आयुर्वेदमा आत्मनिर्भरता

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरी आयुर्वेद औषधी उत्पादन केन्द्रको रूपमा विकास गर्न लागिएको छ ।

सुर्खेत: कर्णाली प्रदेशलाई आयुर्वेद औषधी उत्पादनमा आत्मनिर्भर बनाइने भएको छ । प्रदेश सरकारले जडिबुटीबाट कर्णालीलाई समृद्ध बनाउने गरी योजना कार्यान्वयन गर्न लागिएको जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरी आयुर्वेद औषधी उत्पादन केन्द्रको रूपमा विकास गर्न लागिएको मन्त्रालयका प्रवक्ता एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताए । उत्पादित औषधीलाई ब्राण्डको रूपमा बजारीकरण तथा बिक्री वितरण गर्न कानुन निर्माण गरिने उनले जानकारी दिए । प्रदेश सरकारले वैकल्पिक चिकित्सा सेवालाई नागरिकको जीवनशैलीसँग आवद्ध गर्न परम्परागत ज्ञानसीपको उपयोग गर्ने नीति लिएको छ । यो वर्ष उक्त कार्यक्रम कार्यान्वयनका लागि ६ करोड ४१ लाख बजेट विनियोजन गरिएको छ ।

गत वर्षबाट कर्णाली प्रदेश आयुर्वेद औषधालयलाई अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ बाट अनुसन्धानको काम थालिएको प्रदेश आयुर्वेद अस्पतालका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । नागरिकलाई निरोगी बनाउन स्वस्थ जीवनशैली, आहारविहार, योग, ध्यान, व्यायाम प्रवद्र्धन गर्न आयुर्वेद सेवालाई प्रभावकारी बनाउन लागिएको उनको भनाइ छ । प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय सेवाग्राही बढ्दै गएका छन् ।
सरकारले सेवालाई प्रभावकारिता बनाउन आवश्यक संरचना निर्माणको कामसमेत गरिरहेको छ । दरबन्दी थप र आवश्यक पूर्वाधार निर्माण गरेर औषधालयलाई आयुर्वेद केन्द्रका रूपमा विकास गरिएको औषधालयका प्रमुख डा. तिवारीले बताए । उनका अनुसार एकीकृत रूपमा आयुर्वेद सेवा दिन थालिएको छ । आयुर्वेद चिकित्सा सेवा, आयुर्वेद उपचार कार्य, वैकल्पिक उपचार र आयुर्वेद औषधी उत्पादनको काम एकै ठाउँबाट सुरु गरिएको छ । गतवर्ष मात्र तीन वटा अनुसन्धानका काम भएका छन् । यो वर्ष थप व्यवस्थित गरेर काम सुरु गर्न लागिएको छ । अहिले आयुर्वेद औषधालय सुर्खेतबाट उपचार सेवा मात्र प्रवाह भइरहेको छ । थप सेवा विस्तार गरेर आयुर्वेद केन्द्रको रूपमा काम अघि बढाइएको छ ।

भवन निर्माण कार्य सुस्त

आयुर्वेद औषधालयको भवन निर्माण कार्य भने निकै सुस्त छ । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलासुस्ती भइरहेको हो । पछिल्लो पटक म्याद थपिएको समयअवधि सकिन केही समय मात्र बाँकी रहँदा करिब ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम निकै सुस्त भइरहेको छ ।

निर्माण कार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको नौ करोड ७१ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो । भवनको हालसम्म ४५ प्रतिशत मात्र भौतिक तथा ३५ प्रतिशत वित्तीय प्रगति भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ । १५ शैड्ढयाबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । भवन निर्माणको न्यून मात्र काम भएको आयुर्वेद औषधालयका प्रमुख तिवारीले बताए । निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणकार्य समयमा हुन नसकेको उनको भनाइ छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा. तिवारी बताउँछन् ।

भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको छ । सेवा विस्तार भएपनि आवश्यक भौतिक पूर्वाधार नहुँदा समस्या हुनेगरेको छ । यस्तै, सेवाग्राही बढ्दै गए पनि औषधालयमा जनशक्ति भने अभाव छ । हरेक वर्ष सेवाग्राहीको चाप बढ्न थालेपछि सेवा प्रवाहमा चुनौती थपिदै गएको औषधालयले जनाएको छ । २६ जनाको स्थायी दरबन्दी छ । हाल १८ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत छन् । अझै आठ दरबन्दी रिक्त छ ।

प्रकाशित मितिः   २५ श्रावण २०८३, सोमबार ०८:५६