विपद् न्यूनीकरणमा टेवा
प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षति हुने गरेको छ । कतिपय प्राकृतिक विपत्तिहरू चाहेर पनि रोक्न वा न्यूनीकरण गर्न सकिदैंनन् । जसले गर्दा मानवले ठूलो क्षति व्यहोर्नु परिरहेको छ । तर केही यस्ता विपद्हरू पनि छन्, जसलाई न्यूनीकरण गर्न सकिन्छ । मानवीय प्रयासबाट पनि जोखिम तथा विपद्हरू न्यूनीकरण गर्न सम्भव पनि छ । पूर्वतयारी र सावधानी अपनाउन नसक्दा अकल्पनीय घटनाहरू हुने गर्दछन् । तर पूर्वतयारी, सूचना र सावधानी अपनाएको खण्डमा प्राकृतिक विपद्का कारण हुनसक्ने क्षति र जोखिमबाट बच्न सकिन्छ । यसतबेला वर्षात्को मौसमा सुरु हुन थालेको छ । यो मौसमा अत्याधिक वर्षा हुने भएका कारण बाढी, पहिरो र डुबानको जोखिम हुन्छ । सावधानी र होसियारी नहुँदा यसबाट ठूलो क्षति हुनजान्छ । मौसमको बारेमा पूर्व जानकारी र सूचना नहुँदा विपद् निम्तिने गरेका छन् । यही समस्याबाट जोखिन वर्षात्को मौसम सुरु हुनै लाग्दा सुर्खेतमा स्वचालित मौसम केन्द्रहरू स्थापना भएका छन् । मौसमको अवस्थाबारे जानकारी दिन र विपद्बाट जोगिन सूचनाहरू संकलन गर्ने उद्देश्यले मौसम केन्द्रहरू स्थापना भएका छन् । सुर्खेतको रातानाङ्गला र बड्डीचौरमा स्वचालित मौसमी उपकरणहरू जडान भएका हुन् । वास्तवमा अब यसको सहायताले मौसम सम्बन्धी पूर्व जानकारी हुनेछ ।
मौसम केन्द्र स्थापना भएपछि सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ । यसले पानीको मात्रा, तापक्रम, हावाको चाप र बाढीको अवस्थाको बारेमासमेत सूचना दिनेछ । मौसम केन्द्रको सहायताले पानीको मात्रा तत्काल जानकारी हुने भएकाले खोलामा बाढीको पूर्वानुमान गर्न सहज हुनेछ । तापक्रम, वायुको गति र पानीको मात्र थाहा हुनेछ । स्वचालित भएकाले तत्काल वास्तविक जानकारी सबै वेभसाइटमा देखिनेछ । यसअघि मौसमको पूर्वानुमान गर्नसक्ने उपकरण नहुँदा सुर्खेतमा बाढीका कारण २०७१ मा ठूलो क्षति भएको थियो । एक सय भन्दा बढीको ज्यान गएको थियो । ठूलो भौतिक क्षति भएको थियो । त्यतिबेलाको क्षतिका कारण घरबारविहीन भएकाहरू अहिले पनि त्रिपालमा विस्थापित जीवन बिताइरहेका छन् । सायद त्यसबेला मौसमको पूर्व जानकारी दिने उपकरण भएको भए, त्यो क्षतिबाट जोगिन पनि सकिन्थ्यो । तर पूर्व सूचना र अनुनमा गर्नसक्ने अवस्था नहुँदा जिल्लाले ठूलो क्षति पुग्यो । त्यो क्षतिको पूर्ति अहिले पनि हुनसकेको छैन । अब मौसम सम्बन्धी पूर्व अनुमान गर्नसक्ने उपकरण जडान भएका छन् । यसले पूर्व तयारी र सावधानी अपनाउन सहज हुनेछ । यस्तै प्राकृतिक विपद् न्यूनीकरण गर्न टेवा पुग्नेछ ।
मौसमी केन्द्र स्थापना हुनु आफैमा खुशीको विषय हो । अर्कोतर्फ सुर्खेतमा बाढी र डुवानको पूर्वानुमान गर्नसक्ने मौसमी राडार स्थापनाको काम पनि जारी छ । अबको पाँच महिनापछि राडार नेपाल आउनेछ । यो प्रविधिले मौसमको अवस्था, बाढी र डुवानको खतरामा रहेको स्थानको पूर्व जानकारी तथा कहिले र कुन स्थानमा कति वर्षा हुँदैछ भन्ने बारेमा पूर्वानुमान गर्दछ । यो सञ्चालनमा आएपछि सर्वसाधारणलाई सार्वजनिक रूपमा नै सूचना दिन सकिन्छ । रातानाङ्गलामै स्थापना हुने राडारले दुई सय किलोमिटर टाढासम्म हुने मौसम र त्यसले निम्त्याउने जोखिमको बारेमा पूर्वानुमान गर्नेछ । यहाँ स्थापना भएको राडारले मध्य तथा सुदूरपश्चिम र भारतका केही भागमासमेत काम गर्नेछ । यस्तै राडारले बाढी र डुवानको अतिरित्त हवाई उडानका लागि समेत मौसमको विश्लेषण गर्नेछ । राडार स्थापना भएमा प्राकृतिक विपद्बाट हुने नोक्सान कम गर्न सकिनेछ । प्राकृतिक विपद् र जोखिमलाई कम गर्न यी उपकरणले सहयोग गर्नेछन् ।
साझा बिसौनी संवाददाता ।