जुम्लाको स्याउः सम्भावना ठूलो, मूल्य श्रृंखला कमजोर
परिचय
नेपालको कर्णाली प्रदेशस्थित जुम्ला जिल्ला उच्च गुणस्तरको अर्गानिक स्याउ उत्पादनका लागि देशभरि नै परिचित छ । समुद्री सतहबाट करिब २,३०० देखि ३,००० मिटरको उचाइमा अवस्थित जुम्लाको हावापानी स्याउ खेतीका लागि अत्यन्त अनुकूल छ । नेपाल सरकारले सन् १९६७ (वि.सं. २०२४) मा जुम्लामा बागवानी फार्म स्थापना गरी स्याउ खेतीको औपचारिक विस्तार सुरु गरेको थियो । कम रासायनिक प्रयोग हुने यहाँको वातावरणमा फल्ने स्याउमा प्राकृतिक मिठास, उत्कृष्ट स्वाद र उच्च पोषण गुण हुन्छ र आज यो जुम्ली किसानहरूको प्रमुख नगदे बालीका रूपमा स्थापित भइसकेको छ । जुम्लाको अर्थतन्त्र, सामाजिक जीवन र पहिचानसमेत स्याउसँग गाँसिएको छ; धेरै घरपरिवारका लागि यो वार्षिक आम्दानीको एकल सबैभन्दा ठूलो स्रोत हो ।
तर उत्कृष्ट उत्पादन र गुणस्तर हुँदाहुँदै पनि स्थानीय किसानहरूले सोचे जस्तो आर्थिक लाभ पाउन सकेका छैनन् । विभिन्न मूल्य श्रृंखला अध्ययनहरूका अनुसार, यसको मुख्य कारण उत्पादनको कमी नभइ कटानीपछिको क्षति, शीत भण्डारणको अभाव, र यातायात तथा बजार पहुँचमा रहेका प्रणालीगत अवरोधहरू हुन् । किसानदेखि उपभोक्तासम्म पुग्ने प्रक्रियामा उचित ढुवानी, आधुनिक शीतघर, प्रशोधन उद्योग र पारदर्शी बजार सूचनाको अभावले गर्दा मध्यस्थकर्ताहरूमाथिको निर्भरता उच्च छ र किसानले पाउने प्रतिफल तथा अन्तिम उपभोक्ता मूल्यबीच ठूलो अन्तर कायम रहेको छ ।
भविष्यमा जुम्ली स्याउलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरको प्रिमियम अर्गानिक ब्रान्ड बनाउन सकिने प्रचुर सम्भावना छ । यसका लागि डिजिटल कृषि, भौगोलिक संकेत अधिकार, ट्रेसबिलिटी प्रणाली, जलवायु–स्मार्ट कृषि र कृषि–पर्यटनजस्ता नवीन अवधारणा लागू गर्नु आवश्यक छ; साथै कच्चा फल मात्र नबेची स्थानीयस्तरमै प्रशोधन उद्योग खोलेर मूल्य अभिवृद्धि गर्न सकिन्छ । यी दीर्घकालीन समाधानहरू व्यावहारिक रूपमा उतार्न सरकार, निजी क्षेत्र, सहकारी संस्था र प्रविधिको समन्वित प्रयास अपरिहार्य देखिन्छ ।
जुम्ला स्याउको विशेषता र उत्पादनको वर्तमान अवस्था
जुम्लाको उच्च हिमाली जलवायु, उपयुक्त माटो र न्यून रासायनिक विषादीको प्रयोगका कारण यहाँ उत्पादन हुने स्याउ स्वाद, सुगन्ध, आकर्षक रङ र अर्गानिक सम्भावनाका लागि परिचित छ । स्थानीय किसानको परम्परागत अनुभव र प्राकृतिक उत्पादन प्रणालीले यसको गुणस्तरलाई अझ विशेष बनाएको छ । यी विशेषताका कारण जुम्लाको स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यको कृषि उत्पादनका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । तर उत्पादनपछिको व्यवस्थापन, ब्रान्डिङ, मूल्य अभिवृद्धि र बजार पहुँचमा रहेका कमजोरीका कारण यसको वास्तविक आर्थिक मूल्य र सम्भावनाको पूर्ण उपयोग हुन सकेको छैन ।
