बालमैत्री नगर बनाइने

सुर्खेत, ९ असार । (साबिस)
वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुरमार सुवेदीले बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बालबालिकाका विषयलाई नगरपरिषद् तथा कार्यकारी परिषद् जस्ता कार्यक्रममा समेटेर बालमैत्री नगरको रूपमा लैजाने प्रतिबद्धता जनाएका हुन् ।
बालमैत्री घोषणाका लागि चाहिने ३९ सूचक पार गरेर घोषणाको लागि अघि बढ्ने उनको भनाइ थियो । युथ फर चिल्ड्रेनले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको बालमैत्री स्थानीय शासन प्रबद्र्धनमा हाम्रो भूमिका विषयक छलफल कार्यक्रममा मेयर सुवेदीले यस्तो बताएका हुन् । उनले वडामा कर्मचारी र भौतिक संरचना निर्माण पछि यस कार्यक्रमलाई प्राथमिकताका साथ लैजाने बताए । ‘अहिले सबै वडामा कर्मचारी र भौतिक संरचना निर्माण नभएको अवस्थामा तत्कालै यो काम सम्भव छैन’ सुवेदीले भने, ‘सबै वडामा कर्मचारी र संरचना निर्माण भएपछि बालमैत्री बनाउनको लागि अघि बढ्नेछौं ।’ बालबालिकाका सवालमा जनप्रतिनिधिहरूको दृष्टिकोणमा परिवर्तन हुन जरुरी रहेको उनले बताए । महिला तथा बालवालिका कार्यालयका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले नीतिगत रूपमा बालबालिकालाई अधिकार प्रदान गरेको भएता पनि अझै अधिकारको प्रत्याभूति हुन नसकेको बताए ।

प्रकाशित मितिः   १० असार २०७४, शनिबार १३:०२