सडक स्तरोन्नति
कर्णाली प्रदेशमा सडक दुर्घटना भइरहन्छन् । बर्सेनि ठूलो संख्यामा साना तथा ठूला दुर्घटना भएको तथ्यांकले देखाउँछ । पछिल्ला केही वर्षको तथ्यांक मात्रै हेर्ने हो भने पनि कर्णालीमा सडक दुर्घटनाको अवस्था भयावह देखिन्छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा एक हजार चार सय ४५ सडक दुर्घटना भएका थिए, जसमा एक सय १२ जनाले ज्यान गुमाएका छन् । दुई हजार ७७ जना घाइते भएका छन् । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा एक हजार दुई सय ४० सडक दुर्घटना हुँदा एक सय ३९ जनाको मृत्यु भएको थियो । दुई हजार आठ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा पनि प्रदेशभर एक हजार पाँच सयभन्दा बढी सडक दुर्घटना भएका छन् । जसमा एक सय ३२ जनाले ज्यान गुमाउँदा दुई हजार दुई सय ८१ जना सामान्यदेखि गम्भीर घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ । पछिल्ला तीन वर्षको तथ्यांक नै भयावह छ । सडक दुर्घटनाका अनेक कारणमध्ये यहाँका सडकको अवस्था पनि एक हो । पुराना र जिर्ण सडक छ । जसको सुधार हुन सकेको छैन । सुधारका लागि तीन तहका सरकारले मिलेर काम गर्नुपर्ने देखिन्छ । अहिले संघीय सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कर्णालीको सडक निरिक्षरणका लागि निस्किएका छन् । उनी कर्णाली आउनुभन्दा दुई साताअघि मात्रै कर्णाली राजमार्गमा अकल्पनीय दुर्घटना भएको थियो । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–७ स्थित सडकबाट कर्णाली नदीमा खस्यो । यात्रुसहित नदीमा खसेको गाडी अहिलेसम्म फेला परेको छैन । त्यसमा सवार चारजनाको शव फेला परेको छ । एकजनाको अवस्था अझै अज्ञात छ । त्यसको ठीक दुई सातापछि पूर्वाधार विकासमन्त्री लम्साल कर्णालीका सडक अनुगमनमा निस्किएका छन् । शुक्रवार सुर्खेतबाट कर्णाली प्रवेश गरेका उनी जुम्ला हुँदै मुगु पुगिसकेका छन् ।
मन्त्री लम्सालले जुम्लामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका भौतिक संरचनाको समेत प्रत्यक्ष अनुगमन गरेका छन् । उनको यो भ्रमणले कर्णालीका पूर्वाधार विकास र विशेष गरी सडक सुरक्षामा देखिएका चुनौतीहरू पहिचान गरेर आगामी वर्षमा थप प्रभावकारी योजना बनाउन सघाउ पु¥याउने अपेक्षा गर्न सकिन्छ । मन्त्री लम्सालको कर्णाली भ्रमणको मुख्य उद्देश्य यहाँका सडक पूर्वाधारको स्थलगत निरिक्षण गर्नु हो । ‘मृत्युमार्ग’को पहिचान बनाएको कर्णाली राजमार्गको सुधार र स्तरोन्नतिका लागि उनी आफै अनुगमनमा आएका हुन् । कर्णाली राजमार्गमा बर्सेनि हुने सडक दुर्घटनाले सम्भवतः मन्त्री लम्साललाई पनि झस्काएको हुनुपर्दछ ।
प्रकाशित मितिः ५ श्रावण २०८३, मंगलवार १६:१३
सम्पादकीय ।