नेपालमा व्यावसायिक स्याउ उत्पादनका दृष्टिले जुम्ला महŒवपूर्ण जिल्लाका रूपमा स्थापित हुँदै गएको छ । कृषि तथा प्रादेशिक तथ्याङ्कअनुसार कर्णालीको कुल स्याउ उत्पादनमा जुम्लाको योगदान करिब ५७ प्रतिशत रहेको छ । पछिल्ला वर्षहरूमा स्याउ खेती विस्तारसँगै किसानको सहभागिता पनि बढेको छ; आ.व. २०७८/०७९ मा करिब १४,५०० रहेका स्याउ किसानको संख्या आव २०८०/०८१ सम्म आइपुग्दा करिब १८,३०० पुगेको छ । सोही आ.व. मा कुल ४,२४० हेक्टर क्षेत्रफलबाट करिब २०,५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो, जसमध्ये करिब ६१ करोड ४० लाख रूपैयाँ बराबरको स्याउ बाह्य बजारमा बिक्री भएको थियो । उत्पादन वृद्धि भएसँगै बजार कारोबारमा पनि क्रमशः सुधार आइरहेको देखिन्छ । यद्यपि, स्याउ टिपाई, गुणस्तरीय प्याकेजिङको अभाव र कटानीपछिको असन्तुलित ढुवानीका कारण प्रति क्विन्टल औसत १० प्रतिशतसम्म पोस्ट–हार्भेस्ट क्षति हुने र बजारसम्म पुग्न ८–१० दिन लाग्ने गरेकाले मूल्य श्रृंखलामा अझै व्यापक सुधारको आवश्यकता देखिन्छ ।
जुम्लामा ११ हजारभन्दा बढी घरधुरी स्याउ खेतीमा प्रत्यक्ष संलग्न रहेका छन्, जसले यस बालीको सामाजिक–आर्थिक महŒव दर्साउँछ । कुल करिब २,९०० हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएकामा हाल करिब १,५७४ हेक्टरबाट मात्र उत्पादन भइरहेको छ । यसको अर्थ खेती विस्तार गरिएको ठूलो भूभाग अझै पूर्ण उत्पादनमा आउन बाँकी छ । औसत उत्पादकत्व ६.६ मेट्रिक टन प्रति हेक्टर रहेको यो तथ्यले जुम्लामा स्याउको राम्रो सम्भावना देखाए तापनि अन्तर्राष्ट्रिय स्तरको उत्पादकत्व हासिल गर्न आधुनिक प्रविधि र गुणस्तरीय व्यवस्थापन आवश्यक रहेको स्पष्ट पार्छ । कर्णाली प्रदेशभरिमा स्याउ खेती हुने कुल क्षेत्रफलमध्ये जुम्ला अग्रस्थानमा छ; प्रदेशका अन्य प्रमुख स्याउ उत्पादक जिल्लाहरूमा कालिकोट (१,६१३ हेक्टर), मुगु (९५० हेक्टर), डोल्पा (८५० हेक्टर) र हुम्ला (४५० हेक्टर) रहेका छन् । यसले जुम्लालाई कर्णाली र समग्र नेपालकै उच्च हिमाली स्याउ उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित गरेको छ । जुम्लामा उत्पादन हुने स्याउमध्ये Red Delicious, Royal Delicious र Golden Delicious जातले उल्लेख्य हिस्सा ओगटेका छन्, भने Jonathan, Chocolate र Macintosh जातका स्याउ सीमित मात्रामा उत्पादन गरिन्छ । यसले बजारमा केही सीमित जातको प्रभुत्व देखाए पनि भविष्यमा जातीय विविधीकरणको आवश्यकता औँल्याउँछ ।
मूल्य श्रृंखला र किसानको आर्थिक अवस्था
