७४ प्रतिशत नागरिक विद्युत पहुँचमा

सुर्खेत: कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्याले राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत उपभोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्‍ठका अनुसार आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुनसम्म कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत पहुँच पुगेको हो ।

बाँकी क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तारसँगै वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युत पहुँच पुर्‍याउने काम अघि बढिरहेको उनले जानकारी दिए । राष्ट्रिय सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कर्णालीमा २०९ वटा लघु तथा साना जलविद्युत आयोजनाबाट ६ हजार सात सय १९ किलोवाट विद्युत उत्पादन भइ ६४ हजार दुई सय ३१ घरधुरी लाभान्वित भएका छन् । २३ वटा सौर्य मिनीग्रिडबाट एक हजार सात सय नौ किलोवाट विद्युत उत्पादन भइ पाँच हजार तीन सय ९१ घरधुरीमा विद्युत पहुँच पुगेको छ ।

कर्णालीका कुल सात सय १८ वडामध्ये ८२ वडा पूर्णरूपमा, चार सय ७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण भएका छन् भने एक सय ६४ वडामा अझै राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ । सरकारले यसलाई तथ्यांकको विषय नभइ नागरिकको आधारभूत सेवा र सामाजिक न्यायसँग जोडिएको दायित्वका रूपमा लिएर आगामी कार्ययोजना अगाडि बढाइरहेको मन्त्री श्रेष्ठले बताएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र सम्मिलित कार्यदलले २०७९ सालमा कर्णालीमा विद्युतीकरण हुन बाँकी एक लाख एक हजार एक सय ८७ घरधुरी तथा भौगोलिक क्षेत्र पहिचान गरी ‘लास्ट माइल विद्युतीकरण योजना’ तयार गरी कार्यान्वय भइसकेको छ । विद्युतीकरण गर्ने सरकारको अभियान पश्चात १३ वटा पालिकाको करिब १० हजार घरधुरीमा विद्युतीकरण हुन बाँकी छ । हाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कार्यक्षेत्र वर्गीकरण गरी पूर्ण विद्युतीकरणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसले कर्णालीको विद्युतीकरण प्रगति उन्मुख रहेको हाम्रो बुझाइ छ । कर्णाली प्रदेशमा प्रसारण तथा सबस्टेशनतर्फ पनि महत्त्वपूर्ण काम भइरहेको पनि उनले बताए ।

एक सय ३२ केभी सुर्खेत सबस्टेशन हाल सञ्चालनमा आइसकेको छ । ३२ किलोमिटर लामो डबल सर्किट १३२ केभी सुर्खेत–दैलेख प्रसारण लाइन निर्माणाधीन र आगामी असार महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणाधीन १३२ केभी दैलेखको चुप्रा सबस्टेशन आगामी पुसभित्र सम्पन्न गर्नेगरी काम भइरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मितिः   ४ भाद्र २०८३, बिहीबार १८:३२