सडकले समृद्धितर्फ कर्णाली
सुर्खेत, ६ असार ।
पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता । नुनतेल सुर्खेत र नेपालगन्जबाट ओसार्नु पथ्र्यो । अस्पताल नपुग्दै बिरामीको बाटोमै मृत्यु हुने । उनीहरू सरकारले हेलिकोप्टरबाट बाँडेको चामलले दशैं मनाउन बाध्य थिए । हुनेखानेहरू जहाजमा यात्रा गर्दथे । आर्थिक अवस्था कमजोर भएकाहरूलाई हप्तौं लगाएर पैदल हिँड्नुको विकल्प थिएन ।
केही वर्ष अघिसम्म सडक नपुग्दा कर्णालीमा विकास पनि अवरुद्ध थियो । अधिकांश पुस्ताले मोटरसमेत देख्न पाएनन् । तर वर्षौंको प्रयासपछि सडक पुग्दा अहिले कर्णालीमा मोटरले विकास र समृद्धि ओसार्न थालेका छन् । कुनैबेला पैदल हिँड्न बाध्य कर्णालीबासीका लागि सडक नै ‘भाग्यमार्ग’ बनेको छ । सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्गका कारण यतिबेला कर्णाली आफ्नो मुहार फेर्ने अभियानमा व्यस्त छ । सडक खुलेपछि विकास र समृद्धिको खाका कोर्दै गरेका कर्णालीबासीले पछिल्लो समय यही कर्णाली राजमार्गलाई ‘समृद्धिको मार्ग’ का रूपमा व्याख्या गर्न थालेका छन् ।
सडक सञ्जालमा जोडिएपछि कर्णालीले भारी बोकेर हप्तौंसम्म पैदल हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको छ । त्यतिमात्र होइन, ऋण लगाएर जहाजमा यात्रा गर्नैपर्ने बाध्यता पनि टरेको छ । ‘कर्णालीमा सडक मात्र खुलेको होइन, यहाँको विकास र चेतनाको ढोका पनि खुलेको छ’ जुम्ला चन्दननाथका भैरवबहादुर धरला भन्छन्, ‘विकासको मुख्य जग नै सडक रहेछ, पहिला सडक नखुल्दा विकास नै ठप्प थियो । नुन र तेल त मान्छेले बोकेर ल्याउन पथ्र्यो, पूर्वाधार निर्माणका सामग्री ल्याउन सम्भव नै थिएन ।’ गाडी चल्न थालेपछि निर्माणका सामग्री गाउँमा पुग्न थालेको भन्दै उनले विकासले गति लिएको बताए । उनी अहिले पनि आफूले नेपालगन्जबाट दैनिक उपभोग्य वस्तुहरू डोकोमा बोकेर जुम्ला पुगेको झलझली सम्झन्छन् ।
२०६३ वैशाखबाट सञ्चालनमा आएको कर्णाली राजमार्गले कर्णालीका कालिकोट, जुम्ला र मुगुलाई छोएको छ । कालिकोट मान्ममा व्यवसाय गर्दै आएकी बेलमती शाही भन्छिन्, ‘हेलिकोप्टरमा सामान ढुवानी गर्ने हैसियत थिएन, बोकेर ल्याउँदा महिनौं लाग्थ्यो । अहिले सबै सामान गाडीले ढोकामै ल्याउँछ, व्यापार गर्न सजिलो भयो ।’ वर्षौंसम्म विकटता, दुर्गम, अभाव, भोकमरी र अशिक्षाको जालोमा बेरिएका कर्णालीका जिल्लाहरू पछिल्लो समय सडक सञ्जालमा जेलिँदै गएका छन् । सडकको पहुँचसँगै कर्णालीमा समृद्धिको यात्रा सुरु भएको हो । राजमार्ग खुलेपछि विभिन्न स्थानमा नयाँ सहर विस्तार भएका छन् । यसले स्थानीयको आम्दानीमा समेत वृद्धि गरेको छ ।
सुर्खेत–जुम्ला जोड्ने दुई सय ३२ किलोमिटर सडक सञ्चालनमा आएपछि एकै दिनमा जुम्लाबाट सुर्खेत पुग्न सम्भव भएको छ । जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावल भन्छन्, ‘सडक खुलेपछि विकास सुरु भएको छ, उत्पादनले पनि बजार पाउन थालेको छ । केही उपाय नहुँदा मान्छेहरू मजदुरीका लागि कालापहाड जान्थे, अहिले गाउँमै उत्पादनमा जुटेका छन् ।’ बजारसम्म सहज पहुँच भएकाले मान्छेहरू स्याऊ तथा जडिबुटी खेतीमा जुटेको र उनीहरूको आर्थिकस्तर वृद्धि भएको उनको भनाइ छ ।
मोटर गुड्न थालेपछि निर्माण सामग्रीहरू ढुवानी गर्न सहज भएकाले भौतिक निर्माणको कामलेसमेत तीव्रता पाएको अध्यक्ष रावलले जनाए । उनले भने, ‘पहिला जहाजबाट सामग्री ल्याउनुपर्ने बाध्यता थियो, बजेट जति ढुवानीमै जान्थ्यो । तर हिजोआज गाडीमा ल्याउँदा सस्तो पर्छ, यसले विकास निर्माणमा सहज भएको छ ।’ सडक खुलेपछि कर्णालीका जनताको जीवन फेरिएको छ । उत्पादन भएको स्याऊ र सिमी बारीमै बिक्री हुन थालेको छ । विकास निर्माणको गति बढेपछि रोजगारीका लागि भारत पस्नेहरू अहिले गाउँमै मजदुरी गर्न थालेका छन् । मोटरसँगै पर्यटक भित्रिन थालेपछि होटल र अन्य व्यवसाय फस्टाएको छ । अहिले सत्ताको बागडोर केन्द्रित सिंहदरबारको अधुरो आश्वासन भन्दा विकास, चेतना, समृद्धि र खुशी बोकेर सडकमा गुड्दै कर्णाली पुगेका मोटरले कर्णालीबासीको समृद्धिको चाहना पूरा गरिरहेका छन् ।
साझा बिसौनी संवाददाता ।