संकटतर्फ राउटे समुदाय

लोपोन्मुख अवस्थामा रहेका राउटेको जीवनशैली परम्परागत नै छ । र, त्यो नै आजको समयमा अनौठो र रहस्यमय छ । मानिसहरू हरेक दिन आफ्नो जीवनशैलीमा रूपान्तरण गर्न खोजिरहेका छन् । विज्ञान र प्रविधिको भरपूर उपयोगबाट आफूलाई अझ अब्बल बनाउन उद्यत छन् । यद्यपि, यही समाजको एउटा हिस्सा भएर पनि राउटेहरू आफूलाई आधुनिक होइन परम्परागत जीवनशैलीमै राख्ने प्रयत्न गरिरहेका छन् । पछिल्लो उनीहरूको जीवनशैली, व्यवहार र सोचमा समेत केही परिवर्तन देखिए पनि ठूलो रूपान्तरणको अवस्थामा पुगिसकेको छैन । जंगली युगकै प्रतिनिधित्व गर्ने समुदायकोरूपमा यथावत छ । तर उनीहरूको सामुहिक अस्तित्व नै संकटमा पर्दै गएको देखिन्छ ।

पछिल्लो पटक राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् । उनी राउटे समुदायका मुखिया मध्येका एक प्रकाश शाहीकी आमा हुन् । दीर्घरोगको बिरामी थिइन् । नियमित औषधी सेवन गरिरहेकै अवस्थामा उनको मृत्यु भएको हो । फलाटो शाहीको मृत्युपछि अब राउटे समुदायको कुल जनसंस्था एक सय ३२ मा झरेको छ । गत वर्ष साउन महिनामा उनीहरूको जनसंख्या एक सय ३५ थियो । हाल राउटे पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् । मानवीय त्रृटिका कारण राउटे समुदाय मासिँदै गएको छ । फिरेन्ते जीवन बिताउने यो समुदायमा रोगको उपचार नहुँदा मृत्युवरण गर्न बाध्य बनेको छ । उनीहरूले आफूभन्दा बाहिरका मानिसको कुरा विश्वास गर्दैनन् । समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या पनि उच्च छ । काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा समस्या देखिएको छ ।

बर्सेनि राउटेको जनसंख्या घट्दो क्रममा देखिन्छ । त्यसैले पनि कर्णाली प्रदेश सरकारले राउटे संरक्षण योजना बनाएको छ । लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति–२०८३ निर्माण गरिएको हो । तर राउटे संरक्षणका लागि नीति बनिरहे पनि कार्यान्वयन फितलो छ । यो वर्षबाट नीति कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन एकीकृत नीति निर्माण गरिएको हो । राउटेहरूमाथि गैरराउटे समुदायबाट असुरक्षा बढ्दै गएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति अपरिहार्य भएको छ । पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको छ । जसले गर्दा उनीहरू असुरक्षित बन्दै गएका छन् ।

प्रकाशित मितिः   २५ श्रावण २०८३, सोमबार ०८:४९