मौरीपालक महासंघको साधारण सभा

सुर्खेत: नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष चुडामणी चपाईंले मौरी र महको उत्पादन बजारीकरण, गुणस्तरीयता र मौरीको सुव्यवस्था हुनु पर्ने कुरामा जोड दिए ।
महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले मौरीपालनप्रति कृषकको मोह बढ्दै गएको बताए । गतवर्ष कर्णाली प्रदेशमा मह प्रशोधन केन्द्र स्थापना गरिएको भन्दै उनले प्रत्येक वर्ष मौरीपालक कृषकहरूलाई तालिम प्रदान गर्ने गरिएको जानकारी दिए । वीरेन्द्रनगर–१२ बिरुवाबारीमा ‘गोल्ड कर्णाली हनी’ नामाकरण गरेर कर्णाली मह प्रशोधन साझा सुविधा केन्द्रमार्फत सञ्चालन गरिएको छ ।
महासंघले इन इलम परियोजनाअन्तर्गत हेल्भेटास नेपालसँगको सहकार्यमा मह प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो । ठूलो क्षमताको मह प्रशोधन उद्योग सञ्चालन गरेपछि किसानलाई सुविधा पुगेको ढकालले बताए । उनले कृषकको उत्पादनलाई सहज बजारीकरण गर्न र महको शुद्धता कायम भइ मूल्यमा एकरूपता कायम गर्न आफूहरूले मह प्रशोधन उद्योग सञ्चालनमा ल्याएको जनाए ।
उद्योगले एकैपटक पाँच सय केजी मह प्रशोधन गर्नेछ । कर्णालीमा साना खालका उद्योग थिए, पहिलोपटक ठूलो क्षमताको उद्योग स्थापना गरिएको छ । वार्षिक साधारण सभामा आर्थिक र सामाजिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
प्रकाशित मितिः २६ भाद्र २०८३, शुक्रबार ०५:०१
साझा बिसौनी ।