कर्णाली उत्सव कुडा कर्नालीका

उद्यमको उडान

कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘उद्यमको उडान’ शीर्षकको सत्रमा कर्णालीमा उद्यमशीलताको अवस्था, सम्भावना, चुनौती तथा उद्यममार्फत रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण पुरुषोत्तम सापकोटाले गरेका थिए भने छलफलमा होटल व्यवसायमा संलग्न पोषण रेग्मी, सर्जिकल व्यवसायी कल्पना विष्ट तथा रत्न पत्थर व्यवसायमा संलग्न शिला नेपाली वक्ताका रूपमा सहभागी भएका थिए । छलफलमा कर्णालीमा विद्यमान अभाव, समस्या र संरचनागत अवरोधका बाबजुद स्थानीय सम्भावना, स्रोत र अवसरको उपयोग गर्दै उद्यमशीलतामार्फत अघि बढ्न सकिने विषयमा वक्ताहरूले आफ्ना अनुभव, संघर्ष र दृष्टिकोण प्रस्तुत गरेका थिए । साथै, उद्यमशील सोचको विकास, स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना र उद्यम प्रवद्र्धनका लागि सरकारी संयन्त्र तथा सम्बन्धित निकायले खेल्नुपर्ने भूमिकाका विषयमा समेत छलफल गरिएको थियो ।


 

पोषणराज रेग्मी (होटल व्यवसायी)

मेरो उद्यमशीलताको यात्रा २०७६ सालदेखि सुर्खेतबाट सुरु भएको हो । करिब ८–१० जना कर्मचारीबाट सुरु गरेको होटल तथा रेस्टुरेन्ट व्यवसाय अहिले ६५–७० जनाको परिवार बनेको छ र तीन वटा स्थानबाट सेवा दिइरहेका छौँ । आगामी दिनमा थप विस्तार गर्दै चार वटा स्थानसम्म पु¥याउने योजना र आत्मविश्वास पनि छ । व्यवसाय सुरु गर्नुअघि मैले केही वर्ष विभिन्न संस्था तथा संगठनमा काम गरेर अनुभव लिएको थिएँ । त्यस क्रममा काठमाडौंमा बसेर रोजगारी गरिरहँदा आफ्नै गाउँ, आफ्नै ठाउँ र आफ्नै समुदायमा पनि आफूले जानेका कुरा प्रयोग गरेर केही गर्न सकिन्छ भन्ने सोच विकसित भयो । आफ्नो ठाउँमा धेरै काम गर्न सकिने सम्भावना हुँदाहुँदै पनि अरूले गरिदिएपछि मात्र परिवर्तन आउँछ भनेर बस्नुको सट्टा आफूले नै केही सुरु गर्नुपर्छ भन्ने लाग्यो । यही सोचका कारण करिब ५० हजार रूपैयाँको जागिर छोडेर सुर्खेत फर्किएँ । फर्किंदा हातमा कुनै ठूलो आर्थिक आधार थिएन । केही समय बेरोजगार रहेँ र पछि आफ्नो शैक्षिक योग्यताका आधारमा शिक्षण पेसामा आबद्ध भएँ । दुई–तीन वर्ष शिक्षण गर्दै गर्दा सँगसँगै सानो व्यवसाय पनि सुरु गरेँ । व्यवसाय विस्तार हुँदै गएपछि शिक्षण पेसालाई निरन्तरता दिने कि व्यवसायलाई प्राथमिकता दिने भन्ने प्रश्न पनि आयो ।

ज्ञान बाँड्ने र शिक्षणको काम आफ्नै ठाउँमा महŒवपूर्ण भएपनि व्यवसायमार्फत रोजगारी सिर्जना गर्न, अरू मानिसलाई जोड्न र आर्थिक गतिविधिमा योगदान गर्न सकिन्छ भन्ने लागेपछि अन्ततः शिक्षण पेसा छोडेर पूर्ण रूपमा व्यवसायमा केन्द्रित भएँ । अहिले पछाडि फर्केर हेर्दा उद्यमशीलता भनेको केवल पुँजी लगानी गरेर व्यवसाय सुरु गर्नु मात्र होइन, जोखिम लिन सक्ने क्षमता, निरन्तर सिक्ने इच्छा र चुनौतीबीच पनि अगाडि बढ्ने आत्मविश्वास हो भन्ने लाग्छ । हामीले व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेका भएपनि व्यवसाय सुरु गरेपछि मात्र वास्तविक जीवनका धेरै कुरा सिक्न पाइयो । प्रमाणपत्र र शैक्षिक योग्यता एउटा आधार हुन सक्छ, तर बजारको अवस्था बुझ्ने, ग्राहकको आवश्यकता पहिचान गर्ने, कर्मचारी व्यवस्थापन गर्ने, दैनिक समस्या समाधान गर्ने र सही समयमा निर्णय लिनेजस्ता व्यवहारिक ज्ञान अनुभवबाट मात्र विकास हुँदोरहेछ । कर्णालीमा अवसर छैन भनेर सोच्नु नै गलत हो भन्ने मेरो बुझाइ छ ।

