कर्णालीका १६८ जना अझै सम्पर्कविहीन

सुर्खेत: रसुवाको कोटेकोशी नदीमा आएको बाढीमा परेर कर्णाली प्रदेशका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका १०, पिपलनेटाका २० वर्षीया आयुष खड्का र हुम्लाको ताँजाकोट गाउँपालिका २ का ३५ वर्षीया नहकुल शर्मा छन् ।

भदौ १४ गते शव फेला परेका सल्यानका खड्काको १५ गते सनाखत भएर देवघाटमा दाहसंस्कार गरिएको छ । उनी टिमुरेको प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत थिए । उनको शव चितवनको देवघाटमा फेला परेको थियो । हुम्लाका शर्मा रसुवाको भन्सार अधिकृत थिए । भदौ १५ गते गोरखामा शव फेला परेका उनको १६ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको राठौरले बताए ।

कतिपयले आफन्तको शव फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । शनिवार सल्यानमा कुशकै शव बनाएर प्रमिला बुढाथोकीको दाहसंस्कार गरिएको छ । अझै एक सय ६८ जनाको अवस्था अज्ञात रहेको छ ।

सुरुमा कर्णालीका १० जिल्लाका दुई सय ४८ जना नागरिक बाढीमा परी सम्पर्कविहीन बनेका थिए । पछिल्लो विवरण अनुसार तीमध्ये ७८ जना सम्पर्कका आए । अझै एक सय ६८ जनाको अवस्था अज्ञात रहेको प्रहरी प्रवक्ता राठौरले बताए । बेपत्ता हुनेमा एक सय ३४ जना पुरुष, २६ जना महिला र आठ जना बालबालिका छन् ।

प्रहरीकाअनुसार सबैभन्दा धेरै जुम्लाका ६३ जना अझै सम्पर्क बाहिर छन्, जसमा ६१ पुरुष, एक महिला र एक बालक छन् । सल्यानका ३७ पुरुष, ११ महिला र तीन जना बालबालिकाको अवस्था अज्ञात छ । मुगुका ६ जना पुरुष, चार महिला एक बालक, सुर्खेतका १४ पुरुष, एक महिला, दैलेखका चार पुरुष एक महिला, जाजरकोटका दुई पुरुष, रुकुमपश्चिमका तीन पुरुष, तीन महिला र एक बालिकाको अवस्था पनि अज्ञात छ । यस्तै, कालीकोटका तीन पुरुष, दुई महिला, एक बालक, डोल्पाका एक÷एक जना पुरुष, महिला र हुम्लाका तीन जना पुरुष, दुई जना महिला र एक जना बालिका छन् ।

प्रकाशित मितिः   २२ भाद्र २०८३, सोमबार ०५:०१