‘तीन महिनाभित्र हाम्रो वडा वाईफाईयुक्त हुनेछ’

स्थानीय तहमा करिब २० वर्षपछि नयाँ जनप्रतिनिधि आएका छन् । लामो समयपछि जनताले पनि अभिभावक पाएको महसुस गरेका छन् । जनप्रतिनिधिसँग विकासको अपेक्षासँगै सामाजिक कुरितीको अन्त्य र सुधारका योजनाहरू जनताले अपेक्षा गरिरहेका छन् । निर्वाचित भएको डेढ महिना पुग्नै लाग्दा जनप्रतिनिधिले कस्तो अनुभूति गरिरहेका छन् ? जनताको अपेक्षा कस्तो रहेको छ ? जनप्रनिधिका आगामी योजना के छन् ? यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजबहादुर गुरुङसँग अन्तरसम्वाद गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सारांशः

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ?
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
निर्वाचित भएपछि आजको दिनसम्म आउँदा वडाको केही काम गर्नुभयो की ?
म निर्वाचित भएको दिनदेखि आजसम्म वडाको विकासको लागि मैले काम थालिसकेको छु । यो अवधिमा जनताको दैलोमा पुगें । यस्तै कालिका मन्दिरको लाइनमा सडक स्तरोन्नतिका लागि डोजर लगाएर बाटो चौडा बनाउने काम सुरु भएको छ । मेरो वडाबासीहरूको लागि गरेको यो पहिलो काम हो । जनताका सुझावहरू संकलन गर्ने काम भइरहेको छ ।
चुनावअघि यहाँले मतदाताको बीचमा गरेका प्रतिबद्धताहरू सम्झनामा छन् ?
चुनावभन्दा अघि जनताको घरदैलोमा भोट माग्न जाँदा जनतासँग गरेको प्रतिबद्धता मलाई अझै पनि ताजै छ । म जनतासँग गरेको प्रतिबद्धता कहिल्यै भुल्ने छैन । वडा नम्बर ५ लाई जनताले चाहे जस्तो वडा बनाउनको लागि मैले जनतासँग गरेको प्रतिबद्धताहरू सडकको स्तरोन्नति गर्ने, सडकलाई कालोपत्रे, नमुना वडा बनाउने र जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता मैले चुनावअघि व्यक्त गरेको थिएँ ।
यहाँको वडाका जनताले अबको तीन महिनाभित्र नयाँ के अनुभूति गर्न पाउलान् ?
मेरो वडामा अबको तीन महिनाभित्र वाईफाई जडान सुविधा उपलब्ध हुनेछ । वडाका युवाहरूले सहज रूपमा इन्टरनेट सेवा तीन महिनाभित्र उपभोग गर्न पाउनेछन् । ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने र वर्षातको बेलामा अब छाता वितरण गर्ने कार्यक्रम पनि गर्नेछौं । अन्य वडा अध्यक्षले गर्न पाउने सबै जिम्मेवारी म पूरा गर्नेछु । जनताले दैलोमा नै सरकार आएको अनुभूति गर्नेछन् ।
यहाँले आफ्नो वडामा मुख्य समस्याहरू के–के औंल्याउनु भएको छ नी ?
वडा नम्बर ५ भनेको अन्य वडा भन्दा अलि पिछडिएको वडा पनि हो । कच्ची सडक छ, खानेपानीको समस्या छ । बिजुलीको भोल्टेज पनि कम भएकाले त्यहाँको दुना टपरी उद्योग सञ्चालनमा कठिन भइरहेको छ । कालिका मन्दिर नजिक खोला छ, त्यसमा पुल छैन । युवाहरूलाई
खेलकुद मैदान अभाव छ । अन्य पनि थुप्रै समस्याहरू छन् ।