यहाँ अवसरको कमीभन्दा पनि उपलब्ध अवसरलाई पहिचान गर्ने र त्यसलाई व्यावसायिक रूपमा उपयोग गर्ने सोचको आवश्यकता छ । कर्णालीको भौगोलिक विकटता चुनौती अवश्य हो, तर यही विकटता र प्राकृतिक विशेषतालाई साहसिक पर्यटन, पर्यटन तथा आतिथ्य व्यवसायलगायतका क्षेत्रमा अवसरका रूपमा पनि लिन सकिन्छ । समस्या पूर्वाधार, आपूर्ति व्यवस्था र बजार पहुँचमा छन्, तर ती समस्यालाई समाधान गर्न सकियो भने यही ठाउँमा ठूलो सम्भावना छ । हाम्रो समाजमा मानिसहरू एकअर्कासँग नजिक छन्, सामाजिक सम्बन्ध बलियो छ । यसलाई सही ढंगले उपयोग गर्न सकियो भने स्थानीय व्यवसाय, उत्पादन र सेवाको विस्तारमा यही सामाजिक सम्बन्ध ठूलो पूँजी बन्न सक्छ । तर व्यवसाय सञ्चालन गर्दा मैले भोगेको प्रमुख चुनौतीमध्ये आवश्यक गुणस्तरका कच्चा पदार्थ सहज रूपमा उपलब्ध नहुनु पनि हो । राम्रो सेवा र गुणस्तर दिन चाहँदा पनि त्यसका लागि आवश्यक सामग्री स्थानीय बजारमै नपाउने अवस्था छ । विशेषगरी होटल तथा रेस्टुरेन्ट व्यवसायमा यो समस्या प्रत्यक्ष रूपमा देखिन्छ । स्थानीय उत्पादन प्रयोग गर्ने इच्छा हुँदाहुँदै पनि उत्पादनको परिमाण, गुणस्तर, बजार पहुँच र नियमित आपूर्तिको समस्या हुँदा बाह्य बजारमा निर्भर हुनुपर्ने बाध्यता छ । नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाह्य उत्पादनमा प्रतिबन्ध लगाउने मात्र होइन, स्वदेशी उत्पादनलाई पनि गुणस्तर र प्रतिस्पर्धाका हिसाबले सक्षम बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । उत्पादन राम्रो र प्रतिस्पर्धी भयो भने हामी व्यवसायीले पनि स्थानीय वस्तु प्रयोग गर्न चाहन्छौँ र त्यसले स्थानीय उत्पादकलाई समेत बजार दिन्छ ।

मेरो विचारमा कर्णालीका उद्यमलाई दिगो, प्रतिस्पर्धी र विस्तारयोग्य बनाउन सरकारको भूमिका व्यवसायीलाई नियन्त्रण गर्नेभन्दा पनि आवश्यक वातावरण र अवसर सिर्जना गर्ने हुनुपर्छ । कानुनी व्यवस्था आफैँमा धेरै खराब छैन; समस्या धेरैजसो त्यसको कार्यान्वयन, सरकारी निकायबीचको समन्वय, निर्णय प्रक्रियामा लाग्ने समय तथा सरकारी कर्मचारी र उद्यमीबीचको सञ्चारमा देखिन्छ । सरकारी निकायले उद्यमीलाई समस्या सिर्जना गर्ने व्यक्तिका रूपमा र उद्यमीले सरकारलाई बाधकका रूपमा हेर्ने अवस्था अन्त्य गरेर दुवै पक्षले एकअर्कालाई साझेदारका रूपमा बुझ्न आवश्यक छ । त्यसैगरी, व्यवसाय सुरु गर्ने व्यक्तिमा आवश्यक ज्ञान र सीपको कमी नहोस् भन्नका लागि व्यवसाय दर्तासँगै सम्बन्धित क्षेत्रमा आधारभूत तालिमको व्यवस्था गर्न सकिन्छ । तर तालिम केवल नामका लागि सञ्चालन गर्ने होइन, सम्बन्धित क्षेत्रका विज्ञमार्फत व्यवहारिक र गुणस्तरीय हुनुपर्छ । अहिले वडा–वडामा विभिन्न किसिमका तालिम सञ्चालन हुने गरे पनि कतिपय तालिममा आवश्यक उपकरण र व्यवहारिक अभ्यासको अभाव देखिन्छ । उदाहरणका रूपमा बारिस्ता तालिम दिइने ठाउँमा समेत कफी बनाउने आवश्यक उपकरण स्थायी रूपमा उपलब्ध नहुने र भाडामा लिएर तालिम चलाउने अवस्था देखिन्छ । त्यसैले स्थानीय तहले आवश्यक पूर्वाधार र उपकरणसहित स्थायी तालिम केन्द्र विकास गर्न सक्छ, जहाँ आवश्यकता र मागअनुसार वर्षभरि विभिन्न व्यवसायसम्बन्धी तालिम सञ्चालन गर्न सकिन्छ ।

