भागबण्डा मिल्यो, मुख्यमन्त्रीलाई विश्वासको मत

सुर्खेत: सत्ता सहकार्यको सहमति भएको तीन सातापछि नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एमाले)बीच कर्णालीमा मन्त्रालयको भागबण्डा मिलेको छ । दुई दलबीच मन्त्रालयको भागबण्डा मिलेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मतसमेत लिएका छन् ।
बुधवार बसेको प्रदेशसभाको बैठकमार्फत मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका हुन् । उनको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । उनी संसदीय दलको नेता रहेको नेपाली कम्युनिष्ट पार्टी र अर्को सत्तासाझेदार दल एमालेले शाहीलाई विश्वासको मत दिएका हुन् । ४० सदस्यीय प्रदेशसभामा विश्वासको मतमाथिको मतदानमा ३६ जना सांसद सहभागी थिए । जसमध्ये कांग्रेसका राजीवविक्रम शाह, जानकी सिंह र एमालेका विनोदकुमार शाह संसद्मा सहभागी थिएनन् । दुई जना तटस्थ बसे । तटस्थ रहनेमा पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राप्रपाकी सांसद सन्तोषी शाही रहेकी छिन् ।
नेकपा र एमाले संसदीय दलबीच बुधवार ६ बुँदे सहमति भएको थियो । सहमतिअनुसार एमालेले तीन मन्त्रालय लिने भएको छ । यसअघि उसले चारवटा मन्त्रालयमा दाबी गरेको थियो । जसका कारण मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको थिएन । अन्ततः तीनवटा मन्त्रालय लिएर सरकारमा जान एमाले तयार भएको छ । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपाले मुख्यमन्त्रीसहित थप तीन मन्त्रालय लिएको छ । नेकपाले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय लिने भएको छ ।
नेकपा र एमाले संसदीय दलबीच मन्त्रालय भागबण्डासँगै प्रशासनिक सुधारका लागि यसअघि गरिएका निर्णयहरू कार्यान्वयन गर्दै बाँकी सुधारका कामलाई निरन्तरता दिने सहमति पनि भएको छ । आर्थिक वर्ष २०८३÷०८४ को बजेट पारित गर्दा प्रदेशसभामा रहेका दलहरूबीच भएको सहमतिअनुसार बजेट कार्यान्वयन गर्ने सहमति पनि भएको छ । यसैगरी, ३० लाख भन्दा माथिको योजनाहरू ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गर्ने विगतको नीतिलाई निरन्तरता दिने, नयाँ नीति, कार्यक्रम, मनोनयन र नियुक्तिका सम्बन्धमा आपसी सहमतिपछि मात्र कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने, सुशासन, मितव्ययिता र पारदर्शिता कायम हुने गरी प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको छ । सहमति पत्रमा एमालेका तर्फबाट संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री यामलाल कँडेल र नेकपाका तर्फबाट संसदीय दल नेता तथा वर्तमान मुख्यमन्त्री मंगलबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।
यसैबीच मुख्यमन्त्री शाहीले बुधवार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाट सरकारमा सहभागी हुने तीन जना मन्त्रीले शपथ लिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाईं, सामाजिक विकासमन्त्रीमा जितबहादुर मल्ल र ऊर्जा तथा जलस्रोत विकास मन्त्रीमा कलबहादुर हमाल नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले उनीहरुलाई बुधवार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री शाहीले सुशासन र विकास नै आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । बुधवार विश्वासको मत लिने क्रममा उनले सुशासन र विकासलाई सरकारले प्राथमिकता दिने बताए । ‘हाम्रो प्रतिपक्षी भनेको गरिबी हो, त्यो सिद्धान्त अनुरूप हामीले काम गर्नुपर्नेछ,’ उनले विश्वासको मत माग्दै भने, ‘बजेट कार्यान्वयनको गतिलाई सुधार ल्याउने मेरो प्रयास रहनेछ ।’ साथै, उनले साझा विकासका कुरामा सबैको हातेमालोसहित अघि बढ्ने पनि बताए ।
यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नयाँ मुख्यमन्त्रीले इतिहास राखेको भन्दै व्यङ्ग गरेका छन् । एक जना पनि मन्त्री नियुक्त नगरेर विश्वासको मत लिन लागेको भन्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले इतिहासमै पहिलो रेकर्ड राखेको जनाए । मुख्यमन्त्री नियुक्त भएको २३ दिनसम्म पनि अहिलेसम्म एक जना मन्त्री नियुक्त गर्न नसकेको प्रति उनको टिप्पणी थियो । ‘सरकारका कारण प्रदेशसभा अनिर्णीत हुने अवस्था भयो,’ मुख्यमन्त्री शाहीको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने ‘यतिसम्म नालायक प्रदेशसभा कहिल्यै देखेको थिएन, मेरो दुई कार्यकालमा ।’
प्रकाशित मितिः ४ भाद्र २०८३, बिहीबार १८:३०
साझा बिसौनी ।