मप विश्वविद्यालयमा जारी आन्दोलनले सुर्खेतमा कांग्रेसभित्र विवाद

सुर्खेत, ९ असार ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा विद्यार्थीले आन्दोलन थालेपछि सुर्खेतमा कांग्रेसभित्र विवाद उत्पन्न भएको छ । विद्यार्थीले जारी राखेको आन्दोलनको विषयमा कांग्रेसको जिल्ला नेतृत्व नै दुई धारमा विभाजित भएको हो । कांग्रेसभित्र एक पक्षले उक्त आन्दोलनलाई जायज र अर्को पक्षले गलत भनेका छन् ।


सभापति कमलराज रेग्मीसहित पार्टीको एउटा पक्ष विद्यार्थीको आन्दोलनको पक्षमा देखिएको छ । रेग्मीले जिल्लाका अन्य पार्टीको पनि सहमति जुटाएर असार ३ गते विद्यार्थीका माग पूरा गराउन विज्ञप्ती नै निकाले । कांग्रेसभित्र रेग्मी पक्ष आन्दोलन जायज भएकाले विद्यार्थीका माग विश्वविद्यालयले पूरा गर्नुपर्ने अडानमा छ । तर सभापति रेग्मीले पार्टीमा कुनै छलफल नै नगरेर एकलौटी विज्ञप्ती निकालेको भन्दै सचिव टोपबहादुर रावतले त्यसको कडा विरोध गरेका छन् । रावत पक्षले उक्त आन्दोलनलाई विश्वविद्यालयको विकास र विस्तारमा बाधक भनेको छ ।
विश्वविद्यालयमा विभिन्न माग राख्दै केही विद्यार्थी संगठनहरूले गत जेठ २७ गतेबाट आन्दोलन जारी राखेका छन् । उक्त आन्दोलनमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघको एउटा पक्ष सहभागी छ । नेविसंघको अर्को पक्ष भने आन्दोलनको विपक्षमा रहेको छ । विद्यार्थीको मुख्य माग विश्वविद्यालयले तत्काल आंगिक क्याम्पस स्वीकृत र निजी संस्थानहरूलाई सम्बन्धन दिन नहुने रहेको छ । आन्दोलनकै क्रममा तोडफोड भएपछि विश्वविद्यालयले नेविसंघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई निश्कासनको कारबाही गरेको छ । त्यसलगत्तै कांग्रेस सभापति रेग्मीसहित जिल्लाका अन्य केही दलहरूले संयुक्त विज्ञप्ती निकालेर शाहीमाथिको कारबाही फिर्ता र माग पूरा गर्न आग्रह गरेका थिए । सभापति रेग्मीको संलग्नतामा उक्त विज्ञप्ती आएपछि सचिव रावतले त्यसको प्रतिवाद गरेका छन् ।
कांग्रेसका जिल्ला सचिव रावत र नेता यज्ञबहादुर बिसीले शुक्रवार छुट्टाछुट्टै विज्ञप्ती निकाल्दै सभापति रेग्मीले विश्वविद्यालयको विकास र विस्तारमा अवरोध गर्न खोजेको आरोप लगाएका हुन् । पार्टीभित्र छलफल र निर्णय विना नै अन्य दलसँग गठजोड गर्दै सभापतिले ‘अशोभनीय र निन्दनीय’ काम गरेको आरोप उनीहरूको छ । सचिव रावतले भने, ‘जनताले दुःख गरेर स्थापना गरेको विश्वविद्यालय हो, यसले विस्तारै गति लिन लागेको छ । कुनै पनि बहानामा यसमा अवरोध गरिनु हुँदैन, तर सभापतिज्यू पार्टीभित्र छलफल नै नगरी विश्वविद्यालयको सफल अभियानलाई असफल पार्नेतर्फ लाग्नुभयो ।’ उनले सभापति एकलौटी रूपमा अगाडि बढेको भन्दै तत्काल विज्ञप्ती फिर्ता लिन र पार्टीको नियमित काममा लाग्न आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘आफ्ना पूराना गतिविधिहरू सच्याउनुस्, यदि सच्चिएनन् भने त्यसपछिको सम्पूर्ण जिम्मेवारी सभापतिज्यूले नै लिनुपर्नेछ ।’
विश्वविद्यालयमा भइरहेको आन्दोलनमा नेविसंघको एउटा गुट सहभागी छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष नेविसंघका कार्यकर्ताहरू आन्दोलनमा छन् । तर पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेविसंघका कार्यकर्ताहरू भने आन्दोलनको पक्षमा छैनन् । विद्यार्थीमा देखिएको गुटको प्रभाव सुर्खेतको कांग्रेस नेतृत्वमासमेत परेको छ । आन्दोलनकै विषयमा जिल्ला नेतृत्व पक्ष र विपक्षमा उभिएसँगै कांग्रेसमा विवाद उत्पन्न भएको हो । नेता यज्ञबहादुर बिसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘जनताको छाक कटाएर स्थापना भएको विश्वविद्यालय हो, यसले पछिल्लो समय सफलता प्राप्त गर्दैछ । तर सभापतिज्यूले विश्वविद्यालयका पदाधिकारीको अपमान गर्ने र राम्रो काम हुन नदिने मनसाय राख्नुभयो, यसमा हाम्रो आपत्ति छ ।’ साथै उनले कांग्रेस विश्वविद्यालयको विकास र विस्तारमा पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
यता सभापति रेग्मीले भने विद्यार्थीका जायज मागमा जिल्लाका राजनीतिक दलहरूको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘विद्यार्थीको केन्द्रीय सदस्यलाई विश्वविद्यालयले निश्कासन गरेपछि हाम्रो ध्यानाकर्षण भयो, पार्टीभित्र भन्दा पनि अन्य दलसँग हामीले साझा धारणा बनाएका हौं । अहिले पनि विश्वविद्यालय पूर्णरूपमा स्थापित हुनसकेको छैन, यस्तो अवस्थामा अन्य क्याम्पसलाई सम्बन्धन दिनु हुँदैन भन्ने हाम्रो बुझाइ हो ।’ आफू जिल्ला बाहिर रहेको भन्दै उनले कसैले विज्ञप्ती निकालेको बारेमा जानकारी नभएको बताए ।
विश्वविद्यालयको स्ववियु, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नयाँ शक्ति विद्यार्थी युनियन आन्दोलनको विपक्षमा छन् । विश्वविद्यालयका पदाधिकारीहरूले पनि आफूहरू शैक्षिक मागहरू पूरा गर्न तयार रहेको बताउँदै आएका छन् । तर पछिल्लो समय गुटगत स्वार्थका कारण विश्वविद्यालयले निकास पाउन सकेको छैन । जसका कारण चन्दादाता, संस्थापक र स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   १० असार २०७४, शनिबार १३:१४