व्यवसाय विस्तारका लागि अर्को महŒवपूर्ण कुरा स्थानीय व्यवसायको पहिचान र ब्रान्ड निर्माण हो । कर्णालीमा उत्पादन भइरहेका वस्तु तथा यहाँ सञ्चालन भइरहेका व्यवसायलाई कर्णालीमै सीमित नराखी अन्य प्रदेश र ठूला बजारसम्म पु¥याउन सरकारले ब्रान्डिङ, बजारीकरण र प्रवद्र्धनमा सहयोग गर्नुपर्छ । पर्यटनको क्षेत्रमा पनि प्राकृतिक सुन्दरतामात्र पर्याप्त हुँदैन, त्यससँग जोडिएको व्यवसायिकता, सेवा, पूर्वाधार र व्यवस्थापन पनि सुधार गर्न आवश्यक छ । रारा र शे–फोक्सुण्डोको आफ्नै अनुभवलाई हेर्दा दुर्गम ठाउँमा समेत व्यवस्थित र व्यवसायिक रूपमा पर्यटन सेवा सञ्चालन गर्न सकिने सम्भावना देखिन्छ । त्यसैले पुँजीको अभावलाई मात्र व्यवसाय विस्तारको मुख्य बाधकका रूपमा हेर्नुभन्दा व्यावसायिक सोच, व्यवस्थापन क्षमता, पेसागत अभ्यास र बजार पहिचानलाई पनि उत्तिकै महŒव दिनुपर्छ । स्थानीय उत्पादनको कुरा गर्दा पनि समस्या उत्पादन नहुनु मात्र होइन, उत्पादन कहाँ छ, कसरी संकलन गर्ने, कसरी भण्डारण गर्ने, कसरी गुणस्तर कायम गर्ने र व्यवसायी तथा उपभोक्तासम्म कसरी पु¥याउने भन्ने सम्पूर्ण आपूर्ति शृङ्खलासँग जोडिएको छ । जुम्ली सिमी खोज्दा स्थानीय बजारमा नपाएर सामाजिक सञ्जालमार्फत खोज्नुपर्ने अवस्था र जुम्लाको उत्पादन काठमाडौं पुगेको तर कर्णालीमै सहज रूपमा उपलब्ध नहुने अवस्थाले यही समस्या देखाउँछ ।

त्यस्तै, स्थानीय लसुन उत्पादन गर्ने व्यापारीले बजारमा उचित मूल्य नपाउने कारण राम्रो उत्पादन भण्डारण गरेर मूल्य बढेपछि मात्र बिक्री गर्ने अवस्था आउनु पनि उत्पादन र बजारबीचको सम्बन्ध कमजोर रहेको संकेत हो । त्यसैले स्थानीय उत्पादकले उचित मूल्य पाउने, व्यवसायीले नियमित रूपमा गुणस्तरीय सामग्री पाउने र उपभोक्ताले स्थानीय उत्पादन प्रयोग गर्न पाउने गरी उत्पादनदेखि बजारसम्मको सम्बन्ध व्यवस्थित गर्न आवश्यक छ । स्थानीय उत्पादनको गुणस्तर र परिमाण बढाउने, व्यवसायीलाई त्यसको पहुँच सहज बनाउने, स्थानीय व्यवसायको ब्रान्ड निर्माण गर्ने र सरकार तथा निजी क्षेत्रबीच विश्वासमा आधारित सहकार्य विकास गर्न सके कर्णालीमा उद्यमशीलताको ठूलो सम्भावना रहेको मेरो धारणा छ । यसबाट व्यवसाय मात्र विस्तार हुँदैन, स्थानीय रोजगारी सिर्जना, उत्पादनको बजारीकरण र समग्र स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिन्छ ।


