सुर्खेत: आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन मातहतका निकायलाई ७० बुँदे मार्गदर्शन जारी गरेको हो ।
मार्गदर्शनमा मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रमहरूलाई नै स्वीकृत मानेर खर्च गर्ने अख्तियारी प्रदान गरिएको छ । ससर्त अनुदानका योजनाहरूको बाँडफाँट मंसिर मसान्तभित्रै गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसले कार्यसम्पादनमा शीघ्रता आउने अपेक्षा गरिएको छ । यदि पीएलएमबीआईएसमा प्रविष्ट गर्दा त्रैमासिक विभाजनमा त्रुटि भएमा चैत मसान्तभित्रै सच्याउनका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्न भनिएको छ । नयाँ संगठन स्थापना वा कार्यालय गाभिएमा बजेट उपशीर्षक र खर्च शीर्षक संशोधन गर्नुपरे समयमै मन्त्रालयमा अनुरोध गर्न भनिएको छ । ‘चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा एउटै नाम वा उद्देश्यका योजना दोहोरिएमा एउटामात्र छनोट गरी अरू रोक्का राख्नुहोला,’ मार्गदर्शनमा भनिएको छ, ‘बजेट समर्पणका लागि अर्थ मन्त्रालयमा पठाउनुहोला ।’
यसअघि कार्य विभाजन नियमावली विपरीत मन्त्रीले योजना हालेको भन्दै ठूलो विवाद भएको थियो । मार्गदर्शनमा त्यस्ता आयोजना सो मन्त्रालयबाट कार्यान्वयन नगर्न भनिएको छ । बुँदा नम्बर १० मा भनिएको छ, ‘त्यहाँ मन्त्रालय वा निकायमा विनियोजन भएको कुनै आयोजना वा कार्यक्रमको प्रकृति वा कार्यक्षेत्र अर्को मन्त्रालय वा निकाय अन्तर्गत पर्ने भएमा कार्यक्षेत्र विपरीत प्रस्तावित त्यस्ता आयोजना वा कार्यक्रमहरू त्यहाँ मन्त्रालयबाट कार्यान्वयन गर्नु हुने छैन ।’ बजेट पास गर्ने क्रममा यो विषयले निकै चर्चा मात्र पाएको थिएन पछि कार्यान्वयन नगर्ने भनेर प्रतिपक्ष र सत्तापक्षबिच सहमतिसमेत भएको छ ।
साथै, वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट कार्यान्वयनका लागि फागुन मसान्तसम्म खरिद प्रक्रिया सुरुवात नभएमा वा बाँकी अवधिमा पनि खर्च हुन नसक्ने भएमा त्यस्तो रकम यकिन गरी चैत १५ गतेभित्र यस मन्त्रालयमा पठाउन निर्देशन गरिएको छ । बजेट अख्तियारी सम्बन्धित १२ बुँदामा मागदर्शन जारी गरिएको छ ।
प्रकाशित मितिः १५ श्रावण २०८३, शुक्रबार ०९:५५
साझा बिसौनी ।