सिम्तामा पर्यटनको सम्भावना

सुर्खेत जिल्लाको पूर्वी क्षेत्र, विकासोन्मूख र सुन्दर सिम्ता । प्राकृतिक सुन्दरता, सांस्कृतिक एकता र सामाजिक सद्भावको थलो सिम्तामा विकासको क्रम पनि तेज गतिले अघि बढिरहेको छ । स्थानीय तहको निर्वाचन सकिएसँगै सिम्तालीहरूले नयाँ विकासका सम्भावनाहरूको खोजी गरिरहेका छन् । सिम्ताबासीले जनप्रतिनिधि चुनिसकेका छन् । स्थानीय तहको निर्वाचनमार्फत् नेतृत्व चयनपछिको अवस्थामा सिम्ताको सामाजिक विकास, पूर्वाधार विकास र समृद्धिका व्यापक अवसरहरू प्राप्त हुने देखिन्छ ।

के अबको नेतृत्व ती अवसरहरूको पहिचान, परिचालन र दिगो संरक्षण गर्न सक्षम हुन्छ त ? के राजनीतिक धरातलबाट माथि उठेर स्थानीय तहको नेतृत्व विकासको नयाँ यज्ञमा आहुती दिन तयार छ ? के वर्तमान राजनीतिक शक्तिहरूले नेतृत्वमा रहेका व्यक्तिहरूलाई विकासमा समाहित हुन प्रशिक्षित गरेका छन् ? के नयाँ आउने नेतृत्व आर्थिक समृद्धि र विकासका सम्वाहक बन्न सक्छन् ? अर्थात् अबको दिनमा स्थानीय तहको नेतृत्व चयनपछि नेतृत्व विकासका आवश्यक न्यूनतम शर्तहरूमा बहस केन्द्रित हुनु आवश्यक देखिन्छ ।
सिम्ता धेरै दृष्टिले सम्भावना बोकेको क्षेत्र हो । सुर्खेतको ऐतिहासिक महŒव बोकेको सिम्ता गाउँपालिका साहित्य, कला र संस्कृतिमा पनि निकै समृद्ध छ । पर्यटन यसको अर्काे परिचय हो । अपार पर्यटकीय महŒव बोकेको कोटको थुम्को, जुम्ले अमराइ, पातिहाल्ना जस्ता क्षेत्रहरू सिम्ताका नयाँ पर्यटकीय गन्तव्य बनाउने सम्भावना छ । भेरी नदीमा छेडा खोलादेखि राकमसम्म जल पर्यटन (¥याफ्टिङ्ग) र बीच भलिबल (खेल पर्यटन), पानीखोला–पातिहाल्ना ट्रेकिङ्ग, सुन्तोलामा रहेको मष्टाखानी, खानीपाखाको गुफाकोट लगायतका क्षेत्रहरूलाई पर्यटकीय सर्किटमा गास्न सके यस क्षेत्रको विकासमा नयाँ अध्याय सुरुवात हुनसक्छ । बजेडिचौर, पानीखोला, आली लगायतका गाउँहरू ग्रामीण पर्यटन तथा होमस्टेका लागि उपयुक्त स्थान हुन् । कोटको थुम्को विकास हुन सम्भाव्य क्षेत्र हो ।
अझ सिम्ता क्षेत्रलाई कृषि तथा पशुपालनका क्षेत्रमा जोड्न सकिन्छ । कृषिको उर्वर भूमि सिम्तामा कृषि पर्यटनको विकास गरी अध्ययनका लागि उपयुक्त क्षेत्र बनाउन सकिन्छ । यसले यो गाउँपालिकालाई समृद्धिको बाटोमा डो¥याउने मुख्य साधन बन्नसक्छ । आयुर्वेदको दृष्टिले महŒवपूर्ण जंगल यस क्षेत्रको आर्थिक विकासका आधार बन्न सक्छन् । एक टोल एक युवा उद्यम कार्यक्रमलाई अभियानको रूपमा विकास गरी स्थानीय उत्पादनको बजारीकरण गर्न सके युवाको विदेश पलायन एकादेशको कथा बन्नसक्छ । जुगइ खोला र आलिखोलाकोे भौगोलिक बनावट लघु जलविद्युत उत्पादनका लागि सम्भाव्य क्षेत्र हुन् । सहरीकरणको विशिष्ट स्वरूप एकीकृत बस्ती विकासलाई पनि सँगसँगै लान सकिन्छ ।
