स्वचालित मौसम केन्द्र स्थापना

सुर्खेत, ३ असार ।
सुर्खेतमा स्वचालित मौसम केन्द्रहरू स्थापना भएका छन् । मौसमको अवस्थाबारे जानकारी दिन र विपद्बाट जोगिन सूचनाहरू संकलन गर्ने उद्देश्यले मौसम केन्द्रहरू स्थापना गरिएको हो । सुर्खेतको रातानाङ्गला र बड्डिचौरमा स्वचालित मौसमी उपकरणहरू जडान भएका छन् ।
मौसम केन्द्र जडान भएसँगै अब सो आसपासका स्थानको मौसमी अवस्थाको बारेमा तत्काल जानकारी हुनेछ । यसले पानीको मात्रा, तापक्रम, हावाको चाप र बाढीको अवस्थाबारे समेत सूचना दिनेछ । मौसम केन्द्रको सहायताले पानीको मात्रा तत्काल जानकारी हुने भएकाले खोलामा बाढीको पूर्वानुमान गर्न सहज हुने भएको छ ।
क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला र बराहताल गाउँपालिकाको बड्डिचौरमा केन्द्र जडान भएका छन् । यूएनडीपीको सहयोगमा उपकरण जडान भएका
हुन् । यूएनडीपीका कार्यक्रम अधिकृत दीपक केसीले मौसमका कारण हुनसक्ने विपद् तथा जोखिम न्यूनीकरण गर्नका लागि मौसम केन्द्र स्थापना गरिएको बताए । उनले भने, ‘अब मौसमको बारेमा तत्काल जानकारी हुनेछ, स्थापना भएका केन्द्रले स्वचालित रूपमा सूचना दिनेछन् । यसबाट सम्भावित जोखिम र विपद्बाट बच्न सकिनेछ ।’ उनका अनुसार एउटा केन्द्र स्थापना गर्दा कम्तीमा १६ लाख रूपैयाँ खर्च भएको छ ।
हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले भने, ‘तापक्रम, वायुको गति र पानीको मात्रा थाहा हुनेछ, स्वचालित भएकाले तत्काल वास्तविक जानकारी बेभसाइटमा देखिनेछ ।’ मौसमको पूर्वानुमान गर्नसक्ने उपकरण नहुँदा सुर्खेतमा बाढीका कारण २०७१ मा ठूलो क्षति भएको थियो । यस्ता उपकरणले पूर्वानुमान गर्न सकिने भएकाले सम्भावित जोखिमबाट बच्न सहज हुने उनको भनाइ छ । यसैबीच बाढी र डुवानको पूर्वानुमान गर्नसक्ने मौसमी राडार स्थापनाको काम पनि जारी
छ । पूर्वाधार निर्माणको काम चलिरहेको भन्दै हावापानी कार्यालयले अबको पाँच महिनापछि राडार नेपाल आउने जनाएको हो ।
राडार स्थापनाका लागि सरकारले रातानाङ्गलामा डेढ रोपनी वनको जग्गा उपलब्ध गराएको छ । जग्गा प्राप्त भएसँगै दुई वर्षदेखि रोकिएको राडार स्थापनाको प्रक्रिया पनि सुरु भएको हो । नेपालमै पहिलोपटक बाढी र डुवानको पूर्वानुमान गर्न रातानाङ्गलामा मौसमी राडार स्थापना गर्न लागिएको हो । यसका लागि करिब २४ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । राडार स्थापनाका लागि विश्व बैंकले आर्थिक सहयोग गर्नेछ ।
यो प्रविधिले मौसमको अवस्था, बाढी र डुवानको खतरामा रहेको स्थानको पूर्व जानकारी तथा कहिले र कुन स्थानमा कति वर्षा हुँदैछ ? भन्ने बारेमा पूर्वानुमान गर्दछ । राडार सञ्चालनमा आएपछि बाढी र डुवानको जोखिमबारे पहिले नै सर्वसाधारणलाई सार्वजनिक रूपमा नै सूचना दिन सकिन्छ । हावापानी कार्यालयका प्रमुख सापकोटाले भने, ‘राडार स्थापना हुने स्थलमा भौतिक निर्माणको काम जारी छ, रुख काट्ने काम सकेका छौं । अब बाटो निर्माणको काम सुरु हुँदैछ, अहिले विदेशमा उपकरण निर्माणको काम पनि भइरहेको छ ।’ फिनल्याण्डका परामर्शदाताले उपकरण निर्माणको काम गरिरहेको भन्दै उनले अबको पाँच महिनापछि मात्र उक्त राडार नेपाल आउने जानकारी दिए ।
समुद्री सतहदेखि दुई हजार दुई सय ४४ मिटरको उचाईमा रहेको र प्राविधिक हिसाबले समेत उपयुक्त भएकाले रातानाङ्गलामा राडार स्थापना गर्न लागिएको हो । यहाँ स्थापना हुने राडारले दुई सय किलोमिटर टाढासम्म हुने मौसम र त्यसले निम्त्याउने जोखिमको बारेमा पूर्वानुमान गर्नेछ । यहाँ स्थापना भएको राडारले मध्य तथा सुदूरपश्चिम र भारतका केही भागमासमेत काम गर्नेछ । यस्तै राडारले बाढी र डुवानको अतिरिक्त हवाई उडानका लागि समेत मौसमको विश्लेषण गर्नेछ । राडार स्थापना भएमा प्राकृतिक विपद्बाट हुने नोक्सान कम गर्न सकिनेछ ।

प्रकाशित मितिः   ४ असार २०७४, आईतवार ११:५३