कल्पना विष्ट (सर्जिकल व्यवसायी)

मेरो उद्यमशीलताको यात्रा स्वास्थ्य क्षेत्रमा अध्ययन गरेपछि प्रयोगशालामा काम गर्दादेखि सुरु भएको भएपनि व्यवसायमा प्रवेश गर्ने निर्णय विवाहपछि अझ स्पष्ट रूपमा लिएँ । विवाहका क्रममा नै मैले आफ्नो रुचि र इच्छा श्रीमानसँग राख्दै व्यवसाय गर्न चाहेको कुरा बताएकी थिएँ । व्यवसाय सुरु गरेपछि आउने कठिनाइसँग डराएर बीचमै नछोड्ने प्रतिबद्धता पनि त्यही समयबाट बनेको थियो । त्यसपछि मैले सर्जिकल सामग्रीको व्यवसाय सुरु गरेँ । हाम्रो व्यवसाय उत्पादनमा आधारित नभइ बाहिरबाट आयात हुने सामग्रीको व्यापार तथा वितरणमा केन्द्रित छ । विभिन्न स्वास्थ्य सामग्रीको बिक्री तथा वितरणसँगै कर्णाली प्रदेशमा बालबालिकासम्बन्धी सामग्रीको समेत कारोबार गर्दै आएकी छु । व्यवसाय विस्तार हुँदै जाँदा काठमाडौंमा समेत बेबी मार्ट सञ्चालन गरेकी छु र पर्यटन तथा यात्रासम्बन्धी व्यवसायमा पनि संलग्न छु । तर व्यवसाय सुरु गरेपछि चुनौतीहरू पनि उत्तिकै आए । व्यवसाय सुरु गरेको केही समयमै आमा बनेँ र बच्चा एक महिनाको हुँदा समेत काम छोडिनँ ।

स्कुटर चलाएर बच्चालाई साथमा राख्दै अगाडि सामानका कार्टुन बोकेर आफैँ ग्राहक तथा संस्थासम्म सामग्री पु¥याउने गरेको अनुभव मेरो उद्यमशीलताको यात्राको महŒवपूर्ण हिस्सा हो । त्यो समयमा कामप्रतिको जिम्मेवारीसँगै बच्चाको सुरक्षाको चिन्ता पनि हुन्थ्यो, तर आफूले रोजेको बाटोबाट पछि हट्ने अवस्था थिएन । मेरो अनुभवमा नेपालमा, विशेषगरी कर्णालीमा, महिलाले व्यवसाय गर्दा उनीहरूलाई सहयोग र अवसरभन्दा बढी सहानुभूतिको दृष्टिले हेर्ने प्रवृत्ति पनि चुनौतीका रूपमा रहेको छ । ‘बिचरा’ भनेर सहानुभूति देखाउने तर महिलालाई निर्णय गर्ने, जोखिम लिने र नेतृत्व गर्ने अवसर नदिने सोचले महिलालाई थप कमजोर बनाउन सक्छ । त्यसैले महिलालाई दया वा सहानुभूति होइन, अवसर, जिम्मेवारी र समान व्यवहार आवश्यक छ । व्यवसाय सञ्चालनका क्रममा कानुनी तथा प्रक्रियागत समस्या पनि सामना गर्नुपर्छ । नेपालमा कानुनको व्यवस्था नराम्रो छ भन्ने मलाई लाग्दैन; समस्या त्यसको कार्यान्वयन र सरकारी निकायको व्यवहारमा बढी देखिन्छ । एउटा सामान्य व्यवसाय दर्ता गर्नसमेत वडा कार्यालयदेखि विभिन्न सरकारी कार्यालयसम्म पटक–पटक धाउनुपर्ने, एउटै कागजातका लागि फरक–फरक निकायमा पुग्नुपर्ने र एउटा कार्यालयले अर्को कार्यालयतर्फ पठाउने प्रक्रियाले उद्यमीको समय र स्रोत दुवै खर्च हुन्छ । व्यवसायमा लगानी गर्नुपर्ने पुँजी नै यस्ता प्रक्रियामा खर्च हुने अवस्था आउन सक्छ ।