जुम्लाको स्याउ किसानले उत्पादन गरेपछि स्थानीय संकलकले खरिद गर्छन् । त्यसपछि जिल्ला बाहिर ढुवानी भइ थोक र खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुग्छ । तर मूल्य श्रृंखलामा किसान, थोक र खुद्रा बजारबीचको मूल्य अन्तर हेर्दा उपभोक्ताले तिर्ने रकमको नगण्य हिस्सा मात्रै उत्पादकको हातमा पुग्ने गरेको छ । मूल्य श्रृंखला अध्ययनहरूअनुसार किसानले बारीमै पाउने फार्मगेट मूल्य र थोक–खुद्रा बजारसम्म पुग्दाको मूल्यबीच धेरै गुणाको अन्तर रहन्छ, र खुद्रा बजार मूल्यमा किसानको हिस्सा (Producer’s Share) निकै न्यून रहने गरेको देखिन्छ, जसले मूल्य श्रृंखलाको अधिकांश लाभांश मध्यस्थकर्ता र बजार प्रणालीले नै उपभोग गरिरहेको देखाउँछ । यसले उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा मूल्य उल्लेख्य बढे पनि त्यसको लाभ किसानसम्म पुग्न नसकेको स्पष्ट पार्छ । मूल्यवृद्धिको अधिकांश हिस्सा ढुवानी, भण्डारण, बिचौलिया र बजार व्यवस्थापनको लागत तथा नाफामै केन्द्रित रहन्छ ।
नेपालमा स्याउको माग उच्च भएपनि स्वदेशी उत्पादनले त्यसलाई मेट्न सकेको छैन । सरकारी तथ्याङ्कअनुसार नेपालले उत्पादन गर्नेभन्दा धेरै गुणा बढी ताजा स्याउ चीन, भारत र अमेरिकाबाट आयात गर्नुपर्ने अवस्था छ, जसले नेपाली बजार विदेशी स्याउमा अत्यधिक निर्भर रहेको स्पष्ट पार्छ । यदि उत्पादनपछिको व्यवस्थापन, शीत भण्डारण, मूल्य अभिवृद्धि, ब्रान्डिङ र प्रत्यक्ष बजार पहुँचमा सुधार गर्न सकियो भने जुम्लाको स्याउले स्वदेशी बजारमा आयात प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्छ । यसले किसानको आम्दानी बढाउन, रोजगारी सिर्जना गर्न र मुलुकको व्यापार सन्तुलन सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
प्रणालीगत अवरोधहरू
जुम्लाको स्याउ मूल्य श्रृंखलामा देखिएका मुख्य समस्याहरू कुनै एक व्यक्ति वा किसानको कमजोरीका कारण उत्पन्न भएका होइनन्, बरु सम्पूर्ण कृषि तथा बजार प्रणालीभित्र रहेका संरचनागत कमजोरी हुन् । यस्ता अवरोधहरूले एउटै किसानलाई मात्र नभई मूल्य श्रृंखलामा आबद्ध सबै सरोकारवालालाई असर पार्छन् । त्यसैले समाधान व्यक्तिगत प्रयासले मात्र सम्भव नभइ पूर्वाधार विकास, नीतिगत सुधार, संस्थागत समन्वय र निजी क्षेत्रको सहभागितामार्फत प्रणालीमै सुधार ल्याउनु आवश्यक छ ।
