रगतको विद्रोह
डा. महेन्द्रकुमार मल्ल त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुर्खेत बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनले साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आएका छन् । ‘भाषाको बकपत्र’ मल्लको पहिलो कविता–संग्रह हो । यसका साथै अन्य आधा दर्जनभन्दा बढी गजल तथा गीतहरू रेकर्ड भइसकेका छन् ।
प्राध्यापन उनको मुख्य पेसा भएता पनि प्रध्यापन सँगसँगै नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि साहित्य–सिर्जनालाई प्रमुख कर्मका रूपमा अघि बढाइरहेको देखिन्छ । र, भर्खरै ‘नक्खी’ उपन्यास बजारमा आएको छ ।
कुनै पनि उपन्यास पढिसकेपछि त्यसका पात्र र घटनालाई हेर्ने दृष्टिकोण सबै पाठकको एउटै नहुन सक्छ तर एउटा सफल उपन्यासले समाजमा पार्ने प्रभाव र त्यसले उठाएका प्रश्नहरू भने सबैका लागि महŒवपूर्ण हुन्छन् । यही दृष्टिले हेर्दा ‘नक्खी’ केवल प्रेमकथा नभइ सामाजिक चेतना र परिवर्तनको कथा हो ।
समाजमा घटित कथावस्तुका मुद्दामा आधारित भएर कर्णालीको आञ्चलिकता, भाषा, संस्कृति र नवीन शिल्पलाई आधार बनाएर डा. मल्लले ‘नक्खी’ उपन्यास पाठकमाझ ल्याएका छन् ।
जातीय विभेदको ऐतिहासिक पृष्ठभूमिबारे विभिन्न स्रोतहरूमा वर्णन पाइन्छ । विशेषतः राजा जयस्थिति मल्लको शासनकालमा जाति व्यवस्थाले संस्थागत रूप लिएको उल्लेख गरिन्छ । यद्यपि, त्यस समयकालमा ‘छोइछिटो’को मुद्दाले समाजमा कति गहिरो असर पा¥यो भन्ने विषयमा पर्याप्त अध्ययन भेटिँदैन । आज एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि दलित र गैरदलित समुदायबीच कायम रहेको जातीय विभेदले हामी वास्तवमै आधुनिक समाजमा पुगेका छौँ त ? भन्ने गम्भीर प्रश्न उठाउँछ । यही प्रश्नलाई ‘नक्खी’ उपन्यासले अत्यन्त सशक्त रूपमा प्रस्तुत गरेको छ ।
खस भाषाका विविध रूप र भेदलाई आधार बनाउँदै डा. मल्लले ‘नक्खी’ उपन्यासमा कर्णाली प्रदेशका जाजरकोट, सुर्खेतको पूर्वी क्षेत्र (सिम्ता), सल्यान र रुकुमको सामाजिक–सांस्कृतिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरेका छन् । उपन्यासका प्रमुख पात्र नक्खी र रमण यही भूगोलका प्रतिनिधि पात्र हुन् । नक्खी ठकुरी परिवारकी छोरी हुन् भने रमण दलित समुदायका युवा हुन् ।
नक्खी र रमणबीचको प्रेम सम्बन्ध केवल कथित उच्च जात र दलित समुदायबीचको प्रेमकथा मात्र होइन, यो युगौँदेखि समाजमा कायम जातीय विभेदको पर्खाल भत्काउने साहसी विद्रोह पनि हो । नक्खीले आफ्नो प्रेममार्फत समाजको रुढिवादी सोचलाई चुनौती दिएकी छिन् । यस्ता सचेत र साहसी युवतीहरू समाजमा जन्मिने हो भने जातीय विभेदका जरा क्रमशः उखेलिँदै जानेछन् भन्ने विश्वास उपन्यासले व्यक्त गरेको छ । रमणको हत्या भएपछि नक्खीले रमणको सपना अधुरो हुन नदिइ हिमाल विश्वकर्मासँग विवाह गरेर जातीय अहङ्कारमाथि गम्भीर प्रहार गरेकी छन् । यही घटनाले उपन्यासलाई सामान्य प्रेमकथाभन्दा माथि उठाएको छ ।