त्यसैले सरकारी निकाय र उद्यमीबीचको सम्बन्ध सेवा लिने र सेवा दिने मात्र नभइ सहकार्य र सहजीकरणको हुनुपर्छ । विशेषगरी युवा पुस्ता नेपालमै बसेर केही गर्ने कि विदेश जाने भन्ने दोधारमा रहेको अवस्थामा सरकारी कार्यालयको व्यवहारले उनीहरूको मनोबलमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । हामी व्यवसाय गर्छौं, रोजगारी सिर्जना गर्छौं र यहीँ केही गर्न सकिन्छ भन्ने सोचका साथ सरकारी कार्यालय पुग्दा उल्टै निरुत्साहित हुने वातावरण बन्नु हुँदैन । सरकारी कर्मचारीले आफूले दिने सेवाको संवेदनशीलता बुझेर सहज, सम्मानजनक र मुस्कानसहितको व्यवहार गर्न सके उद्यमीका धेरै समस्या सुरुवाती चरणमै समाधान हुन सक्छन् ।

कर्णालीलाई सम्भावनाको प्रदेश भनेर मात्र भनिरहनुभन्दा ती सम्भावनालाई वास्तविक उत्पादन, व्यवसाय र रोजगारीमा रूपान्तरण गर्न स्थानीय सरकार, प्रदेश सरकार, बैंक तथा निजी क्षेत्रले समन्वय गर्न आवश्यक छ भन्ने मेरो बुझाइ छ । स्थानीय तहले युवालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्दा केवल ‘व्यवसाय गर्नुस्’ भनेर पुग्दैन; कुन क्षेत्रमा सम्भावना छ, कसरी लगानी गर्ने, जोखिम कसरी व्यवस्थापन गर्ने, व्यवसायलाई कसरी निरन्तरता दिने र बजारसम्म कसरी पुग्ने भन्ने विषयमा ज्ञान तथा व्यवहारिक तालिम दिन आवश्यक छ । उत्पादनको अर्को ठूलो समस्या बजार हो । कुनै एक युवाले गाउँमा केही मात्रामा उत्पादन गरेर मात्र ठूलो बजारमा पुग्न सक्दैन ।

त्यसैले एउटै क्षेत्रमा धेरै उत्पादकलाई जोडेर सामूहिक उत्पादन र संकलनको व्यवस्था गर्न सकिन्छ । उदाहरणका रूपमा, कुनै गाउँमा धेरै युवाले सुन्तला उत्पादन गर्छन् भने त्यहाँ स्थानीय तहले संकलन केन्द्र स्थापना गरिदिन सके व्यापारीलाई पनि ठूलो परिमाणमा उत्पादन खरिद गर्न सहज हुन्छ । यसले उत्पादकलाई बजार खोज्दै हिँड्नुपर्ने अवस्था कम गर्छ र व्यवसायलाई व्यावसायिक आकार दिन सहयोग पु¥याउँछ । बैंक तथा वित्तीय संस्थाको पहुँच पनि ग्रामीण उद्यमशीलताको महŒवपूर्ण आधार हो । कर्णालीलाई सुर्खेत वा केही सहरी क्षेत्रबाट मात्र हेर्नु हुँदैन; कालिकोट, हुम्ला, जुम्ला, दैलेखलगायतका ग्रामीण क्षेत्रमा पनि व्यवसाय गर्न इच्छुक र सक्षम युवाहरू छन् । तर ऋण लिन खोज्दा सहर वा बजार क्षेत्रमा रहेको सम्पत्ति मात्र धितोका रूपमा खोज्ने प्रवृत्तिले ग्रामीण युवालाई कठिनाइ भइरहेको छ ।

