कर्णालीका १९४ जना सम्पर्कविहीन
सुर्खेत: भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका कर्णाली प्रदेशका झण्डै दुई सय जना नागरिक अझै सम्पर्कमा आएका छैनन् । एक जनाको मृत्यु भएको छ भने बुधवारसम्म एक सय ९४ जना अझै सम्पर्कविहीन भएको तथ्यांक प्रहरीसँग छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परेर कर्णालीका विभिन्न जिल्लाका दुई सय ७० जना सम्पर्कविहीन भएका थिए । हराइरहेकामध्ये धेरै रोजगारीका लागि रसुवा र नुवाकोट गएका थिए । ‘धेरै जना विभिन्न हाइड्रोपावरमा काम गर्न गएकाहरू छन् भने केही सरकारी जागिरे भएको पाइयो,’ कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले भने, ‘खोजीका विभिन्न प्रयास जारी छन् ।’
हराएकामध्ये ७५ जना सम्पर्कमा आएका छन् । प्रदेश प्रहरी प्रमुख सापकोटाका अनुसार सबैभन्दा बढी जुम्लाका ८१ जना सम्पर्कविहीन छन् । जुम्लाको पातारासी गाउँपालिका–६ लोर्पा गाउँमा अहिले एउटा परिवारमा मात्र होइन, घरपिच्छे शोक छ । कसैका छोरा हराएका छन्, कसैका दाजु, कसैका श्रीमान् त कसैका भान्जा । दिनमा गाउँमा मानिसको चहलपहल देखिन्छ । खेतबारीका काम पनि भइरहेका छन् । तर धेरै घरका मानिसको ध्यान भने रसुवातिरै छ । फोनको घण्टी बज्दा आशा पलाउँछ । कसैको उद्धार भएको खबर आयो कि भनेर कान ठाडा हुन्छन् । कसैको नाम भेटियो कि भनेर सूची खोजिन्छ । तर धेरै परिवारका लागि अहिलेसम्म त्यो आशा खबरमा बदलिएको छैन ।
रसुवाबाट जुम्ला फर्किएको चार साता मात्रै भएका शेरबहादुर बुढाको पीडा पनि उस्तै छ । उनले रसुवामा आठ महिना काम गरेका थिए । आफू घर फर्किए । तर उनका दाजु र भान्जा भने त्यहीं सम्पर्कविहीन छन् । उनीहरू सुरुङमा ढलानको काम गरिरहेका थिए । ‘बाढी आएदेखि फोन सम्पर्क हुन सकेको छैन,’ शेरबहादुरले भने, ‘अहिले गाउँ सुनसान छ ।’ उनका अनुसार आफन्तले खोजी तथा उद्धारको अवस्थाबारे पर्याप्त जानकारी पाउन सकेका छैनन् । कहाँ खोजी भइरहेको छ, कति जना भेटिए, कति जना अझै सम्पर्कविहीन छन् भन्ने स्पष्ट जानकारीको प्रतिक्षामा उनीहरू छन् । ‘अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘अब उद्धारमा सरकारको प्रतिक्षा भइरहेको छ ।’
सम्पर्कविहीन भएकामध्ये केही परिवारको सम्पर्कमा आएपनि अन्य अझै बेखबर छन् । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सम्पर्कमा आएका नागरिकबारे जानकारी प्राप्त भएपनि अन्य व्यक्तिको अवस्था यकिन गर्न स्थानीय तह, आफन्त र सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।
जिल्ला प्रशासनमा स्थानीय तह तथा आफन्तले सम्पर्कविहीन भनेर जानकारी गराएका ६८ जनामध्ये पातारासी गाउँपालिकाका मात्रै ५१ जना रहेका छन् । स्थानीय पूर्ण बोहराका अनुसार तीमध्ये धेरै जना त्रिशूली–२१६ ड्याममा काम गरिरहेका बेला सम्पर्कविहीन भएका हुन् ।
जुम्लाका धेरै गाउँमा रोजगारीका अवसर सीमित छन् । खेतीपातीबाट मात्र वर्षभरि परिवार धान्न कठिन हुने भएपछि युवा कामको खोजीमा बाहिर जान्छन् । सडक, ड्याम, सुरुङ र जलविद्युत आयोजनामा काम गर्ने उनीहरूको कमाइबाट घरखर्च चल्छ, छोराछोरीको पढाइ अघि बढ्छ र परिवारका आवश्यकता पूरा हुन्छन् । ‘रसुवा पुगेका जुम्लाका युवाहरू पनि यही बाध्यता र आशा बोकेर गएका थिए । उनीहरू कमाउन गएका थिए, परिवारको जीवन सहज बनाउन गएका थिए,’ युवा अगुवा कृष्ण बुढाले भने, ‘तर अहिले उनीहरूका परिवार आफ्नै मान्छेको खबर खोजिरहेका छन् ।’
बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार भइरहेको भए पनि परिवारले आफ्नो मान्छेको अवस्थाबारे नियमित र स्पष्ट सूचना पाउनुपर्ने माग गरिरहेका छन् । ‘उनीहरूका लागि उद्धार टोली कहाँ पुग्यो भन्ने भन्दा पनि आफ्नो आफन्तको अवस्था के छ भन्ने प्रश्न पहिलो हो,’ उनले थपे ।
त्यस्तै सल्यानका ५५, सुर्खेतका १६, मुगुका ११, रुकुमपश्चिमका ९ र कालीकोटका ६ जना सम्पर्कविहीन छन् । हुम्लाका ७, दैलेखका ५, जाजरकोटका ३ र डोल्पाका २ जना सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन भएकामा एक सय ५९ पुरुष, २८ महिला र ७ जना बालबालिका भएको कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार भोटेकोशी बाढीमा परी सल्यानका एक जनाको मृत्यु भएको हो ।
प्रकाशित मितिः १८ भाद्र २०८३, बिहीबार १०:४५
साझा बिसौनी ।