युवा लक्षित योजना
कर्णालीका ऊर्जाशील जनशक्ति भारतलगायतका तेस्रो मुलुकमा रोजगारीको खोजिमा विदेशिनुुपर्ने बाध्यता छ । सरकारसँग रोजगारीका कार्यक्रम नहुँदा पछिल्ला वर्षहरूमा प्रदेशमा शिक्षित बरोजगारको संख्या बढ्दै जानु चिन्ताको विषय हो । त्यसैले पनि प्रदेश सरकारले विभिन्न कार्यक्रम र बजेट विनियोजन गरेर युवा जनशक्तिलाई स्वदेशमै रोक्ने योजना बनाएर कार्यान्वयन गर्न अपरिहार्य छ । यसका लागि योजना भने बनेका छन् । कर्णाली प्रदेशमा कृषिमा युवा आकर्षण बढाउन नयाँ कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेश सरकारले बजेटमार्फत युवाहरूलाई कृषिमा आकर्षण गर्ने कार्यक्रम ल्याएको हो । यसअघि स–साना कार्यक्रम मात्र सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिने गरेका थिए । प्रदेश सरकारले निर्वाचन क्षेत्रमा पूर्वाधार लक्षित कार्यक्रम मात्र कार्यान्वयन गर्ने गरेको थियो । यो वर्षदेखि युवा लक्षित कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।
कृषि क्षेत्रमा युवाको आकर्षण बढाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र विशेष युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्न लागिएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि नौ करोड ६० लाख रूपैयाँ विनियोजन गरिएको छ । एक निर्वाचान क्षेत्रमा ४० लाखका दरले बजेट कार्यान्वयन गरिनेछ । जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयमार्फत कार्यक्रम कार्यान्वयन हुनेछ । अहिले कार्यविधि निर्माणको काम भइरहेको छ । नयाँ कार्यक्रम भएकाले कसरी कार्यान्वयन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफलसमेत गरिएको थियो । सरकारले युवा वर्गलाई उद्यमी, स्वरोजगार, व्यवसायी बनाउनका लागि नयाँ कार्यक्रम ल्याएको हो । विदेशिने युवाहरू रोक्न प्रदेश सरकारको योजना रहेको छ । पहिलो पटक युवालाई नै तोकेर प्रदेश सरकारले कार्यक्रम ल्याएको छ । चालु वर्षमा युवा लक्षित कार्यक्रम बनाएरै बेरोजगारी समस्यालाई सम्बोधन गर्न खोजिएको छ । कृषि उत्पादन बजारीकरणमा सहजता दिनुका साथै अनुदानका कार्यक्रममा समेत जोड दिइएको छ ।
सरकारले युवालाई स्वदेशमै रोक्ने नीति ल्याएको छ । रोजगारी र अध्ययनका लागि भनेर विदेश जाने युवाहरूको तथ्यांक डरलाग्दो छ । अर्कातिर, उत्पादनका क्षेत्रहरूमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ । यस्तो बेला युवाहरूलाई प्रदेशभित्रै कृषि उत्पादन तथा उद्यममा जोड्ने योजना प्रदेश सरकारले बनाएको छ । प्रदेश सरकारले बढ्दो प्रतिभा पलायनलाई रोकेर युवाको ज्ञान, सीप, क्षमता र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने उद्देश्य राखेर ‘निर्वाचन क्षेत्र विशेष युवा लक्षित कार्यक्रम’ कार्यान्वयन गर्न लागेको हो ।
प्रकाशित मितिः ४ भाद्र २०८३, बिहीबार १८:३२
सम्पादकीय ।