ती समस्यालाई समाधान गर्न यहाँसँग कस्ता योजना छन् ?
यी समस्याहरूलाई समाधान गर्नका लागि हामीले पहल गरिरहेका छौं । खानेपानी समस्या समाधान गर्नको लागि पुराना खानेपानीका पाइपहरू परिवर्तन गरिनेछ । नयाँ खानेपानीका पाइपहरू बिछ्याउने काम गर्नेछौं । त्यसपछि धारामा नियमित पानी आउनेछ । बिजुलीको भोल्टेज कम हुने समस्या समाधानका लागि नयाँ ट्रान्सफर्मर मगाएका छौं । त्यो राखेपछि समस्या हुनेछैन । खाली जग्गा छ त्यहाँ, खेलकुद मैदान बनाउने योजना बनाएका छौं । खोलामा पुल बनाउनको लागि पहल गर्नेछौं । बजेटले भ्याएसम्म र पुगेसम्म वडाको विकासका लागि हामी निर्वाचित जनप्रतिनिधि विकास गर्न सदैव तयार नै छौं ।
अबको पाँच वर्षभित्र कस्तो वडा बनाउने परिकल्पना गर्नुभएको छ ?
अबको पाँच वर्षभित्रमा वडालाई समृद्ध बनाउने छु । पाँच वर्षमा वडा नम्बर पाँचलाई एउटा नमुना वडाको रूपमा विकास गर्नेछौं । वडा नम्बर ५ मा अर्काे समस्या भनेको बालबालिका विद्यालय पढ्न जाँदैनन् । ती बालबालिकालाई विद्यालयसम्म पु¥याउनका लागि हाम्रो पहिलो पहल हुनेछ । युवालाई रोजगारी दिनका लागि स्वरोजगारमूलक कार्यक्रम ल्याउनेछौं । कामका लागि विदेश जान बाध्य युवाहरूका लागि वडामा नै रोजगारीको सिर्जना गर्नेछौं । पाँच वर्षभित्रमा वडा नम्बर ५ लाई सबैको नमुना वडा बनाउने परिकल्पना गरेको छु ।
तपाईं निर्वाचित भइसकेपछि जनताले के अपेक्षा गरिरहेका छन्, के भन्छन् ?
म निर्वाचित भइसकेपछि जनताले गरेको अपेक्षा भनेको वडाको विकास उन्नति नै हो । वडामा कालोपत्रे बाटो, पुल, खानेपानी सहज हुनुपर्ने, युवाहरूलाई रोजगारमूलक कार्यक्रमहरू, महिलाहरूको विकास उन्नतिका लागि महिलामैत्री कार्यक्रम सञ्चालन हुन् । हामी जनताका ती अपेक्षालाई पूरा गर्नको लागि तयार छौं र काम पनि थालनी गरिसकेका छौं ।
वडाका अन्य दल र जनताबाट यहाँले चाँही के अपेक्षा गर्नुभएको छ त ?
चुनावभन्दा अघि हामी जुन पार्टीका भए पनि जसरी पार्टीगत रूपमा चुनावमा उठे पनि निर्वाचनपछि भने हामी सबै एउटै गाउँ ठाउँका व्यक्ति हौं । त्यसमा तेरो र मेरो नभनेर आफ्नो गाउँ ठाउँको विकासका लागि सबै एकजुट भएर लाग्न जरुरी छ । हामी एउटै वडाबासी भएकाले पनि आफ्नो वडाको विकासका लागि हामी सबै पार्टी एकजुट भएर लाग्नुपर्छ । मलाई आफ्नो अमूल्य भोट दिएर जिताउनु हुने र भोट नदिएका जनताको लागि पनि म काम गर्नेछु । सबै हाम्रै जनता हुन् । काम गर्दा तेरो र मेरो पार्टी भनेर छुट्याउने काम मैले गर्ने छैन । सबैलाई समान रूपमा हेर्नेछु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हिकका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

प्रकाशित मितिः   ८ असार २०७४, बिहीबार ०७:३०