वीरेन्द्रनगरमा मुख्य बजारको फोहोर अब रातीमा उठाइने
सुर्खेत, ८ असार ।
वीरेन्द्रनगरको फोहोर अब रातको समयमा संकलन गरिने भएको छ । नगरपालिका अन्तर्गत मुख्य बजार क्षेत्रको फोहोर अब रातीको समयमा संकलन गरेर व्यवस्थापन गर्न लागिएको हो । यही असार १५ गतेबाट रातको समयमा फोहोर संकलन गर्न लागिएको हो ।
सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा बुधवार सम्पन्न सरोकारावालाहरूको बैठकले यस्तो निर्णय गरेको हो । पहिलो चरणमा मंगलगढीदेखि गणेशचौकसम्मको मुख्य बजार क्षेत्रमा परीक्षणका रूपमा रातको समयमा फोहोर संकलन गरिनेछ । यो परीक्षण सफल भएमा नगरका अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ । अहिले नगरमा बिहानको समयमा फोहोर संकलन गरिंदै आएको छ ।
बिहानको समयमा फोहोर संकलन गर्ने गाडी र कर्मचारी बजार प्रवेश गर्दा खुल्ला भएका पसलको फोहोर मात्र संकलन हुने र बन्द भएका पसलको फोहोर नाला र सडकमा फाल्ने प्रवृत्ति बढेपछि यो अभ्यास गर्न लागिएको हो । मुख्य बजारका व्यापारी तथा घरधनीले आफ्नो घर तथा पसलबाट निस्किएको फोहोरजन्य पदार्थलाई अब राती ८ बजेसम्म आ–आप्mनो पसल तथा घर अगाडि प्लाष्टिकको थैलोमा पोको पारेर राखिदिन आग्रह गरिएको छ । त्यसरी घर तथा पसल अगाडि पोको पारेर राखिएका फोहोर द् ग्रीनसिटीका कर्मचारीले राती नै संकलन गर्नेछन् ।
बैठकमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले अब फोहोर व्यवस्थापनको क्रम निरन्तर चल्ने बताए । यसलाई थप वैज्ञानिक र प्रभावकारी बनाउँदै लगिने उनको भनाइ छ । उनले अब नगरका प्रत्येक टोलमा फोहोर संकलन गर्ने गाडी र कर्मचारी पुग्ने व्यवहारिक समय तालिका निर्धारण गरिने जानकारी दिए । साथै उनले फुटपाथ अतिक्रमण गरी पसलका सामान बाटोमा राख्ने प्रवृत्ति अन्त्यका लागि समन्वय गरिदिन सुर्खेत उद्योग वाणिज्य
संघलाई आग्रह गरे । पसल र बजारबाट निस्कने फोहोर व्यवस्थापनको पहिलो जिम्मेवारी व्यापारी स्वयम्को हुने भन्दै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतीले जथाभावी फोहोर नगर्न व्यापारीहरूलाई आग्रह गरे ।
नगरलाई सफा र स्वच्छ राख्नु नगरबासीको पनि दायित्व भएको भन्दै उनले अब आफ्नो पसलको प्लाष्टिक, प्याकेट लगायतका फोहोरजन्य पदार्थलाई थैलोमा बाँधेर पसल अगाडि राखिदिन आग्रह गरे । पसलको सामान बाटोमा राखी फुटपाथ अतिक्रमण नगर्न पनि उनले व्यापारीहरूलाई सुझाव दिएका छन् । बैठकमा सहभागीले फोहोर संकलन गर्ने गाडी निर्धारित र समयमा नियमित आएमा नालामा फोहोर फाल्नुपर्ने बाध्यता हट्ने बताएका थिए । सोही अवसरमा वडा नं. ६ का अध्यक्ष मोतीप्रसाद कँडेलले विगतका बेथितिहरू हटाउँदै असल संस्कृति सुरुवात गर्न अभियान गरिएको बताए ।
साझा बिसौनी संवाददाता ।