नेपालले अफगानिस्तानसँग खेल्ने

काठमाडौँ, २६ पुस ।
आइसीसी उन्नाइस वर्षमुनी (यु–१९) विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अफगानिस्तानको यु–१९ राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने भएको छ । 
भारतको दिल्लीमा सोमवार हुने अभ्यास खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्ने भएको हो । यसअघि भारतको हिमाञ्चल प्रदेशमा भएको तीन अभ्यास खेलमा नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको थियो । नेपालले दोस्रो र तेस्रो खेल आफ्नो पक्षमा पारेको थियो भने पहिलो खेलमा पराजय भोगेको थियो । 
नेपालले हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएशनलाई दोस्रो खेलमा तीन र तेस्रोमा आठ विकेटले पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा भने नेपाल दुई विकेटले पराजित हुन पुगेको थियो । उक्त नेपाली राष्ट्रिय क्रिकेट टोली बङ्गलादेशमा आगामी माघ ८ गतेदेखि हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि प्रशिक्षण तथा अभ्यास खेल खेल्न भारत पुगेको हो । विश्वकपमा नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । 
प्रकाशित मितिः   २७ पुष २०७२, सोमबार ११:०२