आज बिदा नहुने
साझा बिसौनी संवाददाता
काठमाडौं, २६ पुस ।
आइतवार दिनभर धेरै सरकारी कर्मचारीको चासो थियो, आज (सोमवार) बिदा होला कि नहोला । मन्त्रीस्तरीय निर्णयले सार्वजनिक बिदा भनेर घोषणा ग¥यो भने यसबारे जानकारी दिनुपर्छ भनेर गृहमन्त्रालयका कर्मचारीहरू पनि तयारी अवस्थामा थिए । तर मन्त्रीपरिषद् भित्रैबाट चर्को दबाब आए पनि सरकारले आज सार्वजनिक बिदा घोषणा गर्न सकेन । ‘बिदा होला कि भन्ने कुरो चाहिँ थियो, तर आइतवार साँझसम्म यसबारे निर्णय नभएकाले शायद बिदा नहोला’ गृहमन्त्रालयका एक कर्मचारीले भने । त्यसो त उपप्रधानमन्त्री चित्रबहादुर केसीले पनि यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । स्रोतका अनुसार पुस २७ लाई पृथ्वी जयन्तीको रूपमा निरन्तरता दिंदै सार्वजनिक बिदा दिने या नदिने विषयमा मन्त्रीपरिषद्मा कुरा भए पनि अन्त्यमा यसबारे केही निर्णय भएन ।
लोकतन्त्र आउनुभन्दा अघि पुस २७ मा पृथ्वी जयन्ती भन्दै सार्वजनिक बिदा दिइन्थ्यो । लोकतन्त्रपछिको सरकारले पुस २७ मा पृथ्वी जयन्ती मनाउन र सार्वजनिक बिदा दिन छाड्यो । तर कांग्रेस, एमाले, राप्रपा, राप्रपा नेपाल मात्र होइन माओवादीकै कतिपय नेताहरूले समेत पृथ्वी जयन्ती मनाउनुपर्नेमा जोड दिंदै आएपछि केही वर्षदेखि सरकारीस्तरमा समेत यसबारे छलफल भइरहेको छ । यसअघिका कतिपय प्रधानमन्त्रीले समेत पुस २७ मा पृथ्वी जयन्ती मनाउने र सार्वजनिक बिदा दिनेबारे निर्णय गर्ने आश्वासन दिंदै आएका थिए । यसपटक राप्रपा नेपालका अध्यक्ष कमल थापा स्वयम् सरकारको शक्तिशाली स्थानमा भएको र अर्का उपप्रधानमन्त्री सीपी मैनालीले समेत पृथ्वी जयन्तीको पक्षमा खुलेरै बोलेकोले सार्वजनिक बिदा नै होला कि भन्ने धेरैलाई आश थियो ।
साझा बिसौनी संवाददाता ।