशनमा सायद त्यसको तुलनामा फरक दृष्टिकोण देखिन सक्छ । तर कथा भने नेपाली समाजकै बीचबाट आएको होस् भन्ने मेरो चाहना हुन्छ । मेरो जीवनप्रति अहिले कुनै गुनासो छैन । मैले नेपाली चलचित्रको कलाकारका रूपमा बिताएको ३६÷३७ वर्षको यात्रा असाध्यै रोचक लाग्छ । जुन परिवेशबाट मैले काम सुरु गरेँ र अहिले जुन परिवेशमा आइपुगेको छु, त्यो परिवर्तन आफैंमा ठूलो अनुभव हो ।

अब पश्चिम नेपालको कथा, संस्कृति र कलाको कुरा गर्दा मलाई लाग्छ, यो क्षेत्रलाई नेपाली कलाले अझ धेरै समेट्नुपर्छ । आजभन्दा २०÷२५÷३० वर्षअघि पश्चिमका संस्कृति, कथा र लोकलय काठमाडौँमा त्यति धेरै सुनिँदैनथे । अहिले भने अवस्था धेरै बदलिएको छ । पश्चिमका गीत, नृत्य, कथा र कलाकारहरू राष्ट्रिय स्तरमा आइरहेका छन् । काठमाडौंमा बसेर पनि अहिले पश्चिमी शैलीका गीत, नाच र कथावस्तुहरू सुन्न र हेर्न पाइन्छ । त्यसैले यो क्षेत्रको कला र संस्कृतिलाई चलचित्र तथा अन्य माध्यमले अझ धेरै समेट्नुपर्छ । यहाँ कलाकारिताका धेरै स्रोतहरू छन् । पश्चिमका दाजुभाइ तथा दिदीबहिनीहरूलाई म एउटा कुरा भन्न चाहन्छु, तपाईंहरू आफ्नो रहनसहन, संस्कृति, गीत, संगीत, नाच र कथावस्तुमा असाध्यै धनी हुनुहुन्छ । त्यसलाई संरक्षण र संवर्धन गर्नुपर्छ । आउने पुस्तामा पुस्तान्तरणको प्रक्रिया कमजोर भयो भने यी संस्कृति र परम्परा विस्तारै ओझेलमा पर्न सक्छन् । हाम्रा कला, संस्कृति, नाचगान र गीत–संगीत एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएकाले जीवित छन् । नयाँ पुस्तासँग त्यसमा ग्याप भयो भने ती हराउने सम्भावना हुन्छ । त्यसैले यहाँको संस्कृति संरक्षण गर्ने जिम्मेवारी स्थानीय समुदायको मात्र होइन, कलाकारहरूको पनि हो ।

मैले पनि पश्चिमी शैलीमा आधारित गीतमा अभिनय गर्ने अवसर पाएको छु । केही वर्षअघि काठमाडौँमा समेत त्यस्तो शैली त्यति धेरै देखिँदैनथ्यो । अहिले भने पश्चिमका मौलिक लय, शब्द र संस्कृतिले राष्ट्रिय स्तरमा स्थान पाउन थालेका छन् । मलाई लाग्छ, पश्चिममा कलाको ठूलो सम्भावना छ र कुनै न कुनै रूपमा यहाँका कथा, संस्कृति र प्रतिभा अझ धेरै बाहिर आउँछन् । अहिले देशमा भएका पछिल्ला दुःखद घटनाहरूको कुरा गर्दा, नेपालको इतिहासमै ती निकै संवेदनशील र दुःखद घटना हुन् । विशेषगरी छोटो समयमा धेरै बालबालिकाले ज्यान गुमाउनु परेको घटना सामान्य घटना होइन । त्यो नेपालको इतिहासको एउटा भयंकर ठूलो मोडका रूपमा सम्झनामा रहनेछ । त्यसपछि भएको विध्वंस र सार्वजनिक सम्पत्तिको क्षतिले पनि दुःख लाग्छ । ती संरचना र धरोहरहरू कुनै एक व्यक्तिको सम्पत्ति होइनन्, हामी सबै नेपालीको सम्पत्ति हुन् । नेपालीले नेपालीकै सम्पत्तिलाई नष्ट गर्नु भनेको आफ्नै खुट्टामा आफैं बन्चरो हान्नुजस्तै हो । अहिले भएका घटनाहरूको वास्तविकता र पृष्ठभूमि विभिन्न कोणबाट हेरिँदैछ । भविष्यमा यी घटनाबारे अझ स्पष्ट तथ्यहरू बाहिर आउलान् । त्यस्तो अवस्थामा त्यसको प्रभाव कलामा पनि पर्न सक्छ । कुनै न कुनै समयमा कलाकारहरूले यस्ता घटनालाई चलचित्र वा अन्य सिर्जनात्मक माध्यममा प्रस्तुत गर्न सक्नुहुन्छ । तर अहिले नै सम्पूर्ण तथ्य स्पष्ट नभइसकेको अवस्थामा घटनाबारे ठोकुवा गरेर भन्नु उचित हुँदैन ।