गाउँको जग्गा पनि सम्पत्ति हो र त्यसको उचित मूल्याङ्कन गरेर त्यसैलाई आधार मानी ऋण उपलब्ध गराउने व्यवस्था गर्न सकियो भने धेरै युवाले आफ्नै ठाउँमा व्यवसाय सुरु गर्न सक्छन् । त्यसैगरी, अनुदान तथा सहुलियतपूर्ण ऋणको पहुँच वास्तविक उद्यमीसम्म पुगेको छ कि छैन भन्ने विषयमा पनि पारदर्शिता र अनुगमन आवश्यक छ । उत्पादनको मात्रा र बजारलाई जोड्ने विषयमा मेडिकल क्षेत्रमा प्रयोग हुने कटनको उदाहरण पनि महŒवपूर्ण छ । एउटा गाउँका धेरै घरपरिवारले उत्पादन गर्ने र स्थानीय तहले संकलन केन्द्रमार्फत त्यसलाई ठूलो बजारसँग जोड्ने व्यवस्था भयो भने सानो उत्पादन पनि ठूलो व्यावसायिक श्रृंखलामा जोडिन सक्छ । कर्णालीमा पनि कृषि, रैथाने उत्पादन, जडिबुटी तथा अन्य स्थानीय कच्चा पदार्थमा यस्तै सामूहिक उत्पादन, संकलन र बजारीकरणको प्रणाली विकास गर्न सकिन्छ । व्यवसायलाई सामाजिक सञ्जालमा केही उत्पादनको तस्वीर राखेर मात्र व्यवसायिक भन्नुभन्दा परिमाण, गुणस्तर, निरन्तरता र बजार सुनिश्चिततासहित अघि बढाउन आवश्यक छ । पर्यटन क्षेत्रमा पनि यही कुरा लागू हुन्छ । रारा, शे–फोक्सुण्डोजस्ता पर्यटकीय क्षेत्रसँग कर्णालीको ठूलो सम्भावना जोडिएको भए पनि प्राकृतिक सुन्दरता मात्र पर्याप्त हुँदैन; स्वच्छता, व्यवस्थित आतिथ्य, गुणस्तरीय सेवा र स्थानीय जनशक्तिको सीप विकास पनि उत्तिकै आवश्यक छ ।

पर्यटकलाई आकर्षित गर्न प्रचार गर्ने मात्र होइन, गाउँमै पुगेर स्थानीय व्यवसायीलाई आतिथ्य, सरसफाइ र सेवा व्यवस्थापनको व्यवहारिक ज्ञान दिनुपर्छ । स्थानीय परिकार र प्राकृतिक स्रोतको प्रवद्र्धनसँगै त्यसलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने क्षमता पनि विकास गर्नुपर्छ । त्यसैले कर्णालीमा उद्यमशीलता प्रवद्र्धनका लागि ज्ञान र सीप विकास, उत्पादनमा परिमाण र गुणस्तर, संकलन केन्द्र तथा बजारको व्यवस्था, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच, सरकारी सेवामा सहजीकरण र पर्यटनमा व्यवसायिक तथा पेसागत अभ्यासलाई एकसाथ अघि बढाउन आवश्यक छ । यसरी राज्यका विभिन्न तह, वित्तीय संस्था, निजी क्षेत्र र स्थानीय उद्यमीबीच सहकार्य हुन सके कर्णालीका युवाले अवसर खोज्न बाहिर जानुपर्ने बाध्यता कम गर्न र आफ्नै ठाउँमा उद्यम तथा रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्न सकिन्छ ।


शिला नेपाली (रत्न पत्थर व्यवसायी)

मेरो विचारमा उद्यमशीलता कुनै निश्चित वर्ग, शैक्षिक योग्यता वा आर्थिक हैसियत भएका व्यक्तिको मात्र विषय होइन; अवसर र इच्छाशक्ति पाएमा सामान्य पृष्ठभूमिबाट आएको व्यक्तिले पनि आफ्नै ठाउँमा उद्यम सुरु गर्न सक्छ । मेरो आफ्नै जीवनयात्राले यही कुरा देखाएको छ । जाजरकोटको सामान्य परिवारमा डकर्मीकी छोरीका रूपमा जन्मिएकी मैले आठ कक्षासम्म मात्र औपचारिक शिक्षा हासिल गरेँ । सानैदेखि नर्स बन्ने इच्छा थियो र छात्रवृत्तिसमेत पाएकी थिएँ, तर पाँच सय रूपैयाँ जुटाउन नसक्दा नेपालगञ्ज गएर अध्ययन गर्न सकिनँ । पछि जाजरकोटमा अस्पताल निर्माणका क्रममा ढुंगा बोकेर दैनिक ३५ रूपैयाँ ज्याला कमाउनुपरेको अनुभव पनि मेरो जीवनको महŒवपूर्ण हिस्सा हो । आमाको निधनपछि पढाइ रोकियो र जीवनले फरक बाटो समात्यो । विवाहपछि श्रीमान्सँग धनकुटा जाने अवसर पाएपछि त्यहाँ मैले पहिलोपटक उद्यमशीलतासम्बन्धी तालिम लिने र व्यवसायलाई फरक दृष्टिले बुझ्ने अवसर पाएँ । महिला उद्यमी संघबाट नयाँ व्यवसाय सिर्जनासम्बन्धी तालिम लिएँ, ढाका तथा प्राकृतिक रेसाबाट बनेका सामग्रीसँग काम गरेँ र धनकुटाको बसपार्कमा कोसेली घरसमेत सञ्चालन गरेँ ।

