महिलाको स्वास्थ्यमा गम्भीर असर
सुर्खेत, ४ असार ।
संविधानमा नै छोरा र छोरीबीच विभेद गर्न नहुने उल्लेख छ । सामाजिक चेतनास्तर वृद्धि हुँदासमेत शिक्षित परिवार नै छोरा मोहबाट मुक्त हुनसकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका महिलाहरू गर्भपतन गर्न बाध्य छन् । पटक–पटक गर्भपतन गराउँदा महिलाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा असर देखिएको हो ।
वीरेन्द्रनगर निवासी डिला (नाम परिवर्तन) आठौं पटकसम्म गर्भवती भइन् । धेरैपटक गर्भवती हुने उनको रहर होइन । परिवारले छोरा नै जन्माउने दबाब दिएपछि उनले आठौं पटकसम्म गर्भपतन गराइन् । गर्भमा छोरी नै रहेको र परिवारले छोराको अपेक्षा गरेपछि उनी गर्भपतन गर्न बाध्य भएकी हुन् । परिवारले दबाब दिए पनि उनको गर्भबाट छोरा जन्मन सम्भव भएन ।
छोरो छोरी दुवै बराबर हुन् भन्ने डिलालाई राम्रो ज्ञान छ । चार छोरीलाई जन्म दिइसकेकी डिलाले गर्भपतन गराउन औषधि, बाख्राको पिसाब, कुपिण्डोको तरकारी र गहत खाएको बताइन् । ‘धेरैपटक गर्भपतन गराउँदा शारीरिक र मानसिक तनाव सहनुप¥यो’ उनले भनिन्, ‘तर मैले छोरा जन्माउन सकिन, अहिले त अब आफै शारीरिक रूपमा कमजोर छु ।’ गर्भको लिङ्ग पहिचान गरेर गर्भपतन गर्नु अपराध
हो । तर छोराको मोहमा उनले आठ पटकसम्म गर्भपतन गरिन् । गर्भपतन गराउनको लागि नेपालगन्ज र भारतसम्म गएको उनको भनाइ छ । धेरै पटक गर्भपतन गर्दा डिलाको पाठेघर खसेका कारण रिङ राखिएको छ । पाठेघरको समस्याले तल्लो पेट दुख्ने र शरीर नै कम्मजोर भएपछि उनी तनावमा छन् ।
भेरीगंगा नगरपालिका निवासी माया (नाम परिवर्तन) ले छोराको आशमा पाँच छोरीलाई जन्म दिइन् । छैठौं पटक गर्भवती भएकी मायाले गर्भमा छोरा छ की छोरी भनेर नेपालगन्जमा जाँच गरिन् । गर्भमा छोरी नै देखियो । उनले भनिन्, ‘गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गरेर आए ।’ छोरा नभएपछि घरपरिवार र समाजले हेला गर्ने गरेको भन्दै उनले दुखेसो पोखिन् । उनको परिवार शिक्षित नै छ । तर छोराको मोहमा उनले धेरैपटक गर्भपतन गराइन् । उनले भनिन्, ‘छोरा र छोरी समान हुन्, मलाई थाहा छ । तर घरपरिवारको कुरा नमाने हेला गर्छन्, छोराकै आशमा तीन पटक गर्भपतन गराएँ ।’
सुर्खेतकै रूपकला (नाम परिवर्तन) ले पनि छोराको चाहना पूरा गर्न तीन पटक लिङ्ग पहिचान गरेर गर्भपतन गराइन् । ‘मैले तीन पटकसम्म गर्भपतन गराएँ, छोरा नजन्मेपछि सबैले हेला गर्छन् ।’ तीन पटकसम्म गर्भपतन गरेकी रूपकला अहिले मानसिक र शारीरिक रूपमा अशक्त छिन् । गर्भपतन गरेको कारण उनको पेट दुख्ने समस्या छ । उनले भनिन्, ‘छोरा जन्माउनको लागि श्रीमान्ले अर्को विवाह गर्छन् की ? भन्ने डरले गर्भपतन गरेको हुँ, अहिले आफ्नै स्वास्थ्यमा असर प¥यो ।’ पछिल्लो समय गर्भमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्नेक्रम बढ्दो छ । गर्भपतनका कारण जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्यमा असर पुगेको छ । यस्तै उनीहरू शारीरिक तथा मानसिक रूपमासमेत पीडित बनेका छन् ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर डम्बर खड्का लिङ्ग पहिचानपछि गरिने गर्भपतन बड्दो रहेको बताउँछन् । उनले औषधि सेवन गरेर गर्भपतन गर्दा महिलामा अझ समस्या हुने गरेको बताए । बारम्बार गर्भपतन गर्दा महिलाको पाठेघरमा गम्भीर असर पुग्ने उनको भनाइ छ । यस्तै सुर्खेतका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले गर्भको लिङ्ग पहिचान गरेर छोरी भएकै कारणले गर्भपतन गर्नु महिलाको जन्मने मानवअधिकार नै हनन् भएको बताइन् । उनले गरीब तथा विपन्न परिवार भन्दा हुने खाने र शिक्षित परिवारले नै गर्भपतन गर्ने गरेको बताइन् ।
‘विपन्न भन्दा हुनेखाने र अलि सम्पति भएकाहरूले नै छोराको चाहाना राख्दछन्’ उनले भनिन्, ‘महिला घरपरिवार र समाजबाट त सुरक्षित हुन सकेको छैनन्, आमाको कोखमा समेत असुरक्षित छन् ।’ सिविन नेपालका जिल्ला बाल संरक्षण अधिकृत संगीता वलीले छोरीको चाहाना भन्दा छोराको चाहाना बढी हुँदा यो समस्या आएको बताउँछिन् । उनले कानुनको कार्यान्वयन नहुँदा समस्या बढेको बताइन् । साथै समाजमा छोरीको महŒव बुझाउन सकेमा यो समस्या न्यूनीकरण हुने उनको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।