उपन्यासका पात्र काल्पनिक भएता पनि यसले उठाएको जातीय विभेदको प्रश्न नेपाली समाजको कटु यथार्थ हो । लेखकले जातीय छुवाछुत कुनै एक जातिमा सीमित नभइ समग्र समाजको मानसिक समस्याका रूपमा रहेको देखाउनुभएको छ । जातीय विभेदको अन्त केवल कानुनी व्यवस्थाले होइन, सचेत सामाजिक विद्रोह र व्यवहारगत परिवर्तनले मात्र सम्भव छ भन्ने सन्देश उपन्यासले दिन खोजेको छ । साथै, यसले आदर्श प्रेमलाई सामाजिक परिवर्तनको शक्तिका रूपमा स्थापित गर्न खोजेको देखिन्छ ।
फ्रान्सेली दार्शनिक रुसोले प्रतिपादन गरेका समानता र स्वतन्त्रताका आदर्शसँग उपन्यासको वैचारिक धरातलले मेल खान्छ । नक्खी र रमणको प्रेमले जातीय विभेदग्रस्त समाजलाई नयाँ दृष्टि दिन खोजेको छ । यसैले ‘नक्खी’ विचारप्रधान उपन्यासका रूपमा स्थापित भएको छ ।
उपन्यासको अर्को उल्लेखनीय पक्ष भाषिक संरक्षण हो । अरबी र फारसीले भाषाको एउटै लिपि प्रयोग गरेता पनि उनीहरूको भाषा संस्कृतिहरू फरक–फरक छन् । त्यसैगरी खस भाषाबाट विकसित भएका स्थानीय भाषिक रूपहरूको संरक्षण आवश्यक रहेको सन्देश उपन्यासले दिएको छ । आञ्चलिक भाषाको स्वाभाविक प्रयोगले कर्णालीको भाषा, संस्कृति र जनजीवनलाई साहित्यिक दस्तावेजका रूपमा सुरक्षित गरेको छ ।
डा. मल्लले उपन्यासमा गजल, कविता, गीत, मुक्तक, चिठी तथा अन्य साहित्यिक रूपहरूको प्रभावकारी प्रयोग गर्नुले यस्ता बहुविधा साहित्यिक विधाको संयोजनले उपन्यासलाई थप कलात्मक, रोचक र जीवन्त बनाएको छ ।
उपन्यासमा बजु, जुबिनाको लेक, रिपुखोला, गिरान बजार, ब्युरा मेला, सवरी नदी र सान्नीकाँध जस्ता काल्पनिक स्थानसँगै सुर्खेत जिल्लामा अवस्थित मैताल, रेक्चा, सान्नी, धनिगाड र रुकुम पश्चिमको झुलनेटा तथा कैलालीको पितमारीजस्ता वास्तविक स्थानहरूको पनि उल्लेख गरिएको छ । यसले उपन्यासलाई स्थानीय भूगोलसँग जोड्दै ती क्षेत्रको सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई समेत उजागर गरेको छ ।
उपन्यासले कोरोना महामारी, आर्थिक संकट र बैंकिङ प्रणालीप्रतिको जनगुनासोलाई पनि कथाभित्र समेटेको छ । रिदमको मृत्यु र महामारीका बेला वित्तीय संस्थाहरूको कठोर व्यवहारमार्फत राज्यको कमजोर उत्तरदायित्वमाथि लेखकले प्रश्न उठाएका छन् ।
