लगानीको खोजी

लगानी गर्न सकिने पर्याप्त क्षेत्रहरू हुँदाहुँदै पनि कर्णाली प्रदेशमा अपेक्षाकृत रूपमा लगानी भित्रिन सकेको छैन । यहाँको जल, जमिन, जंगल, जटिबुटीलगायत विविध क्षेत्रमा लगानीका प्रचुर सम्भावना रहेको मानिन्छ । तर पूर्वाधार विकासको कमी, राज्यको बेवास्तालगायतका कारणले गर्दा यस्ता क्षेत्रमा लगानी बढ्न सकेको छैन । त्यसो त लगानी भिœयाउने उद्देश्यले आयोजना गर्ने भनिएको लगानी सम्मेलन फेरि पनि अनिश्चित बनेको छ । सरकार फेरबदलको सोझो असर लगानी सम्मेलनमा परेको हो । विभिन्न समयमा गठन भएका सरकारले लगानी सम्मेलनको विषयलाई प्राथमिकतामा राख्न नसकेका हुन् । कहिले योजना आयोग पूर्ण नहुनु त कहिले सरकार फेरबदल भइरहनु लगायतका कारणले लगानी सम्मेलनको विषय अन्योलमै रहिरह्यो ।

सरकारले लगानी सम्मेलन गर्ने विषयलाई वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ । २०७६ देखिनै लगानी सम्मेलन गर्ने र कर्णालीमा लगानीकर्ताहरू आकर्षण गर्ने योजना अनुरूप तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नै योजना अगाडि बढाएका थिए । कर्णालीको विकास र आर्थिक समृद्धिमा सहयोग गर्न लगानीकर्तालाई आकर्षित गर्ने भन्दै लगानी सम्मेलनको अवधारणा अघि सारिएको थियो । शाही नेतृत्वको सरकारले २०७७ मंसिरमै गर्ने भनेको सम्मेलन तयारी नपुगेकाले २०७८ वैशाखमा सम्पन्न गर्ने भनिएको थियो । योजना आयोगका पदाधिकारीहरूले सो अनुरूप तयारीसमेत थालेका थिए तर कोरोना महामारीका कारण सम्मेलन स्थगित गरियो । त्यसपछि मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले योजना आयोगलाई नै पूर्णता नदिएपछि लगानी सम्मेलनको योजना तुहिएको थियो । त्यसपछि पनि प्रदेश सरकारले विभिन्न समयमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको थियो । तर सरकारको योजना कार्यान्वयन भएको छैन । पछिल्लो पटक पूर्वमुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । प्रदेश योजना आयोगले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो । तर अन्तिम समयमा आएर सम्मेलन आयोजना हुन सकेन ।

दुई पटक लगानी सम्मेलनको योजना विफल बन्यो । त्यतिबेला धेरै कामसमेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन हुन सकेन । त्यसपछि निर्वतमान मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नेतृत्व गरेपछि पनि लगानी सम्मेलनको योजना चर्चामा मात्रै सीमित बन्यो । अहिले कर्णालीमा नयाँ सरकार बनेको छ । लगानी सम्मेलन मात्र होइन कर्णालीका ठूला योजना कार्यान्वयनमा सरकार फेरबदलले ठूलो धक्का पुगेकोे छ । सरकारले फेरबदलले आयोजना निर्माणका काम नै रोकिने गरेका छन् ।

प्रकाशित मितिः   १९ श्रावण २०८३, मंगलवार ०५:०३