‘महिला हिंसा रोक्न सँगसँगै’
सुर्खेत, ९ असार ।
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रदेश नम्बर ६ का अगुवा महिलाहरूले प्रतिबद्धता जनाएका छन् । प्रदेशमा महिला हिंसा अन्त्य गर्नका लागि सबै महिला अगुवाहरू सँगसँगै सहकार्य गर्ने उनीहरूले बताएका हुन् ।
आवाज संस्थाको आयोजना तथा वियोन्ड बेइजिङ्ग कमिटी काठमाडौंको आर्थिक सहयोगमा शुक्रवार वीरेन्द्रनगरमा भएको लैंगिक समानताको दृष्टिकोणले नेपालमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन र प्रगति समीक्षा तथा प्रदेशस्तरीय कार्यशालामा सहभागी भएका प्रदेश नम्बर ६ का अगुवा महिलाहरूले महिलाहिंसा अन्त्य गर्नका लागि सबै महिलाहरू सँगसँगै सहकार्य गर्ने संकल्प गरेको हुन् । कार्यक्रममा चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवालले कर्णाली अञ्चलमा महिलाहरू बढी हिंसामा परेको भन्दै अब कोही पनि महिलाले हिंसा भोग्न नपर्ने बताइन् । उनले भनिन्, ‘चन्दननाथ नगरपालिकाको मेयर भए पनि म महिला भएको नाताले अब कर्णाली अञ्चलका कोही पनि महिलाले हिंसा भोग्नुपर्ने छैन ।’ कर्णाली अञ्चल पिछडिएको क्षेत्र भएको भन्दै उनले त्यसका पनि महिलाहरू अशिक्षित भएका कारण विभिन्न हिंसा भोग्दै आएको बताइन् ।
त्यस्तै सिम्ता गाउँपालिका सुर्खेतका उपाध्यक्ष चन्द्राकला शाहीले न्यायपालिकाको अधिकार स्थानीय तहमा आफूले पाएकाले अब महिलाहिंसा अन्त्यका लागि पहल गर्ने बताइन् । उनले भनिन्, ‘हामीले न्यायपालिकाको अधिकार पाएकाले अब महिलाहिंसा अन्त्यका लागि हाम्रो पहिलो काम हुनेछ ।’ उनले प्रदेश नम्बर ६ का अगुवा महिलाहरूको सहकार्यमा समग्र प्रदेशमा नै महिलाहिंसा अन्त्यका लागि संकल्प गर्ने बताइन् ।
चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले महिलाहिंसा अन्त्यका लागि महिला सशक्तीकरण कार्यक्रमको आवश्यक रहेको
बताइन् । उनले न्यायपालिकाको जिम्मेवारी आफूले पाएको भन्दै अब महिलालाई आर्थिक रूपमा सशक्तीकरण बनाउने कार्यक्रमहरू ल्याउने बताइन् । उनले भनिन्, ‘महिलाहिंसाका घटना अझै लुकेका छन् ती हिंसालाई समेत बाहिर ल्याइ महिलालाई शिक्षा, स्वास्थ्य र आर्थिक रूपमा सशक्तीकरण बनाउने हाम्रो पहिलो काम हुनेछ ।’ उनले थपिन्, ‘हामी प्रदेश ६ मा महिलाहिंसा अन्त्य गर्न सबै महिला अगुवाहरू संकल्प गरेर अगाडि बढ्नेछौं ।’
कार्यक्रममा आवाज संस्थाका कार्यक्रम निर्देशक पवित्रा शाहीले लैंगिक समानताको दृष्टिकोणले नेपालमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयनका बारेमा जानकारी दिँदै अब महिला हिंसा अन्त्यका लागि पदमा पुगेका महिला अगुवाहरूको जिम्मेवारी भएको बताइन् । कार्यक्रममा जुम्ला, दैलेख, सल्यान, जाजरकोट र सुर्खेतका जननिर्वाचित प्रमुख तथा उपप्रमुखहरूले सन् २०३० सम्ममा प्रदेश नम्बर ६ मा महिलाहिंसा अन्त्य गने लक्ष्यका साथ काम गर्ने संकल्प गरेका छन् ।
साझा बिसौनी संवाददाता ।