संकलन र भण्डारणको समस्या यसको एउटा प्रमुख उदाहरण हो । स्याउ टिपिसकेपछि सुरक्षित राख्ने पर्याप्त चिस्यान भण्डारण (Cold Storage) सुविधा जुम्लामा अझै सीमित छ । फलस्वरूप किसानले स्याउ तुरुन्तै बेच्न बाध्य हुन्छन्; बजारमा एकैचोटि धेरै स्याउ आउँदा मूल्य घट्छ र किसानले कम मूल्य स्वीकार्नुपर्ने अवस्था सिर्जना हुन्छ । जुम्लामा हाल १० संकलन केन्द्र र ८ Cellar Store सञ्चालनमा रहे पनि बढ्दो उत्पादनलाई व्यवस्थित रूपमा भण्डारण गर्न ती पर्याप्त छैनन् । प्रदेश सरकारले कृषि क्षेत्रको व्यावसायिकता र उत्पादकत्व वृद्धिका लागि स्थानीय तहहरूलाई दिइने समपूरक र विशेष अनुदान बजेटमार्फत स्याउको बजारीकरण तथा भण्डारण पूर्वाधारलाई प्राथमिकतामा राखेको छ, र प्रदेश–स्थानीय तहको संयुक्त लगानीमा हाई–टेक शीत भण्डारण परियोजना कार्यान्वयन भइरहेका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र ICIMOD को अध्ययनअनुसार उत्पादन भएको कुल स्याउमध्ये करिब ३१ प्रतिशत फल भण्डारणको अभाव, ढुवानी समस्या तथा कुहिने अवस्थाका कारण नष्ट हुने गर्छ, अर्थात् प्रत्येक १०० केजी उत्पादनमध्ये करिब ३१ केजी स्याउ उपभोक्तासम्म पुग्नुअघि नै नोक्सान हुन्छ । यो केवल किसानको आर्थिक घाटा मात्र होइन, राष्ट्रिय खाद्य प्रणालीको पनि ठूलो क्षति हो । बाँकी उत्पादनमध्ये करिब ४३ प्रतिशत स्थानीय उपभोगमा, ११ प्रतिशत प्रशोधनमा र १५ प्रतिशत जिल्ला बाहिर बिक्री वा निर्यातमा जान्छ । यसले जुम्लाको मुख्य समस्या उत्पादनको कमी नभइ उत्पादनपछिको व्यवस्थापन कमजोर रहेको पुनःपुष्टि गर्छ । यदि आधुनिक Cold Storage, वैज्ञानिक प्याकेजिङ तथा प्रभावकारी ढुवानी प्रणाली विकास गर्न सकियो भने यही नोक्सानलाई आम्दानीमा परिवर्तन गर्न सकिन्छ ।
जुम्लाबाट नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायतका बजारसम्म स्याउ पु¥याउन लामो दूरी पार गर्नुपर्छ । सडकको अवस्था, पहिरो, मौसम र उच्च ढुवानी खर्चका कारण उत्पादनको लागत बढ्ने र केही स्याउ बाटोमै बिग्रने समस्या देखिन्छ । धेरै किसानले आफ्नै ढुवानी व्यवस्था गर्न सक्दैनन्; उनीहरू व्यापारीमा निर्भर हुन्छन्, जसका कारण मूल्य निर्धारणमा किसानको भूमिका कमजोर बन्छ । साथै, जुम्लाका अधिकांश किसानसँग दैनिक बजार मूल्य, माग तथा सम्भावित खरिदकर्ताको पर्याप्त जानकारी नहुँदा उनीहरूले स्थानीय व्यापारीले प्रस्ताव गरेको मूल्यमै बिक्री गर्नुपर्ने अवस्था आउँछ । बिचौलियाको भूमिका आवश्यक हुन सक्छ, तर प्रतिस्पर्धी बजार प्रणालीको अभावमा उनीहरूको प्रभाव अत्यधिक हुँदा किसानले उचित प्रतिफल पाउन सक्दैनन्, जसले उत्पादन बढे पनि किसानको आयमा अपेक्षित सुधार आउन नसक्ने अवस्था सिर्जना गरेको छ ।
