विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन हुने
सुर्खेत, ४ असार ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा अध्ययन हुने विभिन्न संकायको पाठ्यक्रम परिमार्जन गरिने भएको छ । सेमेस्टार प्रणालीलाई लागू गरेको विश्वविद्यालयले एक चक्र निर्माण पूरा भएको पाठ्यक्रमलाई समय सापेक्ष बनाउन परिमार्जन गर्ने भएको हो ।
विश्वविद्यालयले पाठ्यक्रमलाई थप परिमार्जन गर्न विभिन्न विषयका विषय विज्ञहरूसँग छलफल थालेको बताइएको छ । जसअन्तरगत मानविकी तथा सामाजशास्त्र संकाय अन्तरगत आम–सञ्चार तथा पत्रकारिता विषयको पाठ्यक्रम परिमार्जन सम्बन्धी आइतवार विषय विज्ञ भानुभक्त आचार्यसँग अन्तरक्रिया गरिएको छ ।
चारवर्षका लागि निर्माण हुने उक्त पाठ्यक्रमलाई आवश्यक संशोधन गर्दै समासामयिक विषय वस्तुलाई थप गरिने बताइएको छ । अन्तरक्रियामा आम–सञ्चार तथा पत्रकारिता विभाग प्राध्यापक एवम् शिक्षण समितिका अध्यक्ष युवराज शर्माले विश्वविद्यालयले पाठ्यक्रम निर्माण गर्दा सामान्य छलफलका आधारमा निर्माण गरिएकाले विभिन्न त्रुटीहरू भएको बताए ।
उनले पाठ्यक्रममा प्रयोगात्मक र शैद्धान्तिक विषय वस्तुका बारेमा छुट्टाउन गाह्यो भएको बताए । यस्तै उप–प्राध्यापक भानुभक्त अधिकारीले पत्रकारिताको इतिहास विषय विद्यार्थीहरूले थेक्न नसक्ने गरी कोर्ष निर्माण गरिएको बताए ।
उनले परिमार्जन हुने पाठ्यक्रममा उक्त विषयलाई दोहोरिएको विषयवस्तु हटाउन सुझाव दिए । मानविकी तथा समाजशास्त्र संकायका डीन खोपीराम लम्सालले यसअघि निर्माण गरिएको पाठ्यक्रम हतारमा तयार पारिएकाले परिमार्जन आवश्यक रहेको बताए ।
साझा बिसौनी संवाददाता ।