तोडफोडमा उत्रिए विद्यार्थी संगठन

सुर्खेत, २ असार ।
आन्दोलनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयको गाडीमा तोडफोड गरेका छन् । विस्तारित कार्यालयमा रोकिराखेको रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले चढ्दै आएको गाडीमा शुक्रवार दिउँसो तोडफोड गरिएको हो । ढुङ्गा प्रहारबाट उक्त गाडीमा क्षति पुगेको छ ।
रजिस्ट्रार चढ्ने बा १७ च ४२५५ नम्बरको गाडी तोडफोड भएको विश्वविद्यालय प्रशासनले जनाएको छ । गत जेठ २७ गतेदेखि विभिन्न माग राख्दै विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन् । वार्तामा बोलाएर आफूहरूको अपमान गरिएपछि आक्रोशित विद्यार्थीले तोडफोड गरेको विद्यार्थी संगठनको दाबी छ ।

विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले रोकिराखेको गाडीमा तोडफोड भएको बताए । उनका अनुसार गाडीको
सिसा, ढोका र अन्य भागमा क्षति पुगेको छ । विद्यार्थी संगठनहरूले भने भण्डाफोर कार्यक्रम अन्तर्गत गाडीमा तोडफोड गरिएको बताएका छन् । विश्वविद्यालयले आफूखुशी आंगिक क्याम्पस स्थापना र निजी संस्थालाई सम्बन्धन दिन लागेको भन्दै त्यसको विरोधमा विद्यार्थी संगठनहरू आन्दोलनमा छन् । यही क्रममा विश्वविद्यालयले शुक्रवार संगठनहरूलाई वार्तामा बोलाएको थियो । आन्दोलनरत अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश जिसीले वार्तामा बोलाएर अपमान गरिएकाले तोडफोड भएको स्वीकार गरे । मागको सम्बोधन गर्नुको साटो पदाधिकारीहरूले पेलेरै जाने रणनीति बनाएकाले सहमति हुन नसकेको उनको भनाइ छ ।
यता विश्वविद्यालयले भने शैक्षिक माग पूरा गर्न तयार भए पनि राजनीतिक पूर्वाग्रह राखेर आन्दोलन गरिएका कारण समस्या पैदा भएको जनाएको छ । साथै आन्दोलनको नाममा अराजक र अपराधिक क्रियाकलाप हुन थालेको भन्दै विश्वविद्यालयले चिन्ता व्यक्त गरेको छ । तोडफोड, तालाबन्दी र
हड्ताल छोडेर शैक्षिक मुद्दाका लागि वार्तामा आउनसमेत विश्वविद्यालयले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । स्थापनाकालदेखि नै विवादमा फस्दै आएको यो विश्वविद्यालयमा पछिल्लो समय केही विद्यार्थी संगठनहरूले आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनकै क्रममा संगठनहरूले विश्वविद्यालयमा लगाएको ताला केही दिनअघि विद्यार्थीले फोडिदिएका छन् । यसैबीच तोडफोडको घटनालाई विश्वविद्यालय र विभिन्न प्राध्यापक संगठनहरूले दुःखद् भनेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ, प्राध्यापक मञ्च नेपाल, नेवि संघ र मप विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ती निकालेर घटनाको विरोध गर्दै वार्ता र सहमतिबाट अगाडि बढ्न आग्रह गरेका हुन् । आन्दोलनको नाममा तोडफोड सुरु भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमासमेत विद्यार्थी संगठनहरूको उक्त कार्यको विरोध गरेका छन् ।

शाहीलाई निष्काशन गर्ने निर्णय
तोडफोडको घटनापछि सम्पन्न विश्वविद्यालयका पदाधिकारीको बैठकले नेविसंघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई विश्वविद्यालयबाट निष्काशन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयका विद्यार्थीसमेत रहेका शाहीले रजिस्ट्रारको गाडीमा तोडफोड गर्ने कामको नेतृत्व गरेको भन्दै निष्काशन गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।
गाडीमा रजिस्ट्रार नभएको बेलामा तोडफोड गरिएको भन्दै बैठकले रजिस्ट्रारको ज्यान लिनेसम्मको प्रकृतिको घटना भन्दै भत्र्सना गरेको छ । यस्तै विद्यार्थी नेता शाही अपराधिक कार्यमा संलग्न
रहेकाले उनलाई विश्वविद्यालयबाट निष्काशन गर्ने निर्णय गरिएको र कानुनी कारबाहीका लागि सम्बन्धित पक्षलाई आग्रह गरिएको विश्वविद्यालयले जनाएको छ ।
यता विद्यार्थी नेता शाहीले भने जस्तोसुकै कारबाही गरिए पनि जायज माग उठाउन नछोड्ने बताए । ऐन र नियम विपरित काम गर्ने पदाधिकारीलाई पनि कारबाही हुनुपर्ने उनको भनाइ छ । शान्तिपूर्ण तरिकाले माग राख्दा सुनुवाइ नभएपछि बाध्य भएर चेतावनी स्वरूप तोडफोड गरिएको भन्दै उनले यही अवस्था रहे थप क्षति व्यहोर्नुपर्ने चेतावनी दिए । साथै उनले आफूहरू वार्ताबाटै समस्या समाधान गर्न तयार रहेको जनाए ।

प्रकाशित मितिः   ३ असार २०७४, शनिबार ११:३४