मूल्य अभिवृद्धि गर्ने प्रशोधन उद्योगको अभाव अर्को महŒवपूर्ण अवरोध हो । जुम्लामा उत्पादन हुने अधिकांश स्याउ ताजा फलका रूपमा मात्र बिक्री हुने भएकाले किसानले यसको वास्तविक आर्थिक लाभ प्राप्त गर्न सकेका छैनन् । विकसित देशहरूमा स्याउबाट जुस, जाम, साइडर, ड्राइ एप्पल, भिनेगर, क्यान्डी र बेबी फुडजस्ता प्रशोधित उत्पादन तयार गरी उच्च मूल्यमा बिक्री गरिन्छ, तर जुम्लामा त्यस्तो प्रशोधन उद्योगको अभावमा किसान कच्चा स्याउ बेच्न बाध्य छन्, जसले गर्दा बजारमा मूल्य घट्दा उनीहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्छ । प्रदेशको मध्यकालीन खर्च संरचना MTEF, आव २०८०/०८१ देखि) ले स्याउको मूल्य अभिवृद्धि, प्याकेजिङ र ‘कर्णाली ब्रान्ड’ प्रवद्र्धनका लागि अनुदान तथा बजेटलाई प्राथमिकतामा राखेको छ । यदि जुम्लामै आधुनिक प्रशोधन उद्योग स्थापना गरी गुणस्तरीय उत्पादन तयार गर्न सकिए किसानले दोस्रो तथा तेस्रो दर्जाका स्याउबाट समेत राम्रो आम्दानी गर्न सक्नेछन्, जसले महिला तथा युवाको उद्यमशीलतालाई पनि प्रोत्साहन दिनेछ ।
वित्तीय पहुँच र बीमाको अभाव पनि किसानको जोखिम बढाउने कारक हो । कृषि उद्यम विस्तारका लागि सहुलियतपूर्ण ऋण, कृषि बीमा र लगानी आवश्यक भए पनि धेरै किसानको अझै औपचारिक वित्तीय संस्थासम्म सहज पहुँच पुग्न सकेको छैन । खराब मौसमका कारण उत्पादन नष्ट हुँदा किसानले ठूलो आर्थिक जोखिम बेहोर्नुपर्ने बाध्यता छ । यस्तो जोखिम कम गर्न प्रभावकारी कृषि बीमा प्रणाली र सहुलियतपूर्ण कृषि कर्जाको पहुँच बढाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । आर्थिक मामिला तथा योजना मन्त्रालय (MOEAP) ले बजेटमार्फत प्रदान गर्ने सहुलियतपूर्ण कृषि कर्जा, ब्याज अनुदान र साना किसानका लागि लक्षित वित्तीय सहायताका नीतिहरू यस दिशामा सहयोगी हुन सक्छन् ।
अन्तिममा, संस्थागत समन्वयको चुनौती सबैभन्दा फितलो कडी बनेको छ । जुम्लाको स्याउ क्षेत्रसँग स्थानीय सरकार, प्रदेश सरकार, संघीय निकाय, सहकारी, निजी क्षेत्र र विकास साझेदार सबै जोडिएका छन्, तर नीतिगत तथा कार्यान्वयन स्तरमा समन्वय अभाव देखिन्छ । उदाहरणका लागि, विभिन्न निकायबाट सामान वितरणजस्ता कार्यक्रम दोहोरिने गरेका छन् भने ठूला शीतभण्डार व्यवस्थापन, गुणस्तर प्रयोगशाला र बजार सूचना प्रणालीजस्ता आधारभूत पूर्वाधार छुट्ने गरेका छन्, जसले बजेट र स्रोतको प्रभावकारी उपयोगमा असर पार्छ । दीर्घकालीन सफलता हासिल गर्न सबै सरोकारवालाले साझा लक्ष्य, स्पष्ट जिम्मेवारी र नियमित समन्वयका आधारमा काम गर्नु आवश्यक छ ।
जलवायु परिवर्तनको जोखिम
पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा गम्भीर प्रभाव पारेको छ, र जुम्ला पनि यसको अपवाद होइन । पहिले नियमित रूपमा हुने हिमपात, समयमै पर्ने वर्षा र अनुकूल तापक्रमले स्याउ उत्पादनका लागि उपयुक्त वातावरण सिर्जना गथ्र्यो । तर अहिले तापक्रम वृद्धि, अनियमित वर्षा, लामो खडेरी, असिनापानी तथा मौसमको अनिश्चितताले उत्पादनमा प्रत्यक्ष असर पुर्याउन थालेको छ । यदि