फोहोर व्यवस्थापनमा बेवास्ता

सुर्खेत: वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको समस्या फेरि बल्झिएको छ । बर्सेनि रूपमा नागरिकहरूले फोहोर व्यवस्थापनको दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपर्ने भन्दै विभिन्न मागहरूसहितको विरोध गर्ने गरेका छन् । तर वीरेन्द्रनगर नगरपालिकाले कुनैपनि पहल नगरेको नागरिकहरूको गुनासो छ ।

फोहोरको उचित व्यवस्थापन नभएको भन्दै वीरेन्द्रनगर–१ का बासिन्दाले नगरपालिकालाई चेतावनी स्वरूप फोहोर बोक्ने गाडी नै ठप्प पारे । नगरले फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि उनीहरूले करिब एक हप्ता फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकेका हुन् । जहाँ त्यही फोहोर फाल्दा दुर्गन्ध गाउँसम्म आएको र फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको तथा आफ्ना वर्षाैंदेखि उठाउँदै आएका माग सम्बोधन नभएको स्थानीय रमा गिरीले बताइन् । सिर्जना टोल र गंगटेखोलालगायतका स्थानमा फोहोरको थुप्रो लाग्ने गरेको भन्दै उनले नगरपालिकाले फोहोर व्यवस्थापनमा बेवास्ता गरेको सुनाइन् ।

नगर क्षेत्रबाट उठाएको फोहोरलाई बस्ती नजिकैका सडक किनारा र खोला खाप्सामा फाल्ने गरिएको हो । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ को माथिल्लो क्षेत्र प्रभावित बनेको छ । फोहोर फाल्नुपर्ने स्थानमा नभइ जंगलभर थुपार्ने गरिएपछि स्थानीय आक्रोशित भएका छन् । ल्याण्डफिल्ड साइट निर्माण भइरहेको नजिकै फोहोर फाल्नुपर्ने भएपनि जथाभाबी फाल्दा वन क्षेत्र पनि दुर्गन्धित बनेको स्थानीय पवन थापाले बताए । घाँस–दाउरा गर्न र गाईवस्तु चराउनसमेत नमिल्ने गरी दुर्गन्ध फैलिएको उनको भनाइ छ । फोहोर कृष्ण सामुदायिक वन क्षेत्रमा फाल्ने गरिएको छ । कुहिने, नकुहिने फोहोर नछुट्टयाएरै जथाभाबी फाल्ने गरिएको हो । सामुदायिक वन क्षेत्रमा जताततै फोहार मात्र देखिने गरेको छ । फोहोरको उचित व्यवस्थापन नहुँदा बोट–बिरुवाहरू विनास हुनुका साथै जंगली जनावरसमेत विस्थापित भएको त्यहाँका स्थानीय बताउँछन् ।

वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि निर्माणाधिन ल्याण्डफिल्ड साइट पनि अझै पूरा भएको छैन । वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माण भइरहेको छ । ल्याण्डफिल्ड साइट निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । २०६७ सालदेखि निर्माणको प्रक्रिया अघि बढाइएको थियो । जग्गा प्राप्तिको प्रक्रिया र इआईए, डीपीआरलगायतका काममा ढिलाइ भएको छ । ल्याण्डफिल्ड साइटसम्म जाने पहुँच मार्गसमेत राम्रो नहुँदा गाडीहरू बाटोमै रोकेर फोहोर फाल्ने गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । त्यहाँसम्म पुग्नलाई भरपर्दो सडक समेत नहुँदा थप समस्या भएको स्थानीयको भनाइ छ ।

फोहोरको उचित व्यवस्थापन नभएको भन्दै वीरेन्द्रनगर–१ का बासिन्दाले बर्सेनि रूपमा विरोध जनाउने गरेका छन् । नगरले फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि यो वर्ष पनि फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकेका हुन् । सोही ठाउँकी खगिसरा गिरीले सडक छेउछाउमा फोहोरको थुप्रो लागेको र त्यसबाट फैलिएको दुर्गन्धले हिँड्नसमेत समस्या भइरहेको बताइन् । उनले भनिन्, ‘सडक छेउछाउमा फोहोर फाल्दै जान्छन्, नगरपालिकाले निगरानी गर्दैन, हामीलाई निकै सास्ती भएको छ ।’ उनले त्यसरी थुपारिएको फोहोर सडकभरी हुने गरेको बताइन् ।