राजनीतिक पहुँचका आधारमा हुने अन्याय, महिला हिंसा र यौन शोषणका घटनालाई उपन्यासले निर्भीक रूपमा प्रस्तुत गरेको छ । बलजीतको राजनीतिक प्रभावमा उनका छोरा मानजंगले नारी माथि गरेको दुव्र्यवहार तथा अधिवक्ता नगेन्द्र थापाको सहयोगमा पीडितले न्याय पाएको घटनाले अन्ततः कानुन सबैभन्दा माथि हुनुपर्छ भन्ने सन्देश दिएको छ ।
झंकर बुढा, लोकेन्द्र, प्रितम सर, सम्झना मेडम, तरु, बिस्ना, यशोधा, सुदेश र जोरबहादुर सिंहजस्ता पात्र न्याय, प्रगतिशीलता र मानवताको पक्षमा उभिएका छन् । यसको विपरित वडा अध्यक्ष, प्रहरी प्रमुख, बलबहादुर र हुकुम ठकुरीजस्ता पात्रहरू संकीर्ण सोच, जातीय अहङ्कार र सामाजिक विकृतिका प्रतिनिधि बनेका छन् । रतिमान, मनसरा, हिमाल र पैकेलीजस्ता पात्रहरू जातीय विभेदको पीडित वर्गका प्रतिनिधि हुन् भने रमण विश्वकर्मा प्रेम, त्याग र समानताको आदर्शका लागि जीवन बलिदान गर्ने अमर पात्रका रूपमा स्थापित भएका छन् ।
प्रितम सर र सम्झना मेडमको सम्बन्ध सार्वजनिक नभएपछि उनको सम्बन्धले थप रोचकता थपेको छ । उपन्यासको सबैभन्दा मार्मिक प्रसङ्गमध्ये एक ब्राह्मण परिवारको गरिब बालकलाई दलित परिवारले पालनपोषण गरी शिक्षित बनाउने घटना हो । अन्त्यमा रमणको जात थाहा पाएपछि बालकको आमाले उसलाई रमणसँग जान नदिने प्रसंगले जातीय पूर्वाग्रह मानिसको चेतनामा गहिरोसँग जरा गाडेको छ भन्ने यथार्थलाई अत्यन्त मार्मिक ढङ्गले उद्घाटित गरिएको छ ।
उपन्यासका केही सीमाहरू पनि छन् । पहिलो, रमण र नक्खीको बाल्यकालमै विद्यालय परिसरमा प्रेमको विकास भएको प्रसङ्ग केही हतारिएको र कम विश्वसनीय देखिन्छ । दोस्रो, नारी पात्रसँग सम्बन्धित उपकथाको उठान रोचक भएपनि त्यसको समुचित निष्कर्ष नदिएर उपकथालाई रहस्यको गर्भमा राखेर राज्यलाई जिम्मेवार बनाउनु पथ्र्यो । त्यसो गर्दा उपन्यास थप सशक्त हुने थियो । तेस्रो, रमण र नक्खीबीचका केही संवादहरू एउटै विषय र भावमा बारम्बार दोहोरिएको जस्तो लाग्छ । ती संवादलाई अझ संक्षिप्त, सघन र प्रभावशाली बनाइएको भए उपन्यासको कलात्मकता अझ उचाइमा पुग्ने थियो ।
यी केही सीमित कमजोरीका बाबजुद ‘नक्खी’ जातीय विभेद, प्रेम, सामाजिक न्याय, भाषा, संस्कृति र परिवर्तनको चेतनालाई एकै साथ समेट्न सफल समकालीन नेपाली उपन्यास हो । यसले पाठकलाई मनोरञ्जन मात्र होइन, समाजलाई नयाँ दृष्टिले हेर्ने चेतना प्रदान गर्छ । उपन्यासमा भएको खष भाषाको संवादले कर्णालीको भाषा साहित्यलाई नक्खी उपन्यासले थप स्थापित बनाएको छ । त्यस अर्थमा डा. महेन्द्रकुमार मल्लको ‘नक्खी’ नेपाली उपन्यास साहित्यमा उल्लेखनीय र विचारोत्तेजक कृतिका रूपमा स्मरणीय रहने विश्वास गर्न सकिन्छ ।
– धिरेन अनुपम
प्रकाशित मितिः २७ श्रावण २०८३, बुधबार १२:२३

धिरेन अनुपम ।