अहिले नै जलवायु–अनुकूल कृषि प्रणाली अपनाइएन भने आगामी दशकमा जुम्लाको स्याउ उत्पादनमा उल्लेखनीय गिरावट आउन सक्ने जोखिम देखिन्छ । त्यसैले अब उत्पादन बढाउनेभन्दा पनि जलवायुसँग अनुकूल हुने कृषि प्रणाली (Climate-Smart Agriculture) विकास गर्नु आवश्यक छ । यसअन्तर्गत वर्षाको पानी संकलन, सूक्ष्म सिँचाइ प्रणाली, माटो संरक्षण, नयाँ जातको अनुसन्धान तथा रोग प्रतिरोधी बिरुवाको विकासमा विशेष ध्यान दिनुपर्छ । यसका साथै मौसम पूर्वानुमान प्रणालीलाई किसानसम्म समयमै पु¥याउने संयन्त्र पनि सुदृढ बनाउनुपर्छ, जसले फसल जोखिम व्यवस्थापनमा प्रत्यक्ष सहयोग पु¥याउँछ ।
प्रविधि, ब्रान्डिङ र नयाँ अवसरहरू
जुम्लाको भौगोलिक तथा प्राविधिक यथार्थलाई हेर्दा सोझै जटिल कृत्रिम बुद्धिमत्ता (AI) भन्दा पहिले ‘हाम्रो पात्रो’ वा कृषि ज्ञान केन्द्रको भ्वाइस/एसएमएस परामर्श (Digital Advisory) बाट सुरुआत गर्नु व्यावहारिक हुन्छ । यसैसँगै एबिलतष्ह एपमार्फत फोटो खिचेर रोग–कीराको प्रारम्भिक निदान गर्ने र AI–आधारित सेन्सरमार्फत कोल्ड स्टोरभित्रको तापक्रम–आद्र्रता स्वचालित मिलाउने जस्ता ठोस प्रयोगहरू क्रमशः जोड्न सकिन्छ, जसले किसानलाई कम लागत र जोखिममै गुणस्तरिय उत्पादन पाउन सहज बनाउँछ ।
विश्व बजारमा उत्पादनको गुणस्तर मात्र होइन, त्यसको विश्वसनीयता र पारदर्शिता पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । जुम्लाको स्याउमा QR Code मा आधारित डिजिटल ट्रेसबिलिटी प्रणाली लागू गर्न सके उपभोक्ताले उत्पादनको स्रोत, किसान, उत्पादन मिति, गुणस्तर तथा प्रमाणीकरणसम्बन्धी जानकारी सहजै प्राप्त गर्न सक्छन् । यसले उपभोक्ताको विश्वास बढाउने, नक्कली उत्पादन नियन्त्रण गर्ने, गुणस्तर सुनिश्चित गर्ने तथा निर्यात बजारका मापदण्ड पूरा गर्न सहयोग पुर्याउँछ र जुम्लाको स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय, प्रिमियम ब्रान्डका रूपमा स्थापित गर्ने आधार तयार गर्छ ।
जुम्लाको स्याउको विशिष्ट स्वाद, गुणस्तर र हिमाली पहिचानलाई दीर्घकालीन रूपमा संरक्षण गर्न भौगोलिक संकेत (Geographical Indication–GI) प्राप्त गर्नु आवश्यक छ । GI मान्यताले ‘जुम्ला एप्पल’ को नाम र मौलिकतालाई कानुनी संरक्षण प्रदान गर्दै नक्कली उत्पादन नियन्त्रण, उपभोक्ताको विश्वास अभिवृद्धि र उत्पादनको ब्रान्ड मूल्य वृद्धि गर्न मद्दत गर्छ । साथै, यसले अन्तर्राष्ट्रिय बजारमा जुम्लाको स्याउलाई प्रिमियम कृषि उत्पादनका रूपमा स्थापित गरी निर्यात प्रवद्र्धन र किसानले उचित मूल्य प्राप्त गर्ने वातावरण सिर्जना गर्न सक्छ । दार्जिलिङ चियाजस्ता GI प्राप्त उत्पादनको सफलताले पनि यस्तो पहल जुम्लाको स्याउका लागि प्रभावकारी हुन सक्ने संकेत गर्दछ ।
