अलपत्र विमानस्थल

कर्णाली प्रदेशभित्र सञ्चालनमा रहेका भन्दा निर्माण भएर पनि सञ्चालनमा नआएका र निर्माणको चरणमा पुगेर अल्झिएका विमानस्थल धेरै छन् । जिल्लैपिच्छे विमानस्थल निर्माणको चर्चा पनि हुँदैछ । करोडाँैका पूर्वाधार निर्माण भएपनि कर्णालीका धेरैजसो विमानस्थल सञ्चालनमा छैनन् । निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ सालमा निर्माण गरिएको विमानस्थल २०७२ सालमा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन । विमानस्थलका लागि बनेका संरचना जीर्ण बनेका छन् । घरआँगनमै विमानस्थल बने पनि कष्टपूर्ण यात्रा गर्नु परिरहेको स्थानीयको दुःखेसो छ ।

जुफालकै जस्तो अवस्थामा छ कालीकोटको सुनथराली विमानस्थल । १४ फागुन २०८० मा कालीकोटको नरहरिनाथ गाउँपालिका–१, कोटबाडास्थित सुनथराली विमानस्थलमा ३८ वर्षपछि जहाज पुग्यो । दोस्रो पटक परीक्षण उडान भयो । तर अहिले विमानस्थल ठप्प छ । यो विमानस्थलको २०७३ साल माघमा पहिलो पटक जहाज परीक्षण गरिएको थियो । त्यो बेला कालोपत्रे भएको थिएन । २०७८÷०७९ मा कालोपत्रे भएसँगै ३८ वर्षपछि उद्घाटन भएको हो । यद्यपि, हवाई जहाज नियमित नहुँदा नागरिकहरूले निराश छन् । विमानस्थल नभएका जिल्लामा विमानस्थल निर्माणको चर्चा चल्दै आएको छ । दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै अघिदेखि हो । महाबु गाउँपालिका–२, मानन्चौरमा विमानस्थल निर्माणका लागि २०४८ सालमा नै पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो तर त्यति बेला गरिएको अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । महाबुसहित जिल्लाका तीन स्थानीय तहका विभिन्न स्थानमा विमानस्थल निर्माणका लागि पहल थालिए पनि काम अघि बढेको छैन । नारायण नगरपालिकाको धिताहा, महाबु गाउँपालिकाको मानन्चौर र दुल्लु नगरपालिकाको ठाडोलेखमा विमानस्थल निर्माण प्रारम्भिक अध्ययन र छलफल भएको थियो । यो विषय अहिले भने ओझेलमा परेको छ । सल्यानमा विमानस्थल निर्माणका लागि विभिन्न क्षेत्रमा पटक–पटक चर्चा र अध्ययन हुने गरेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सल्यानका चार ठाउँमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको थियो ।

कर्णाली प्रदेशको अर्को जिल्ला जाजरकोटमा पनि विमानस्थल निर्माणको योजना चर्चामै सीमित हुँदै आएको छ । भेरी नगरपालिका–१, वडालेखमा विमानस्थल निर्माण कुरा चलेको हो । अहिले उक्त विषय ओझेलमा परेको छ । विमानस्थल बनाउनुपर्ने चर्चा र छलफल भए पनि थप प्रव्रिmया भने अघि बढ्न सकेन । यसरी कर्णालीका कैयौं विमानस्थल निर्माण भएर पनि सञ्चालनमा छैनन् भने केही विमानस्थल निर्माणका लागि प्रयास पनि भइरहेका छन् ।

प्रकाशित मितिः   १५ श्रावण २०८३, शुक्रबार ०९:५२