राजनीतिमा जाने विषयमा पनि अहिले नै केही निश्चित भन्न सक्दिनँ । राजनीतिलाई नजिकबाट हेर्ने, राज्यको परिस्थिति र घटनाक्रमलाई ध्यानपूर्वक नियाल्ने व्यक्ति भएकाले राजनीतिको विषयमा चासो भने राख्छु । तर भविष्यमा के हुन्छ भनेर अहिले नै भन्न सकिँदैन । मानिसको जीवनमा कुनै समयमा आफ्नो भूमिका वा जिम्मेवारीको आवश्यकता महसुस हुने अवस्था आउन सक्छ । त्यस्तो परिस्थिति आयो भने त्यसबेला सोच्न सकिन्छ । पछिल्लो समय मैले गरेका केही चलचित्रहरूलाई पनि त्यही सन्दर्भमा बुझ्नुपर्छ । मैले ती चलचित्रहरूमा पूर्ण व्यावसायिक उद्देश्यले मात्र काम गरेको होइन । कतिपय चलचित्रमा कथावस्तु मन परेर सहयोगका रूपमा पनि काम गरेको छु । केही चलचित्रमा दुई–चार वटा दृश्य मात्र गरेको छु ।

उदाहरणका रूपमा, मैले हालसालै सहयोग गरेको एउटा चलचित्र अमेरिकामा रहेका भुटानी शरणार्थीहरूले निर्माण गर्नुभएको थियो । उहाँहरूले आफ्नै जनजीवनमा आधारित कथा बनाउनुभएको थियो । संयोगले म त्यतिबेला अमेरिकामै थिएँ । उहाँहरूले सहयोगका लागि एउटा सानो भूमिका गरिदिन आग्रह गर्नुभयो । कथावस्तु मन परेकाले मैले सहयोगका रूपमा भूमिका गरिदिएँ । तर चलचित्र सार्वजनिक भएपछि प्रचारको क्रममा ‘राजेश हमालको फिल्म’ भन्ने ढंगले पनि कुरा आउँछ । त्यसो भए पनि ती चलचित्रको मूल कथा र उद्देश्य फरक हुन्छ । अहिले चलचित्रमा काम गर्ने दृष्टिकोण पनि फरक छ । सबै काम पूर्ण रूपमा व्यावसायिक उद्देश्यले मात्र गरिन्छ भन्ने छैन । कहिलेकाहीँ राम्रो कथावस्तुलाई दर्शकमाझ पु¥याउन, नयाँ पुस्ताका कलाकार तथा निर्मातालाई प्रोत्साहन गर्न वा कुनै समुदायको कथा बाहिर ल्याउन पनि सहयोग गर्न सकिन्छ । मेरो लागि चलचित्र केवल एउटा पेसा मात्र होइन । यो लामो यात्राका क्रममा मैले नेपाली समाज, नेपाली दर्शक र देशका विभिन्न समुदायसँग जोडिने माध्यम पनि हो । त्यसैले आजसम्मको यात्रालाई फर्केर हेर्दा यसमा भएका संघर्ष, सफलता, असफलता, पात्र, चलचित्र र दर्शकसँगका भेटघाट सबैले मेरो जीवनको एउटा ठूलो हिस्सा बनाएका छन् ।


(ऋति फाउन्डेसनले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन् ।) 

प्रकाशित मितिः   ३० भाद्र २०८३, मंगलवार १६:२३