कृषि–पर्यटन (Apple Tourism) जुम्लाको स्याउ क्षेत्रको विकासका लागि नयाँ सम्भावनाका रूपमा अघि बढिरहेको अवधारणा हो । स्याउ फुल्ने र फल्ने मौसममा बगैंचा अवलोकन, स्याउ टिप्ने अनुभव तथा स्थानीय संस्कृतिसँग जोडिएका गतिविधि सञ्चालन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । यसका लागि Apple Festival, Orchard Visit र Homestay Program जस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ, जसले किसानलाई स्याउ बिक्रीबाट मात्र नभइ पर्यटन सेवा, होमस्टे र हस्तकलाबाट पनि अतिरिक्त आम्दानी गर्ने अवसर प्रदान गर्छ । कृषि र पर्यटनलाई एकीकृत रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना हुने र जुम्लाको स्याउको पहिचान अझ मजबुत हुने सम्भावना रहन्छ ।
अन्तर्राष्ट्रिय अभ्यास र नीतिगत सुधारका लागि सिफारिस
इटाली, जापान, न्युजिल्यान्ड र दक्षिण कोरियाजस्ता देशहरूले आफ्नो कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा सफल बनाउन उत्पादनको गुणस्तर, प्रभावकारी ब्रान्ड निर्माण र किसान तथा बजारबीचको प्रत्यक्ष समन्वयलाई प्राथमिकता दिएका छन् । यी देशहरूले उपभोक्ताको मागअनुसार गुणस्तरीय उत्पादन, विश्वासिलो आपूर्ति प्रणाली र पहिचानयुक्त ब्रान्ड विकास गरेर आफ्ना कृषि उत्पादनको मूल्य र बजार विस्तार गर्न सफल भएका छन् । नेपालले पनि जुम्लाको स्याउलाई यस्तै दृष्टिकोणबाट विकास गर्न सके यसको विशिष्ट पहिचान स्थापित गर्न, मूल्य अभिवृद्धि गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ । यसका लागि उत्पादनदेखि बजारसम्मका सबै सरोकारवालाबीच प्रभावकारी समन्वय, गुणस्तर सुनिश्चित गर्ने प्रणाली र दीर्घकालीन बजार रणनीतिमा विशेष ध्यान दिन आवश्यक छ ।
जुम्लाको स्याउ मूल्य श्रृंखलामा सुधार ल्याउन उत्पादन, पूर्वाधार र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ । यसका लागि प्रदेशका MoLMAC र MOEAP बीच प्रादेशिक वित्तीय समन्वय सुदृढ गरी जलवायु–स्मार्ट कृषि कोष परिचालन गर्ने तथा स्थानीय तहलाई दिइने ससर्त र समपूरक अनुदानमार्फत शीत भण्डार, सेलर स्टोर र प्रशोधन पूर्वाधार निर्माण गर्नुपर्छ, जसबाट पोस्ट–हार्भेस्ट भौतिक क्षति दर उल्लेखनीय रूपमा घट्नेछ । यसका साथै उत्पादनको ट्रेसबिलिटीका लागि QR Code प्रणाली, ‘जुम्ला स्याउ’ को GI Tag प्रमाणीकरण, ई–कमर्स बजारीकरण र Apple Tourism अवधारणालाई प्रवद्र्धन गर्न आवश्यक छ, जसले मध्यस्थकर्तामाथिको निर्भरता हटाउँदै जुम्ली स्याउलाई अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड पहिचान दिनेछ ।