करिब दुई दशक धनकुटामा बसेपछि आफ्नै जन्मभूमि फर्कने निर्णय गरेँ । जाजरकोट फर्किएपछि २०६६ सालमा घरेलु कार्यालयसँगको पहलमा रत्न–पत्थर प्रशोधनसम्बन्धी तालिम लिएँ । दश जना सहभागीमध्ये आफूले मात्रै उद्योग दर्ता गरेर एउटा मेसिनबाट काम सुरु गरेँ । सुरुवातमा एउटा मेसिन र छोटो तालिमले मात्र काम नचल्ने रहेछ भन्ने अनुभव भयो । रत्न–पत्थर प्रशोधन सामान्य काम नभएकाले सीप, प्रविधि, दक्षता र निरन्तर अभ्यास आवश्यक पर्ने रहेछ । पछि घरेलु कार्यालयबाट पटक–पटक मेसिन तथा तालिमको सहयोग प्राप्त भएपछि विस्तारै उत्पादन सुरु गर्न सकेँ । तर व्यवसाय अघि बढाउँदै जाँदा सबैभन्दा ठूलो समस्या कच्चा पदार्थको उपलब्धतामै रहेको पाएँ । कर्णालीका जाजरकोट, कालीकोट, दैलेख, डोल्पालगायतका जिल्लामा काइनाइट, टुर्मालिन, जेड, ज्यास्पर, गार्नेट, बेरिल, एक्वामेरिनलगायतका विभिन्न रत्न तथा पत्थर पाइने भए पनि ती स्रोतबाट आवश्यक कच्चा पदार्थ उद्योगसम्म सहज रूपमा आउन सकेको छैन । खानी अर्को व्यक्तिको वा राज्यको स्वामित्वमा हुने र खानी सञ्चालनमा विभिन्न अवरोध तथा बन्देज रहने अवस्थाले रत्न–पत्थर व्यवसायलाई प्रत्यक्ष असर गरेको छ ।

हामी कच्चा पदार्थ किलोका दरले खरिद गरेर प्रशोधनपछि क्यारेटका दरले बिक्री गर्ने भएकाले कच्चा पदार्थको नियमित र सहज आपूर्ति यस व्यवसायको आधारभूत आवश्यकता हो । त्यसैले कर्णालीमा रहेका खानी तथा खनिज स्रोतको वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै व्यवस्थित रूपमा उपयोग गर्ने स्पष्ट नीति आवश्यक छ । कच्चा पदार्थ नै उपलब्ध नहुने, पर्याप्त आधुनिक मेसिन नहुने, दक्ष जनशक्ति कम हुने र प्रविधि तथा तालिम सीमित हुने अवस्थामा स्थानीय स्रोतमा आधारित उद्योगलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन कठिन हुन्छ । त्यसैगरी, महिला, विशेषगरी दलित तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका महिलालाई उद्यमशीलतामा अघि बढाउन अवसरको समान पहुँच आवश्यक छ । एक–दुई महिनाको औपचारिक तालिम मात्र दिएर सीप विकास हुँदैन; रत्न–पत्थरजस्तो प्राविधिक क्षेत्रमा प्रारम्भिक प्रशोधनदेखि अन्तिम उत्पादनसम्मको लामो अवधिको व्यवहारिक तालिम आवश्यक हुन्छ । सीपसँगै आवश्यक मेसिन, प्रविधि र बजारको पहुँच सुनिश्चित गर्न सके मात्र यस्ता उद्यमले दिगो रूप लिन सक्छन् ।

