मुम्बईमा चोरी गर्ने दैलेखका दुई जना पक्राउ
साझा बिसौनी संवाददाता
बाँके, २६ पुस ।
मुम्बईस्थित चेम्बुसबाट चोरी गरेर ल्याएको एक करोड ६ लाख ७२ हजारसहित दुई नेपाली पक्राउ परेका छन् । मुम्बइको चेम्बुरस्थित गौरब रमेश गेदाबनको घरमा भान्से र चौकीदारको रूपमा काम गर्दै आएका ती युवाहरूले रकम चोरेर नेपाल ल्याएका थिए । चोरीमा संलग्न दैलेख सिंहासैनका १८ वर्षीय जगतजंग शाही र १७ वर्षीय लब भन्ने लक्ष्मण शाहीलाई चोरी गरेर ल्याएको रकमसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई अञ्चल प्रहरी कार्यालय भेरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जगत भारतीय सीमावर्ती क्षेत्रबाट र लक्ष्मण कैलालीबाट पक्राउ परेका हुन् । उनीहरू दाजुभाइ हुन् । चोरी गरेर ल्याएको रकम प्रहरीले कैलालीको लम्की, टिकापुर र बाँकेको कोहलपुरबाट ६० लाख चार हजार पाँच सय भारतीय रूपैयाँ (नेपाली रूपैयाँ ९६ लाख ६४ हजार) र १० लाख ४० हजार बरामद गरेको अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्नेतले बताए । उनीहरूले चार जना मिलेर डिसेम्बर २४ मा मुम्बई चेम्बुरका गौरव रमेश गेदाबनको घरबाट एक करोड ४० लाख (नेपाली रूपैयाँ २ करोड २४ लाख) चोरी गरेका थिए । चोरी गरेको रकम चार जनाले बाँडेर लिएका थिए । अभियुक्तहरू मध्ये दुई जना अझै फरार छन् । उनीहरूको खोजी भइरहको वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्नेतले बताए ।
साझा बिसौनी संवाददाता ।