दशौँ राष्ट्रिय खेलकुद: फेरि तोकियो मिति, अब होला ?

सुर्खेत: कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि तोकिएको छ । २०८१ मै हुनुपर्ने प्रतियोगिता सर्दै आगामी मंसिरमा पुगेको छ । आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ । योसँगै पाँचौँ पटक मिति तोकिएको हो ।

दशौँ खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको छ । २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदको समापनको क्रममा नै १०औँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो । तर निर्धारित मितिमा प्रतियोगिता हुन सकेन । त्यसपछि २०८१ चैत २३ देखि ३० सम्म हुने भनिएको थियो, उक्त मितिमा पनि भएन । तेस्रोपटक २०८२ जेठ ३ देखि १० हुँदै चौथोपटक फागुन १ देखि ७ चैतका लागि सर्‍यो । आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन । फेरि जेठमा गर्ने निर्णय गरेको राखेपले त्यसमा पनि गर्न सकेन । त्यसपछि जेन–जी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा गर्ने निर्णय गरे । तर, समय नआउँदै मन्त्रीबाट राजीनामा दिएर चुनावमा लागेपछि चौथोपटकको मितिमा पनि दशौं खेलकुद हुन सकेको थिएन ।

२०३८ सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ । यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको २२ संस्करण हुनुपर्ने हो । यद्यपि, निर्धारित समयमा कहिल्यै गर्न नसक्ने विद्यमान समस्याका कारण अहिले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल दशौँ संस्करण हुँदैछ ।

दशौँ राष्ट्रिय खेलकुदलाई ध्यानमा राखेर निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला अन्तिम चरणमा पुगेर रोकिएको छ । करिब ९९ प्रतिशत निर्माण सकिएको रंगशालामा ठेकेदार कम्पनीले काम गर्न छाडेको दुई वर्ष पुग्यो । तर उक्त ठेक्काको न म्याद थप भएको छ न ठेक्का नै रद्द भएको छ । जसका कारण दसौं राष्ट्रिय खेलकुदको म्याद पटकपटक सर्दै अनिश्चित बनेको छ ।

रंगशाला कर्णाली प्रदेश सरकारको पहिलो गौरवको आयोजना हो । झन्डै नौ बिघा क्षेत्रफलमा फैलिएको रंगशाला निर्माणका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँग एमएसी÷जीएसएल जेभीले एक अर्ब ५९ करोड ४७ लाख रूपैयाँमा २०७८ मंसिरमा सम्झौता गरेको थियो । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी काम सुरू भएको रंगशालाको म्याद २०८१ जेठसम्म थियो । तर कोरोना महामारी, निर्माण सामग्रीको अभाव, दक्ष जनशक्तिको कमीलगायत समस्या देखाउँदै ठेकेदार कम्पनीले अनुरोध गरेपछि २०८१ मंसिरमा एक वर्षका लागि म्याद थपिएको थियो । ‘तर उक्त अवधिमै तत्कालीन सदस्य सचिवलगायत पदाधिकारीको कार्यकाल सकियो, सार्वजनिक खरिद नियमावली अनुसार ठेकेदार पक्षले म्याद सकिएको ६ महिनाभित्र थप म्याद थपका लागि कारणसहित परिषद्लाई अनुरोध गर्नुपथ्र्यो,’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी देवीप्रसाद पौड्यालले भने, ‘परिषद् विघठित हुँदा ठेकेदार पक्षले म्याद थपको लागि निवेदन नै पेस गर्न पाएन, अहिले म्याद सकिएकै १६ महिना पुग्यो, त्यसैले ठेक्का तोड्न र म्याद थपको दुवै काम गर्न कानुनी अड्चन देखिएको छ ।’ उनका अनुसार अब रंगशालाको प्रवेशद्वारमा कालेपत्र गर्ने, अन्तिम रंगरोगन गर्ने, विद्युत र खानेपानी जडान गर्नेलगायत काम बाँकी छ । ठेकेदार कम्पनीले काम काम सकेको झन्डै नौ करोड रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए ।

 

तयार भए तीन वटा क्रिकेट मैदान

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णालीमा एकैसाथ तीन वटा क्रिकेट मैदान तयार भएका छन् । क्रिकेट प्रतियोगिता सञ्चालनका लागि हालसम्म कर्णालीमा गतिला मैदान थिएनन् । तर दशौं खेलकुदका लागि लक्षित गर्दै सुर्खेतमा दुई वटा र रुकुमपश्चिममा एउटा गरी तीन वटा क्रिकेट मैदान निर्माण भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार सुर्खेतको वीरेन्द्रनगरमा दुई वटा मैदान निर्माण भएका छन् । वीरेन्द्रनगरस्थित कालिञ्चोक र प्रदेश रंगशाला नजिक गरी दुई वटा मैदान तयार भएका छन् । कालिञ्चोक क्रिकेट मैदानमा पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गरिनेछ भने प्रदेश रंगशाला नजिकको क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता आयोजना हुने गरी वीरेन्द्रनगरमा मात्रै दुई वटा क्रिकेट मैदान निर्माण गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार कालिञ्चोक क्रिकेट मैदान निर्माणमा ७३ लाख १८ हजार तीन सय ३७ रूपैयाँ खर्च भएको छ । यो मैदान निर्माणका लागि २०८० मंसिर १५ गते केपीडीडी कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । यो मैदान हाल निर्माण भएर प्रतियोगिता समेत सञ्चालन भइसकेको छ । प्रदेश रंगशाला नजिक निर्माण भएको क्रिकेट मैदान निर्माणका लागि चार करोड ५९ लाख ८० हजार चार सय ७१ रूपैयाँ खर्च भएको छ । अभियान कन्स्ट्रक्सन काठमाडौंले यो मैदानको निर्माण गर्ने जिम्मा लिएको थियो । यो मैदानको निर्माण कार्य सम्पन्न भएको छ ।

रुकुमपश्चिमको चौरजहारीमा रहेको क्रिकेट मैदानलाई भने प्रशिक्षणका रूपमा प्रयोग गरिनेछ । यो क्रिकेट मैदान निर्माणका लागि ५० लाख रकम उपलब्ध गराइएको थियो । विगतमा एउटा पनि गतिलो मैदान नभएको कर्णालीमा अब तीन वटा क्रिकेट मैदान तयार भएको छ ।

प्रकाशित मितिः   २९ श्रावण २०८३, शुक्रबार १४:२२