कर्णालीको उद्यमशीलताको सम्भावना रत्न–पत्थरमा मात्र सीमित छैन भन्ने मेरो बुझाइ छ । जल, जमिन, जंगल, जडिबुटी, खनिज, रैथाने बाली र पर्यटनजस्ता क्षेत्रमा यहाँ ठूलो सम्भावना छ । भेरी नदीजस्ता नदीमा जल पर्यटन र राफ्टिङ विकास गर्न सकिन्छ, तर तालिम लिएपछि पनि आवश्यक साधन, विशेषगरी डुंगा किन्नका लागि पुँजी र ऋणको व्यवस्था नहुँदा युवाले काम सुरु गर्न नसकेको अवस्था देखिन्छ । त्यसैले सरकारको भूमिका केवल तालिम सञ्चालन गर्नेमा सीमित हुनुहुँदैन; तालिमपछि आवश्यक मेसिन तथा औजार, सहुलियतपूर्ण ऋण, उत्पादनका लागि कच्चा पदार्थ र बजारसम्मको पहुँच सुनिश्चित गर्ने एकीकृत व्यवस्था आवश्यक छ । भारतको जयपुरमा रत्न–पत्थर क्षेत्रमा तालिमसँगै आर्थिक सहयोग, मेसिन, ऋण तथा उत्पादित वस्तुको बजार व्यवस्थापनमा सरकारले सहयोग गरेको अभ्यास देख्दा कर्णालीमा पनि उद्यमीलाई सुरुदेखि बजारसम्म जोड्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता महसुस गरेकी छु ।

रैथाने उत्पादनतर्फ पनि चिनो, कागुनो, फापर, अल्लो, भागोललगायतका वस्तुलाई व्यवस्थित रूपमा उत्पादन, प्रशोधन र बजारीकरण गर्न सकिए स्थानीय आयआर्जनको महत्वपूर्ण स्रोत बन्न सक्छ । कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई आफ्नै पहिचानसहित प्रवद्र्धन गर्न थालेका केही प्रयास सकारात्मक छन्, तर त्यसलाई उत्पादनको मात्रा, गुणस्तर र बजार विस्तारसँग जोड्न आवश्यक छ । स्थानीय उत्पादनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारबाट माग आउन थालेको अवस्थामा त्यसलाई अवसरका रूपमा लिनुपर्छ । मेरो विचारमा कर्णालीका युवालाई बाहिर रोजगारी खोज्न जानुपर्ने अवस्थाबाट रोक्ने सबैभन्दा प्रभावकारी उपाय यहीँ उपलब्ध स्रोतलाई उद्यम र रोजगारीसँग जोड्नु हो । यसका लागि स्थानीय र प्रदेश सरकारले सडक तथा पूर्वाधार निर्माणसँगै सीप, प्रविधि, मेसिन, औजार, पूँजी र बजारलाई प्राथमिकतामा राख्नुपर्छ । उद्यमीहरूले पनि आफ्ना समस्या व्यक्तिगत रूपमा मात्र उठाएर समाधान खोज्नेभन्दा सामूहिक रूपमा संगठित भएर सरकारसमक्ष नीतिगत माग र व्यावहारिक समस्या राख्न आवश्यक छ ।

प्राकृतिक स्रोतको उपयोग गर्दा संरक्षण र वातावरणीय पक्षलाई बेवास्ता गर्नु हुँदैन, तर स्रोतको उपयोग नै नगर्ने अवस्थामा पनि स्थानीय समुदाय र युवाले अवसर पाउँदैनन् । त्यसैले संरक्षण, व्यवस्थित उत्खनन्, स्थानीय मूल्य अभिवृद्धि र रोजगारीबीच सन्तुलन कायम गर्ने नीति आवश्यक छ । मैले आफूले भोगेको अभाव र संघर्षबाट एउटा कुरा सिकेकी छु, सम्पत्ति नभएको, पढाइ धेरै नभएको वा अवसर नपाएको कारणले मात्र मानिसले केही गर्न सक्दैन भन्ने होइन । अवसर सिर्जना गर्ने वातावरण बनेमा सामान्य पृष्ठभूमिबाट आएको व्यक्तिले पनि नयाँ बाटो खोल्न सक्छ । मैले सुरु गरेको प्रयासलाई अब नयाँ पुस्ताले अझ व्यवस्थित, आधुनिक र व्यावसायिक रूपमा अघि बढाउनुपर्छ । कर्णालीका युवाले ‘हामीसँग केही छैन’ भन्ने सोच राख्नुभन्दा ‘हामीसँग भएको स्रोतलाई कसरी अवसरमा बदल्ने?’ भन्ने सोच विकास गर्न सके कर्णालीमै रोजगारी र समृद्धिको आधार निर्माण गर्न सकिन्छ ।

प्रकाशित मितिः   १७ भाद्र २०८३, बुधबार ०५:०४