हरियाली प्रवर्द्धन
प्रचुर सम्भावना बोकेको पर्यटन प्रवद्र्धन गर्न सकेमा कर्णाली प्रदेशको आर्थिक समृद्धि धेरै टाढा छैन । पर्यटन प्रवद्र्धन योजनाअन्तर्गत विभिन्न कार्यक्रम अघि सारिएको छ । जसअन्तर्गत कर्णाली प्रदेश सरकारले हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । पर्यटन प्रवद्र्धन गर्न उक्त योजना कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । अघिल्ला वर्षहरूमा पनि उक्त कार्यक्रम कार्यान्वयन हुने गरेका थिए । यो वर्ष आवश्यक बजेट विनियोजन गरेर योजना कार्यान्वयन गर्न लागिएको छ । त्यसका लागि ३९ करोड ९६ लाख बजेट विनियोजन गरिएको छ । सहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरणको संरक्षण तथा पर्यापर्यटनको दिगो विकासमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने योजना राखिएको हो ।
हरियाली प्रवद्र्धन योजना अन्तर्गत सहरी क्षेत्रका सडक छेउछाउमा बिरुवा रोपिने छ । पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थलसहित अन्य प्राकृतिक, धार्मिक तथा सांस्कृतिक, पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ । अघिल्लो वर्षमा कुन–कुन स्थानमा निर्माण गर्न सकिन्छ भनेर अध्ययनको काम गरिएको छ । सोही आधारमा पर्यटन प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरिनेछ । अभिल्ला वर्षहरूमा पनि प्रदेश सरकारले केही स्थानमा यो कार्यक्रम लागू गरेको थियो । स्थानीय तहहरूले पनि पर्यटन प्रवद्र्धन गर्न भन्दै हरियाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले विभिन्न समयमा वृक्षारोपण गर्ने गरेको छ । बाटोको मापदण्ड पुगेका सडकखण्डको किनारामा करिब एक हजार पाँच सय बढी बोटबिरुवा रोपिएको छ । सहरी हरियाली प्रवद्र्धनका लागि नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभर बोटबिरुवा रोपेको हो । यो वर्षपनि हरियाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । नगरपालिकाले मुख्य सडक छेउछाउमा सजावटका लागि बिरुवा रोप्ने गरेको छ । सुर्खेत उपत्यकाभर हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको छ ।
कर्णाली प्रदेश पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको क्षेत्र हो । तर छिटफुटबाहेक ठूलो संख्यामा पर्यटक भित्रयाएर कर्णालीले लाभ उठाउन सकिरहेको छैन । आवश्यक पूर्वाधारको अभावदेखि प्रचार–प्रसारको कमीका कारण पर्यटन प्रवद्र्धन योजनाले सफलता पाएको छैन । पछिल्लो समय भने त्यसका लागि केही प्रयास भइरहेका छन् । कर्णालीको पहिचान दिलाउने थुप्रै सम्पदा छन् । पर्यटकीय सम्भावना बोकेको प्रकृतिको ‘भर्जिन गन्तव्य’ का रूपमा कर्णालीलाई लिने गरिएको छ । प्रदेशभित्र भएका प्राकृतिक सम्पदाहरूका साथसाथै साहसिक पर्यटनलाई पनि प्रवद्र्धन गर्न सक्ने हो भने कर्णालीले पर्यटन क्षेत्रबाटै ठूलो आर्थिक लाभ लिन सक्नेछ ।
प्रकाशित मितिः २९ श्रावण २०८३, शुक्रबार १४:२०
सम्पादकीय ।