अब हर्रेमा विषादी परीक्षण

सुर्खेत: सुर्खेतको हर्रेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गरिएको छ । कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

विषादी अवशेक्ष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको कर्णाली प्रदेश सरकारले जनाएको छ । अहिले सञ्चालन गरिएको भएपनि दुई महिनापछि मात्र रिपोर्ट सार्वजनिक गरिनेछ । अहिले ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षण प्रयोगशाला सञ्चालन गरिएको विषादी परीक्षण प्रयोगशाला सुर्खेतले जनाएको छ । अहिले आयात–निर्यात हुने तरकारी, पसलमा राखिएका तरकारी र किसानको बारीको तरकारीहरूमा नमुना परीक्षणको काम भइरहेको विषादी परीक्षण प्रयोगशाला सुर्खेतका प्रमुख परशुराम रावतले बताए । उनका अनुसार यो प्रक्रिया करिब दुई महिनासम्म चल्नेछ । दुई महिनापछि मात्र परीक्षणको नतिजा नै दिनेगरी काम अघि बढाउने रावतले जानकारी दिए ।

प्रदेशमा एकीकृत कृषि प्रयोगशाला छ । जसले बिउबिजन परीक्षण प्रयोगशाला, माटो परीक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला सञ्चालन गरिरहेको छ । प्रदेश सरकारले हर्रेबाट पनि विषादी परीक्षण प्रयोगशाला सञ्चालन गरेको छ भने सल्यानको कपुरकोटमा सञ्चालनको लागि तयारी भइरहेको छ । अहिले तीन वटा प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्तिको माग गरिएको जनाइएको छ । अहिले प्रयोगशालामा स्वीकृत दरबन्दी १८ जनाको हो । हाल स्थायी कार्यरत १४ जना रहेका छन् । चार वटा दरबन्दी रिक्त छन् । १४ जना स्थायी कार्यरत कर्मचारीमध्ये प्राविधिक कर्मचारी आठ जना रहेका छन् । प्रयोगशालामा प्राविधिक कर्मचारी अभाव रहेको छ ।

एकीकृत कृषि प्रयोगशालाले कार्यालयबाटै तीन वटा प्रयोगशाला सञ्चालन गरिरहेको छ भने सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला पनि एकीकृत कृषि प्रयोगशाला मातहतमा रहने छन् । १८ दरबन्दी कायम गरेर पाँच वटा भिन्न–भिन्न शाखा हेर्ने जिम्मेवारी प्रयोगशालालाई दिइएको छ । हर्रेबाट समेत पूर्णरूपमा परीक्षण प्रयोगशाला सञ्चालन गर्न दुई महिना लाग्नेछ । मेसिन उपकरणको मापन र भौगोलिक स्थानको छनोटका आधारमा प्रयोगशाला सञ्चालन गर्ने तयारी गरिएको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि नै कर्णालीलाई अर्गानिक प्रदेश बनाउन आधारभूत योजनाहरू अघि सारेको थियो । प्रदेश सरकार गठन भएपछि मन्त्रिपरिषद्को पहिलो बैठकले नै ‘अर्गानिक प्रदेश’ बनाउने निर्णय ग¥यो । अर्गानिक प्रदेश बनाउन प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तुमा विषादीको प्रयोग रोक्ने योजना बनायो । प्रदेश बाहिरबाट भित्रिने विषादीयुक्त तरकारी तथा फलफूलको आयातलाई पनि निरुत्साहित गर्नेलगायतका नीति अघि सा¥यो । देश संघीयतामा गएको एक दशकपछि मात्र प्रदेश सरकारले विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । प्रयोगशालाको पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई महिना लाग्नेछ ।

यस्तै, प्रदेश सरकारले विषादीको प्रयोग न्यूनीकरण गर्न ऐन निर्माण गरेको छ । अर्गानिक प्रदेश बनाउने अवधारणालाई सघाउ पु¥याउने उद्देश्यले ऐन निर्माण गरेको हो । ऐन निर्माण गरेर साविक कर्णालीका जिल्लालाई रासायनिक विषादी प्रयोगमुक्त क्षेत्र घोषणा गर्ने योजना निर्माण गरिएको छ । प्रदेश सरकारले सुुरूवाती चरणदेखि नै कर्णालीलाई अर्गानिक प्रदेश बनाउन आधारभूत योजनाहरू अघि बढाएको छ । सोहीअनुसार बजेट–नीति तथा कार्यक्रममा यस विषयले प्राथमिकता पनि पाउँदै आएका छन् । यो वर्षबाट सुर्खेतको हर्रेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएसँगै थप आशा पलाएको छ ।

प्रकाशित मितिः   २१ भाद्र २०८३, आईतवार ११:०७