यसका प्रमुख नीतिगत कदमहरू निम्नानुसार संक्षिप्तमा उल्लेख गर्न सकिन्छः पहिलो, स्याउ उत्पादन क्षेत्रलाई बजारसँग जोड्न गुणस्तरीय सडक, संकलन केन्द्र, चिस्यान भण्डारण र आधुनिक प्याकेजिङ केन्द्रको विस्तारमा दीर्घकालीन लगानी गर्ने । दोस्रो, जुस, जाम, साइडर, भिनेगर र ड्राइ एप्पलजस्ता प्रशोधन उद्योग स्थापना गरी कच्चा स्याउ बिक्रीमाथिको निर्भरता घटाउने । तेस्रो, ‘जुम्ला स्याउ’ को GI दर्ता प्रक्रिया अघि बढाइ कडा गुणस्तर मापदण्ड र QR–आधारित ट्रेसबिलिटी प्रणाली कार्यान्वयन गर्ने, साथै साना किसानलाई जोड्न सामूहिक बजारीकरण सुनिश्चित गर्ने । चौथो, मोबाइल एप र डिजिटल बजार प्रणालीमार्फत किसानलाई प्रत्यक्ष बजारसँग जोड्ने । पाँचौं, उद्यमशीलता विकास र प्राविधिक तालिममार्फत स्याउ मूल्य श्रृंखलामा युवा र महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्ने । छैटौं, जलवायु–अनुकूल स्याउ खेती र नयाँ जात विकाससम्बन्धी अनुसन्धानमा लगानी बढाउने ।
यी सुधारका लागि चरणबद्ध कार्यान्वयन रणनीति उपयुक्त देखिन्छ । अल्पकालीन अवधि (१–२ वर्ष) भित्र किसानलाई प्राविधिक तालिम दिने, थप संकलन केन्द्र र डिजिटल बजार सूचना प्रणाली स्थापना गर्ने लक्ष्य राख्नुपर्छ । मध्यम अवधि (३–५ वर्ष) भित्र ठूलो क्षमताको चिस्यान भण्डार निर्माण, प्रशोधन उद्योग स्थापना र GI दर्ता प्रक्रिया पूरा गर्ने कार्य गर्नुपर्छ । दीर्घकालीन अवधि (पाँच वर्षभन्दा माथि) मा GI ब्रान्डको अन्तर्राष्ट्रिय प्रवद्र्धन र Apple Tourism को पूर्ण विस्तार गर्दै ‘Jumla Apple’ लाई अन्तर्राष्ट्रिय प्रिमियम ब्रान्डका रूपमा स्थापित गर्ने रणनीति अवलम्बन गर्न सके जुम्लाको स्याउ मूल्य श्रृंखलालाई थप प्रतिस्पर्धी र दिगो प्रणालीका रूपमा विकास गर्न सकिन्छ ।
निष्कर्ष
यस अध्ययनअनुसार जुम्लाको स्याउ मूल्य श्रृंखलाको मूल समस्या उत्पादनमा नभइ उत्पादनपछिको व्यवस्थापन, भण्डारण, मूल्य अभिवृद्धि र फितलो संस्थागत समन्वयमा छ । अनुकूल भूगोल र प्राविधिक अनुभव भए तापनि बजार संरचना सुदृढ नहुँदा यसको पूर्ण लाभ किसानसम्म पुग्न सकेको छैन । त्यसैले परम्परागत उत्पादनमुखी दृष्टिकोणबाट मूल्य अभिवृद्धि र दिगो बजारीकरणतर्फ अघि बढ्नुपर्छ । तीनवटै तहका सरकार, निजी क्षेत्र र सहकारीबीच सहकार्य कायम हुन सके जुम्ली स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य दिने ब्रान्ड बनाउन सकिन्छ । वास्तवमा जुम्लाको स्याउ विकास केवल कृषि उपजको प्रवद्र्धन मात्र नभई कर्णालीको समग्र समृद्धि र दिगो ग्रामीण अर्थतन्त्र निर्माणको मुख्य आधार हो ।
(लेखक लक्ष्मी चपाईं ऋति फाउन्डेसनमा अनुसन्धान प्रशिक्षार्थीको रूपमा कार्यरत छन्)
प्रकाशित मितिः २५ भाद्र २०८३, बिहीबार १२:०७


लक्ष्मी चपाईं ।