रोपाइँमा ढिलाइ
अहिले वर्षातको समय छ । यो धान रोपाइँको समय हो । तर आधा वर्षात् बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाइँ हुन सकेको छैन । आकाशे पानीको भर पर्नुपर्ने भएकाले र ढिलो गरी वर्षात् सुरु भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन् । पर्याप्त वर्षा नहुँदा र सिँचाइ सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाइँ अपेक्षाभन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको ७७.०५ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा धान खेतिका लागि कुल क्षेत्रफल ४३ हजार दुई सय ९० हेक्टरमध्ये ३३ हजार तीन सय ५३ हेक्टरमा मात्र धान रोपाइँ भएको छ ।
कर्णालीमा अझै २३.०५ प्रतिशत खेत अझै बाँझै छ । गत वर्ष यही अवधिसम्म ८३.२३ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका अनुसार प्रदेशमा यो वर्ष ४३ हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा हालसम्म ३३ हजार तीन सय ५३ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ । समयमै मनसुन सक्रिय नहुँदा आकाशे पानीमा निर्भर किसानले रोपाइँ सार्न बाध्य भएका छन् । सिँचाइ सुविधा उपलब्ध भएका तथा पर्याप्त वर्षा भएका हिमाली क्षेत्रमा भने रोपाइँ उल्लेख्य रूपमा अघि बढेको छ । कर्णालीका हिमाली जिल्लाहरूमा रोपाइँ अन्तिम चरणमा पुगेको छ, जहाँ कुलो र सिँचाइ प्रणाली प्रभावकारी छन्, त्यहाँ रोपाइँ लगभग सम्पन्न भइसकेको छ । वर्षामा निर्भर क्षेत्रमा पानीको अभावले कर्णालीका अधिकांश स्थानमा रोपाइँ ढिलो भएको हो ।
अघिल्लो वर्ष यो समयमा कर्णालीका धेरै स्थानमा रोपाइँ सकिएको थियो । जिल्लागत तथ्यांकले पनि सिँचाइको उपलब्धताले रोपाइँको गतिमा प्रत्यक्ष प्रभाव पारेको देखाएको छ । कर्णालीका दशवटा जिल्लामध्ये जुम्लामा मात्र रोपाइँ सकिएको छ अर्थात् शतप्रतिशत रोपाइँ भएको छ । जुम्लामा सतप्रतिशत प्रतिशत, डोल्पामा ९८ प्रतिशत, हुम्ला र मुगुमा ९५÷९५ प्रतिशत, रुकुमपश्चिम र सल्यानमा ९२÷९२ प्रतिशत, जाजरकोटमा ९० प्रतिशत, कालिकोटमा ८५ प्रतिशत र दैलेखमा ७९ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम सुर्खेतमा ५५ प्रतिशत मात्र रोपाइँ भएको छ । धान रोपाइँ ढिलो हुँदा बिरुवा परिपक्व हुन लाग्ने समय छोटिने, बोटको वृद्धि कमजोर हुने तथा अन्ततः उत्पादन घट्ने जोखिम रहन्छ । ढिलो रोपाइँले बालीमा रोग–कीराको जोखिम बढ्नुका साथै कटानी पनि ढिलो हुने भएकाले समग्र कृषि चक्र प्रभावित हुने अवस्था बनेको छ ।
प्रकाशित मितिः ७ श्रावण २०८३, बिहीबार १३:५१
सम्पादकीय ।