फोहोर फाल्नुपर्ने स्थानमा नभइ जंगलभर थुपार्ने गरिएको भन्दै उनले जथाभाबी फाल्दा वन क्षेत्र पनि दुर्गन्धित बनेको जनाइन् । फोहोर संकलनमा भएको सम्झौता कार्यान्वयनमा नगरपालिका चुकेको फोहोर व्यवस्थापन संघर्ष समितिका संयोजक बलभद्र पुरीले बताए । उनी भन्छन्, ‘नगरपालिकाको लापरबाहीले वडा पूरै दुर्गन्धित भएको छ । जताततै फोहोरबाहेक अरु देख्न सकिन्न ।’ नगरपालिकाले निर्माण गरेको ल्याण्डफिल्ड साइट क्षेत्र पनि डम्पिङ्ग साइड मात्रै भएको पुरी बताउँछन् । ल्याण्डफिल्ड साइटसम्म जाने पहुँच मार्गसमेत राम्रो नहुँदा गाडीहरू बाटोमै रोकेर फोहोर फाल्ने गरेको पाइएको छ । त्यहाँसम्म पुग्नलाई भरपर्दो सडक छैन । नगरपालिकाले सडक छेउछाउमा जताततै फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गरी दीर्घकालीन समाधानतर्फ लाग्न स्थानीयले माग गरेका छन् ।

बाटोमा फोहोर देखिन थालेपछि नगरपालिकालाई पटक–पटक खबरदारी गरे पनि सुनुवाइ नभएको पुरीले जानकारी दिए । उनका अनुसार फोहोर व्यवस्थित रूपमा फाल्नुपर्ने, वडा नं. १ को फोहोर उठाएको शुल्क लिन नहुने र नगरपालिकाले सम्झौता गरेबमोजिम कार्यान्वयन गर्नुपर्ने माग स्थानीयका छन् । त्यस्तै, फोहोर व्यवस्थापन गर्ने स्थानसम्मको बाटो कालोपत्रे हुनुपर्ने, गंगटे खोलामा पुल बनाउनुपर्ने, फोहोर तोकिएको ठाउँमा नै बिसर्जन गर्नुपर्ने लगायतका माग राखिएको उनको भनाइ छ । वडा नं. १ का वडाअध्यक्ष दिनेश खत्रीले केही सहमति बमोजिम बुधवारदेखि फोहोर बोक्ने गाडी चल्न थालेको बताए । वीरेन्द्रनगरको रातो किताबमा योजना समावेश नगरिए पुनः आन्दोजनका कार्यक्रम तय गरिएको भन्दै उनले फोहोर व्यवस्थापनमा नगरपालिका जिम्मेवार बन्नुपर्ने बताए । प्रतिनिधि सभा सदस्य रमेश सापकोटाले स्थानीयले राखेका माग जायज भएको बताए । यो वर्षमा सम्पन्न हुनेगरी योजना कार्यान्वयनमा पहल गर्ने उनले जानकारी दिएका छन् । स्थानीयले फोहोर बोक्ने गाडी नै ठप्प पारेपछि छलफलका लागि उनीपनि पुगेका थिए । नागरिकले उनी समक्ष पनि विभिन्न माग प्रस्तुत गरेका थिए ।

यता वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवसथापनका लागि दीर्घकालीन रूपमा कार्यान्वयन गर्नेगरी योजना कार्यान्वयनमा जोड दिएको बताएको छ । फोहोरमैला व्यवस्थापनमा दिगो समाधान खोज्नेगरी योजना निर्माण गरिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।

प्रकाशित मितिः   १५ श्रावण २०८३, शुक्रबार ०९:५४