सूचना प्रविधिको क्षेत्रमा भएको विकासलाई आर्थिक विकास तथा समृद्धिसँग जोड्नका लागि प्राविधिक विषयहरूको अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाउन जरुरी छ । दीर्घकालीन रूपमा गाउँपालिका स्तरमा उच्च प्राविधिक शिक्षालयको स्थापना तथा सञ्चालन गरिनुपर्दछ । यसले प्राविधिक सचेतना बढ्ने मात्र होइन, बेरोजगारीको समस्यालाई हल गर्न पनि सहयोग पुग्नेछ । अर्कोतर्फ प्राविधिक शिक्षाको अध्ययन केन्द्रका रूपमा विकास गरी शैक्षिक पर्यटनको अवधारणामा लैजान सकिन्छ । त्यस्तै पहाडमा देखिने भलिवल र कबड्डी जस्ता खेलप्रतिको लगावलाई हौसला दिनका लागि भलिवल कोर्टहरू निर्माण गर्न सकिन्छ भने भेरी नदी किनारमा बीच भलिबलको सुरुवात गर्न सकिन्छ । त्यसैले खेल पर्यटनको अवधारणामा अघि बढ्न सके गाउँपालिकाका लागि महŒवपूर्ण सम्भाव्य क्षेत्र हो ।
खेलकुदको विकासमार्फत् सामाजिक गौरव प्रबद्र्धन गर्न कम्तीमा एउटा कभर्ड हल तथा विभिन्न ठाउँमा खेल मैदान निर्माण गर्नुपर्दछ । यही क्षेत्रमा एउटा राष्ट्रियस्तरको भलिबल मैदान बनाउन सके खेलकुद पर्यटनको हबका रूपमा पनि यो क्षेत्रको थप विकास हुनसक्छ । स्थानीय जनताको आम्दानीलाई बचतमार्फत् लगानीतर्फ प्रवाहित गर्न बचत तथा ऋण सहकारी संस्थाहरूलाई प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकता प्रदान गरी सहकारी पर्यटनको अवधारणामा जानुपर्छ । पर्यटन विकासका लागि न्यूनतम आधारहरू जस्तै, ग्रामीण सडक विस्तार, खानेपानी तथा सरसफाइलाई जनसहभागितामा आधारित बनाइ त्यसको दिगोपनमा ध्यान दिनुपर्दछ । त्यसका लागि गाउँपालिकाले संघीय अनुदान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाको सहयोग तथा आफ्नै स्रोतसमेत परिचालन गर्नुपर्दछ ।
यी सम्भावना र अवसरलाई मूर्तरूप दिन नयाँ परिस्थितिमा नयाँ र जागरुक नेतृत्व सिम्ता गाउँपालिकाले पाएको छ । करिब २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित नेतृत्वको अहिलेको आवश्यकता नयाँ भिजन र मिसनको हो । सधैंको राजनीतिक खिचातानी र चरम उपभोक्तावादी चिन्तनका कारण देशले दुःख पायो । हाम्रा गाउँ पाखा रित्तिए । खेत र बारी सबै बाँझो भए । अहिले हाम्रा गाउँहरूमा लास उठाउने मान्छेको अभाव छ । हामी जातजातमा विभाजित भयौं । अधिकांश मान्छे स्वार्थको दुनियाँमा मख्ख परिरहेका छन् । यस्तो अवस्थामा अबको पुस्तामा नयाँ उत्साह र जोश सिञ्चन गर्न सकिएन
भने सिम्तालीहरू कहिल्यै उठ्न नसक्ने गरी टाट
पल्टिने खतरा छ ।
संघीयता सरकारलाई जनताको नजिक पु¥याउने एक नविन अवधारणा स्वरूप भएको स्थानीय तहको निर्वाचनले जनतामा जुन प्रकारको जोश र उमंग थपेको छ, त्यसलाई जनप्रतिनिधिहरूले कत्ति पनि कम हुन दिनुहुँदैन । राज्य सामाजिक सम्झौताको परिणाम हो भने सरकार जनतासमक्ष राज्यको अभिकर्ता हो । सरकारको एकमात्र ध्येय जनताको हित अधिकीकरण गर्ने हुनुपर्छ । राजधानीका दरबारमा बसेर गाउँको विकासको नक्सा कोर्नु बौद्धिक बुद्धिविलास मात्र हुन्छ, यथार्थ हुन सक्दैन । त्यसैले जनताले आफ्ना इच्छा र आकांक्षा पूर्तिका लागि आफ्नो क्षमता पहिचान गरिसकेका छन् । आफ्ना प्राथमिकता आफै निर्धारण गरेका छन् । तिनको कार्यान्वयनमा आफ्नो सहभागितामूलक नेतृत्व कायम गर्न सक्नुपर्छ । अनि ती सम्भावनाको लाभग्राही जनता नै बन्न पाउनुपर्छ । हाम्रो संघीयताको मर्म र मक्सद यही हो र यही मर्म र मक्सदमा जनप्रतिनिधिहरू अघि बढ्नुपर्छ ।
(लेखक जलवायु संरक्षण अभियान नेपालका महासचिव हुन् ।)