कर्णाली करिडोरमा सुख्खा पहिरो
सुर्खेत: सडक निर्माणका लागि ब्लास्ट गरेपछि सुख्खा पहिरो खसेको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६, थिर्पुमा नेपाली सेनाले सडक निर्माण गरिरहेको क्षेत्रआसपास आइतवार ठूलो चट्टानसहितको पहिरो खसेको हो ।
‘लगातार पानी परेर जमिन भिजेको थियो । ठूलो सुख्खा पहिरो गएको छ,’ नेपाली सेनाका मेजर सुकी थकालीले भने, ‘बस्तीलाई भने जोखिम छैन । वारिपारि बस्ती छन् तर अहिले बस्तीमा जोखिम देखिएको छैन ।’ पहिरोका कारण कराइली गहिरो क्षेत्रमा भइरहेको सडक निर्माणको काम दुई–तीन दिन प्रभावित हुने सेनाले जनाएको छ । पहिरो गएको क्षेत्रमा तत्काल काम नगरी अन्य क्षेत्रमा सडक निर्माण अघि बढाइने थकालीले बताए । ‘सुख्खा पहिरो झरेको हुनाले त्यो क्षेत्रमा दुई तीन दिन काम गर्न सकिँदैन । अहिले अर्को क्षेत्रमा काम गर्छौं,’ उनले भने ।
पहिरो खसेको क्षेत्रमा थप चट्टान तथा माटो खस्न सक्ने जोखिम रहेकाले तत्काल उक्त क्षेत्रमा काम नगर्ने सेनाको तयारी छ । जोखिमको अवस्था हेरेर प्रभावित क्षेत्रमा पुनः सडक निर्माणको काम अघि बढाइने जनाइएको छ । कर्णाली करिडोरको यो खण्डमा नेपाली सेनाले सडक निर्माण गरिरहेको छ । लगातारको वर्षाका कारण जमिन कमजोर बनेकाले निर्माणाधिन सडक क्षेत्रमा पहिरोको जोखिम बढेको छ । ठूलो सुख्खा पहिरो खसेपछि सडक निर्माणमा थप चुनौती थपिएको छ ।
प्रकाशित मितिः २५ श्रावण २०८३, सोमबार ०८:५०
साझा बिसौनी ।